
काठमाडौं। आजकाल पत्रपत्रिकामा दैनिक रुपमा एउटा वा दुइटा गाडी ब्रान्डको नेपाल भित्रिने सूचना देखिन्छन्। त्यसमा उनीहरुले नयाँ ब्रान्डका गाडीहरु नेपाल भित्र्याउन भन्सार प्रयोजनका लागि आवश्यक पर्ने अधिकतम खुद्रामूल्य सार्वजनिक गर्छन्।
त्यस्तैमा केही दिन अगाडि मात्रै नेपाल भित्रिएको चिनियाँ गाडी ब्रान्ड ‘जेएमइभी’को सूचना फेरि प्रकाशित भयो। उक्त सूचनामा बिक्रेता कम्पनीको नाम भने पहिलेभन्दा अर्कै नयाँ कम्पनी थियो।
शंकर ग्रुप अन्तर्गतको सौर्य अटोमोबाइल्सले नेपाली बजारमा भित्र्याएको ब्रान्ड फेरि अर्को कम्पनी सरिना जी ट्रेडर्सले ल्याउनेगरी भन्सार प्रयोजनका लागि आवश्यक पर्ने अधिकत खुद्रामूल्य सार्वजनिक गरिएको थियो। यसरी पछिल्लो समय एउटै ब्रान्डको गाडी मल्टिपल बिक्रेताहरुले नेपाली बजारमा ल्याउन थालेका छन्। यसले अटो बजारलाई कस्तो रुपमा सेट गर्ला भन्ने ठूलो प्रश्न खडा गरेको छ।
यसरी एउटै ब्रान्डका गाडीहरु मल्टिपल बिक्रेताले बिक्री गर्दा ब्रान्ड इमेज बिग्रिने, सर्भिसको गुणस्तरमा एकरुपता नहुने, स्पेयर पार्ट्सको उपलब्धतामा समस्या हुने र बिक्रेताले वारेन्टीको दुरुपयोग गर्न सक्ने लगायत ब्रान्ड नै हराएर जाने जस्ता समस्या हुन सक्नेछन्। त्यसैले कुन पक्ष बढी प्रभावकारी हुन्छ भन्ने कुरा कम्पनीको नीति, बजारको अवस्था र ग्राहकहरूको आवश्यकतामा निर्भर गर्दछ।
यसले अटो बजारमा ठूलो समस्या निम्त्याउँछ- व्यवसायी
अटो व्यवसायीहरु एउटै ब्रान्डका धेरैवटा आयातकर्ता हुनुले बजारमा समस्या निम्त्याउने बताउँछन्। पछिल्लो समय गाडी आयातमा देखिएको नयाँ परिपाटी पक्कै पनि राम्रो नभएको उनीहरुको धारणा छ।
टाटाका गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत तथा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ यसले बजारमा ठूलो संकट ल्याउने बताउँछन्। ‘अटो बजारमा भनेको एउटा ब्रान्डले नराम्रो गर्दा सबै ब्रान्डले अपजस भोग्नु पर्ने क्षेत्र हो,’ उनले भने, ‘त्यसैले पछिल्लो समय एउटै ब्रान्ड धेरै बिक्रेताले ल्याएर बिक्री गर्ने परिपाटीले समस्या निम्त्याउने पक्का भएको छ।’
श्रेष्ठका अनुसार मुख्य कुरा भनेको ग्राहकहरुले ब्रान्डलाई कसरी विश्वास गर्ने भन्ने नै हो। ‘आज एउटाले ल्याएर बिक्री गरेको हुन्छ, भोलि कुनै अर्कोले पनि ल्याएको छ। यसरी कसलाई विश्वास गर्ने?,’ उनले भने, ‘आफ्टर सेल्स सर्भिसमा पनि समस्या हुन्छ।’
अहिले उत्पादक कम्पनीले मोडल अनुसार बिक्रेता छान्ने गरेको पनि पाइएको छ। ‘त्यसैले एउटा मोडल ल्याएका व्यवसायीहरुले कसरी आफ्टर सेल्स सर्भिसका लागि लगानी गर्न फिजिबल देख्छन् र सर्भिस राम्रो हुने अपेक्षा गर्नु !,’ उनले भने, ‘आफ्टर सेल्स सर्भिस दिन लङटर्म हुने गरी लगानी गर्नुपर्छ। जसको २० वटा गाडी बिकेको हुँदैन त्यसले कसरी सर्भिसहरुमा फोकस हुन्छ?’
