नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन, सूचीमा को-को ?



बिजमाण्डू
२०८१ माघ ११ गते १६:५२ | Jan 24, 2025
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन, सूचीमा को-को ?


काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ।

Vigo
GBIME
Tata

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो।

प्राधिकरण अध्यक्षका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन बुझाउन भनिएको थियो।

समितिका संयोजक अधिकारी शुक्रबार सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु गर्ने कार्यक्रममा सहभागी हुन पाल्पा पुगेका कारण आवेदन दिनेको नाम सार्वजनिक गरिएको छैन। समितिमा अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य छन्।

समितिले आवेदकमध्येबाट सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतीकरण गर्न लगाइ अन्तर्वार्ता लिएर तीन जनाको नाम सिफारिस गर्नेछ। समितिको सिफारिसमा पर्नेमध्ये एक जनालाई मन्त्रिपरिषद्ले प्राधिकरणको अध्यक्ष नियुक्त गर्नेछ।

यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दा दायर भएपछि मंसिर अन्तिम साता निलम्बनमा परेका थिए। उनको कार्यकाल माघ १९ मा सकिंदै थियो।

सिलवाल निलम्बनमा परेपछि अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव मदन दहाललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएका छन्।