तारागाउँ सांस्कृतिक केन्द्रमा सुरु भयो ‘फेमिनिस्ट फ्युचर’ नामक दक्षिण एसियाली कला प्रदर्शनी

बिजमाण्डू
२०८१ माघ १३ गते १२:२० | Jan 26, 2025
तारागाउँ सांस्कृतिक केन्द्रमा सुरु भयो ‘फेमिनिस्ट फ्युचर’ नामक दक्षिण एसियाली कला प्रदर्शनी


काठमाडौं। दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ।

Tata
GBIME
NLIC

‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवाला बताउँछिन्।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी ३ महिनासम्म अवलोकन गर्न पाइने छ। प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ।

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषयलाई सम्बोधन गर्ने डा. लोखन्डावाको भनाइ छ। प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका १/१ महिला कलाकारका सिर्जना राखिएका छन्।

भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा छन्।

सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता सराफको भनाइ छ।

प्रदर्शनीले महिलाको सम्मानसँगै दमनकारी दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाको विश्लेषण गर्ने जनाइएको छ। शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनीमार्फत कलाकारले महिलाको जीवनको कथालाई उजागर गर्ने आयोजकको भनाइ छ।

कला प्रदर्शनीको पहिलो दिन अश्मिना रञ्जितको ‘सीता द आइडियल वाइफ २०२५’ मञ्चन गरिएको थियो। प्रस्तुतिले ब्राह्मण पितृसत्ताले महिलाहरूलाई कसरी गाँजेर राखेको छ भन्ने सन्देश दिन खोजिएको रञ्जितको भनाइ छ।

उनले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गरेकी थिइन्।

लैङ्गिकताको कुरा बुझ्नका लागि जात व्यवस्थाबारे बुझ्न आवश्यक रहेको प्रदर्शनीमा सहभागी लेखक तथा अभियान्ता सरिता परियार बताउँछिन्।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जना समेत समावेश छन्। पुष्पमाला एनको ‘अभेगा – द प्यासन २०१२’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ।

त्यस्तै, तैयबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गरेकी छन्। उमा विष्टले छाउपडी प्रथाको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गरेकी छन्।

प्रदर्शनीको टिकट शुल्क विद्यार्थीका लागि २ सय रुपैयाँ तोकिएको छ भने अन्य अवलोकनकर्ताले ३ सय तिर्नु पर्ने छ।