२५ आनामा बनेको घरलाई मासिक २ लाख ७० हजार भाडा, ३ अर्बको अवैध कारोबार

बिजमाण्डू
२०८१ माघ २९ गते १५:२५ | Feb 11, 2025
२५ आनामा बनेको घरलाई मासिक २ लाख ७० हजार भाडा, ३ अर्बको अवैध कारोबार

काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ मा साढे दुई तलाको चिटिक्क परेको घर छ। २५ आना जग्गाभित्र कम्पाउन्ड भएकाले पनि खुल्ला खुल्ला नै छ। घरधनी दावाङ दोर्जे शेर्पाले एक महिनाको सम्झौता गरेर एक व्यक्तिलाई घर भाडामा दिएका थिए।

Tata
GBIME
NLIC

एक महिनाको सम्झौताअनुसार भाडा २ लाख ७० हजार रुपैयाँ बुझाउने भनिएको छ। सम्झौता एक महिनाका लागि मात्र भएको छ। तर, त्यस घरमा एक महिनादेखि २३ जना मानिस बस्दै आएका छन्। उनीहरू एउटै कोठामा धेरै मानिस बस्छन्। खाट, भुइँमा नै उनीहरूको धन्दा चल्छ। त्यो पनि रात भरीसम्म।

गत आइतबार माघ २७ गते प्रहरीले घरमा छापा मारेपछि घरभित्रको अवैध धन्दा पर्दाफास भएको थियो। प्रहरीले घर घेरा हालेर हिन्दी भाषामा आफूहरु प्रहरी भएको भन्दै प्रवेश गरेर छापा मारेको थियो।

प्रहरीले भारतीय नागरिक २३ जनालाई पक्राउ गरेको छ। उनीहरूले अनलाइन जुवा, क्रिप्टोकारोबार र ठगी गर्ने गरेको खुलेको छ।

‘अनलाइन जुवादेखि क्रिप्टोसम्म जोडिएकाले हामीले अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने।

प्रहरीले उनीहरूको साथमा भएको ८८ वटा मोबाइल, १० वटा ल्यापटप, ७ वटा डायरी लगायतका सामाग्रीहरू बरामद गरेको छ। त्यस्तै ८१ हजार रुपैयाँ समेत बरामद भएको छ। उनीहरूले विभिन्न एपमार्फत अनलाइन जुवा खेलाएर ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

प्रहरीले छापा मार्दा बरामद गरेको डायरीमा कारोबार भएको रकम उल्लेख गरिएको छ। त्यसैको आधारमा प्रहरीले कारोबार भएको प्रारम्भिक तथ्यांक निकालेको हो।

त्यसो त सुन तस्करीका घटनादेखि अन्य आर्थिक अपराधका घटनामा प्रहरीले यसरी लेखिएका डायरीलाई एउटा प्रमाणको आधार मान्ने गरेको छ।

उनीहरूले एक महिनादेखि अनलाइन जुवा खेलाएको देखिएको हो। यसमध्ये ८६ करोड ९१ लाख रुपैयाँको स्क्रिप्ट कारोबार भएको देखिएको छ। प्रहरीले पक्राउ परेका मानिस अपरेटर मात्र हुन्। मुख्य नाइके भने फरार छन्।

‘घरबेटीसँग एग्रिमेन्ट गर्ने मानिस पहिचान भइसकेको छ। हामी खोजी गरिरहेका छौं,’ एक अनुसन्धान अधिकृतले भने।

उनीहरू दिन र रातभर नै अनलाइन जुवा खेलाउने गरेका थिए। यसरी आएको रकम विभिन्न माध्यमबाट भारतीय बैंक खातामा नै पुग्ने गरेको देखिएको हो। प्रहरीले घटनास्थलबाट ९ वटा भारतीय एटिएम कार्ड समेत बरामद गरेको छ।