सरकारले यस्ता समस्या आउन नदिन एउटा स्ट्यान्डर्ड तोक्नुपर्ने देखिएको छ। साथै गाडी ल्याउने कम्पनीलाई बेसिक शोरुम, स्पेयर पार्ट्स, सर्भिस सेन्टर तथा प्राविधिक म्यानपावरलगायता पूर्वाधारहरु निर्माण गर्ने मापदण्डहरु पूरा गरेपछि मात्रै गाडी आयात गर्न दिने व्यवस्था मिलाउनुपर्ने श्रेष्ठ बताउँछन्।
साथै नेपाल व्यवसायीहरुले ल्याउने लागेको गाडी उत्पादक कम्पनीको क्रेडिबिलिटी सरकारले हेर्ने गर्नुपर्ने पनि खाँचो देखिएको छ। अहिले धेरैजसो गाडीहरु स्टार्टअप कम्पनीहरुबाट आइरहेका छन्, जुन केही समयपछि बन्द हुने तर्खरमा छन्। केही बन्द पनि भइरहेका छन्। जसले गर्दा ग्राहकहरु समस्यामा छन्।
बीवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ एउटा ब्रान्ड भित्र्याएर बेच्ने र अफ्टर सेल्स सर्भिस दिने कम्पनी एउटा नै हुनुपर्ने बताउँछिन्। एउटै ब्रान्डका कन्ट्री डिलर धेरै भए नेपाली अटो बजार बिग्रिने उनको भनाइ छ। ‘यसले अटोमोबाइल्सको बजारमा अस्वस्थ प्रतिस्पर्धा गराउँछ। जसले गर्दा ग्राहकहरु त्यसको सिकार बन्न पुग्छन्,’ उनले बिजमाण्डूसँग भनिन्। खराब परिपाटीले व्यवसायीलाई मात्रै नभइ ग्राहकहरुलाई पनि समस्या पार्ने उनले बताइन। उत्पादक कम्पनीले यसलाई बढावा दिन नहुनेमा उनको जोड छ।
नेपालमा ४/५ वर्ष अगाडिसम्म ब्रान्डको उपस्थिति पनि कम थियो। त्यस माथि ६ महिना वर्ष दिनमा ब्रान्ड अनुसार १/२ वटा मोडलका गाडीहरु सीमित संख्यामा आउने थियो। तर, अहिले चीनमा गाडी उत्पादक धेरै छन्। उनीहरु थरी थरीका मोडल बग्रेल्ती ल्याइरहेका छन्। २/३ महिना १/२ वटा मोडलका गाडीहरु बजारमा ल्याउने गरिरहेका छन्। धेरै ब्रान्ड नेपाल ल्याउनु भन्दा पनि प्रोडक्ट राम्रो र निरन्तर रुपमा भविष्यमा आउने ब्रान्डहरु मात्रै छनोट गर्दा राम्रो हुने उनको भनाइ छ।
व्यवसायीहरु नै मुलुकमा एक जनाले गरेको कामलाई अर्कोले पनि फाइदा विचार नगरी सिको गर्ने परिपाटी रहेको बताउन पछि पर्दैनन्। अरु विकल्प नै खोज्ने प्रयास नहुनुले अटो बजारमा विकृति ल्याएको छ।
एउटै ब्रान्ड धेरैले ल्याउन मरिहत्ते गर्दा उनीहरु कसैलाई पनि लगानीअनुसार अपेक्षित फाइदा भने हुँदैन। सुरुमा ल्याएर राम्रोसँग बिक्री गरिरहेको कम्पनीले समेत पछि ल्याउने कम्पनीका कारण आफ्नो बजारमा गुमाउनु पर्छ।
‘चिनियाँ स्थापित ब्रान्डहरुले ३/४ महिनामा २/३ वटा मोडल ल्याइरहेका छन्। त्यसले गर्दा पनि अब नेपालमा धेरै ब्रान्ड आउँछ जस्तो लाग्दैन,’ श्रेष्ठले भनिन्, ‘केही समयपछि व्यवस्थित रुपमा धेरै ब्रान्डहरु फिल्टर भएर आउँछ। त्यो कुरा पछिल्लो समय सबै व्यवसायी र ग्राहकहरुले पनि बुझेका छन्। तर समस्या ग्राहकलाई नै पर्छ। ब्रान्ड फिल्टर हुँदा त्यस अघि बिक्री भएका प्रोडक्टहरु सर्भिसमा खर्च गर्ने कसले भन्ने प्रश्न उठ्छ?’
