
काठमाडौं। विराटनगरस्थित एक शोरुमबाट नै कार चोरी भएको छ। गएराति सवा २ बजेतिर विराटनगर-३ बरगाछीमा रहेको शोरुमबाट कार चोरी भएको हो।
शोरुम संचालकले प्रहरीलाई कार चोरी भएको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक हेमराज ओलीको कमान्डमा पुगेको टोलीले अनुसन्धान थालेको छ।
‘शोरुममा सटर नभएर सिसाको मात्र ढोका राखिएको रहेछ। त्यसलाई नै फोडेर कार लगेको देखिन्छ,’ प्रहरी निरीक्षक ओलीले भने।
घटनास्थलमा सिसा फोड्न प्रयोग भएको ढुंगा समेत भेटिएको छ। संचालकले शोरुमभित्र नै गाडीको चाबी राख्ने गरेकाले चोरले गाडी चलाएर लगेको देखिएको छ।