प्रमुख फेरिएसँगै काठमाडौं प्रहरी परिसरको नयाँ योजना! गर्न लागेको ‘सर्प्राइज चेकिङ’ के हो?

बिजमाण्डू
२०८१ माघ २९ गते १६:४९ | Feb 11, 2025
प्रमुख फेरिएसँगै काठमाडौं प्रहरी परिसरको नयाँ योजना! गर्न लागेको ‘सर्प्राइज चेकिङ’ के हो?

काठमाडौं। काठमाडौं जिल्ला प्रहरी परिसरमा प्रमुख फेरिएसँगै केही न केही नयाँ योजना सार्वजनिक गर्छन्। कतिका योजना पुरानै र मिडिया सामाग्री मात्र बन्न पुग्छन् भने केही व्यवहारिक पनि कहलिएका छन्।

Tata
GBIME
NLIC

केही साता अघिमात्र काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका विश्व अधिकारीले पनि विभिन्न योजनाहरू ल्याएका छन्। जसमध्ये उनको सर्प्राइज चेकिङ भने धेरैको लागि चासोको विषय बनेको छ। अबको एक साताभित्र प्रहरीले काठमाडौंमा सप्राइज चेकिङ गर्न थाल्ने एसएसपी अधिकारीले बताए। एकै समयमा प्रहरीले काठमाडौंका अधिकांश क्षेत्रमा चेकिङ गरिने प्रहरीले बताएको छ।

‘यो सधैं हुने चेकिङ होइन। र यसले कसैको समय खर्चिने गरेर अव्यवहारिक रुपमा चेकिङ पनि गरिने छैन,’ एसएसपी अधिकारीले भने।

प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा दिन र रातको समयमा चेकिङ गर्नेछ। नियमित भन्दा फरक चेकिङ भएकाले पनि यसलाई सर्प्राइज चेकिङ भनिएको छ। एकै दिन काठमाडौंका विभिन्न ठाउँमा चेकिङ पोस्ट राखेर चेकिङ गरिनेछ।

त्यसो भए थापिएका सबै चेकिङमा मानिस पर्दा उनीहरूको दिउँसोको समय बर्बाद हुने त होइन? एसएसपी अधिकारीले एक ठाउँमा चेकिङ परेका व्यक्तिलाई अर्को स्थानमा प्रहरीले जाँच नगर्ने बताए।

‘माइतीघरमा चेकिङमा परेको व्यक्ति बानेश्वरमा पर्ने छैन। त्यसको लागि हामी स्टिकर जस्तै व्यवस्था गर्दै छौं,’ एसएसपी अधिकारीले भने।

प्रहरीले सवारी र मापसे चेकिङभन्दा पनि आपराधिक गतिविधि नियन्त्रणको लागि चेकिङ गर्न लागेको बताएको छ। विशेषतः काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरूमा विशेष प्राथमिकता दिइने छ। हाल काठमाडौंमा ४ हजारभन्दा बढी प्रहरी कार्यरत छन्।