भन्सार र राजस्वमा नयाँ डीजी, भट्टराई र दाहाललाई नेतृत्व, अर्थमा फेरियो १४ सहसचिवको जिम्मेवारी

बिजमाण्डू
२०८१ माघ ३० गते २१:५४ | Feb 12, 2025
भन्सार र राजस्वमा नयाँ डीजी, भट्टराई र दाहाललाई नेतृत्व, अर्थमा फेरियो १४ सहसचिवको जिम्मेवारी

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आन्‍तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक फेरेका छन्। उनले १४ सहसचिवको एकैपटक जिम्मेवारी हेरफेर गर्ने क्रममा दुई विभागमा नयाँ महानिर्देशक ल्याएका हुन्।

Tata
GBIME
NLIC

सहसचिव महेश भट्टराईलाई मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाबाट भन्सार विभागको महानिर्देशकको जिम्‍मेवारी दिइएको छ। आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहालको सरुवा भएको छ। दाहाल हाल प्रशासन महाशाखा प्रमुख थिए।

थानप्रसाद पंज्ञानीको वित्तीय संघीयता समन्वय महाशाखाबाट प्रशासन महाशाखामा सरुवा भएको छ।

यस्तै शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ। सहसचिव महेश आचार्यको आर्थिक नीति विश्लेषण महाशाखाबाट सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा भएको छ।

यस्तै, तीर्थराज चिलुवाललाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको जिम्मेवारी सेवन्‍तक पोखरेललाई तोकिएको छ। सहसचिव पार्वती अर्याललाई प्रमुख भन्सार परीक्षण प्रशासकको जिम्मेवारी दिइएको छ।

त्रिभुवन विमानस्थल भन्‍सार कार्यालय प्रमुख रहेका महेश बरालको अर्थ मन्त्रालयमा सरुवा भएको छ। भन्सार विभागका उपमहानिर्देशक यमुना प्रधानलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरिएको छ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक गोपीकृष्ण कोइरालालाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा सरुवा गरिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ।

यस्तै महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा सरुवा गरिएको छ। सूचना प्रविधि विज्ञ श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको छ।