
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि तत्काल लागू हुने गरि कर र प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अमेरिकामा गैरकानुनी रुपमा बसेका व्यक्तिहरु सवार दुई विमानलाई अवतरणको अनुमति नदिएपछि ट्रम्प कोलम्बियाप्रति क्रुद्ध देखिएका हुन्।
ट्रम्पले कोलम्बियामाथि २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने बताएका छन्। उनले कोलम्बियाबाट अमेरिका आउने सबै सामानमा कर लाग्ने बताएका हुन्। उनले यो निर्णय तत्काल लागू हुने भन्दै एक हप्तामै कर ५० प्रतिशत पुर्याउने समेत बताएका छन्।
यता ट्रम्पको निर्णय पछि कोलम्बियाले जवाफमा अमेरिकामाथि कर लगाउने घोषणा गरेको छ। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी वस्तुमाथि पनि २५ प्रतिशत कर लगाउने बताएका हुन्।
पेट्रोले यसअघि अमेरिकी सैन्य डिपोर्टेसन विमान अवतरणको स्वीकृति नदिएको बताएका थिए। उनले आफ्ना नागरिकहरुलाई अपराधीको रुपमा नभइ सार्वजनिक विमानमा पठाए अवतरणको अनुमति दिने बताएका हुन्। उनले आप्रवासीहरुलाई सम्मानका साथ फिर्ता गरिनुपर्ने बताएका छन्।