आफ्टर सेल्स सर्भिसमा बिक्रेताहरुले ध्यान दिनुपर्ने, आयातकर्ताले त्यसमा लगानी गर्न सक्नुपर्ने पनि बजारमा देखिएको छ। मोडल तथा ब्रान्डहरु बजारमा दिगो हुन सर्भिस र बिक्रेता कम्पनीले आफ्टर सेल्स सर्भिसमा गर्ने लगानीमा निर्भर गर्छ। सुरुमा ब्रान्ड नै टिक्नुपर्ने केही व्यवसायीको भनाइ छ।

एउटै ब्रान्डका तीन वटासम्म बिक्रेता!
अहिले नेपालमा लगभग एक दर्जनभन्दा धेरै व्यवसायीहरुले एउटै ब्रान्डका गाडीहरु मल्टिपल बिक्रेता बनेर बजारमा बिक्री गरिरहेका छन्। कम्पनीले कहिलेकाही २/३ वटालाई आधिकारिक बिक्रेता दिएको छ। एउटै कम्पनीले अलग अलग मोडल फरक कम्पनीलाई दिएको छ।
चिनियाँ गाडी नेपाल ल्याउनको लागि आधिकारिक बिक्रेता माग गर्ने नेपाली व्यवसायीहरु धेरै भएपछि उत्पादक कम्पनीहरुले एउटै ब्रान्ड धेरैलाई दिने गरेका छन्। कतिपयले ब्रान्ड नेमसम्म परिवर्तन गरी एउटै ब्रान्डको गाडीहरु नेपाल ल्याउन प्रक्रिया थालिसकेका छन्। सीएचटीसी कम्पनीबाटै मेगा ग्रुपले गाडी ल्याए पनि फरक लोगो राखेर बिक्री गरिरहेका छन्।
नेपाली बजारमा एक समय काइवी ब्रान्डको गाडी तीन वटा बिक्रेताले ल्याउने पक्का भएको थियो। चिनियाँ कम्पनी काइवीले तीन कम्पनीलाई नियुक्त गरेको थियो। त्यसमा लक्ष्मी ग्रुपअन्तर्गतको ई-मोबिलिटी, गोल्छा अर्गनाइजेसनअन्तर्गतको जिओ अटोमोबाइल्स र एलएलआर ग्रुपलाई नियुक्त गरेको थियो।
तर, अहिले एलएलआर ग्रुपले आफैं पछि हटेको छ। बाँकी दुई वटा कम्पनीले गत हप्ता मात्रै सयुक्त रुपमा एक कार्यक्रम आयोजना गर्दै यो ब्रान्डको सर्भिस र अन्य सबै सेवा मिलेर जिम्मेवारी लिने बताएका थिए। यसले पनि केही हदसम्म ग्राहकहरुलाई ब्रान्डप्रति विश्वास जगाएको छ।
यस्तै कामा ब्रान्डको कमर्सियल गाडी नेपालमा २/३ वटा कम्पनीले गाडी ल्याइरहेका छन्। कामा ब्रान्ड मेगा बिजनेस ग्रुप, त्रिवेणी मोटोकर्प, लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले ल्याउने गरी आधिकारिक बिक्रेता तोकिएका थिए। तर, पछि लक्ष्मी ग्रुपले उक्त गाडी नल्याउने भएको हो।
विलिङ विद्युतीय ब्रान्डका पनि नेपालमा २ वटा आधिकारिक बिक्रेता छन्। विलिङ चिनियाँ ब्रान्ड भए पनि नेपालमा इन्डोनेसियाको प्लान्टबाट ल्याउने गरेका छन्। इभी नेपाल मोटर्सले इन्डोनेसियन ब्रान्डको रुपमा नेपालमा प्रचार गरी २ ढोका भएका साना विद्युतीय गाडी बिक्री गर्छ।
त्यसबाहेक उसले कमर्सियल गाडी एयर इभी मोडल समेत बिक्री गरिरहेको छ। यता एमजी गाडी बिक्री गर्ने प्यारामाउन्ट मोटर्सले चिनियाँ इन्जिनियरिङको गाडीको रुपमा विङ्गो नेपालमा बिक्री गर्दै आएको छ। कम्पनीले हचब्याग गाडी बिक्री गरिरहेको छ।
यस्तै भर्खरै बजारमा आएको जेएमइभीको पनि बिक्रेता दुई वटा हुने भएका छन्। जसमा जेएमइभीको प्यासेन्जर इभी सौर्य अटोमोबाइल्सले ल्याइरहेको छ भने त्यही ब्रान्डको ट्याक्सी फेरि सरिना जी ट्रेडर्सले ल्याउने पक्का भएको छ। साथै स्काइवेल पनि दुई वटा कम्पनीले ल्याउने प्रक्रिया अगाडि बढेको थियो। तर, पछि एलआरआर ग्रुप र जी मोटर्सबीच मुद्दा परेपछि उक्त गाडी नेपाल ल्याइएको छैन। उनीहरुको बीचको मुद्दा अझै पनि विचाराधीन अवस्थामा रहेकाले अहिले जी मोटर्सले मात्रै बिक्री गर्न पाइरहेको छ।
नेपाली व्यवसायीहरुले कसैले उत्पादक कम्पनी त कसैले ट्रेडिङ कम्पनीबाट गाडी ल्याइरहेका छन्। एउटै ब्रान्डमा २ वटा कम्पनीले आधिकारिक बिक्रेता पाउँदा विवाद भएपछि अदालतमा मुद्दा समेत परेको छ। अदालतमा मुद्दा दायर गरेका एक बिक्रेताले वाणिज्य तथा आपूर्ति विभागले नै उत्पादकबाट नभई एजेन्टबाट ल्याउनेलाई समेत आधिकारिक बिक्रेता दिँदा समस्या आएको बताएका छन्।
स्थापित ब्रान्डमा छैन समस्या
अटो बजारमा स्थापित कम्पनीहरुले आफ्नो आधिकारिक बिक्रेता एउटा देशको लागि एउटा मात्रै तोक्ने गरेका छन्। जसमा पुराना युरोपियन, जापनिज, अमेरिकन र भारतीय अटो ब्रान्डहरुले दशकौंसम्म एउटै बिक्रेता कम्पनीलाई नेपाली बजारमा आफ्नो आधिकारिक बिक्रेता बनाएर राखेका छन्।
उदाहरणको लागि महिन्द्रा, टाटा, टोयोटा, निसान, सुजुकी, जीपहरु जस्ता विश्व अटो बजारमा स्थापित ब्रान्डहरु अहिलेसम्म पनि एउटै आधिकारिक बिक्रेताका रुपमा ४/५ दशक बितिसकेका छन्। यदि आधिकारिक बिक्रेता अर्को भए पनि घराना मात्रै परिवर्तन हुने हो। बिक्रेता कम्पनी भने एउटै मात्र हुने गरेको छ।
जस्तै केही महिनाअघि हिरो मोटोकर्पले नेपालमा आफ्नो पुरानो आधिकारिक बिक्रेता ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ(एनजीएम)लाई टर्मिनेट गरेर नयाँ आधिकारिक बिक्रेताका रुपमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सलाई नियुक्त गर्यो। तर, दुवैलाई आधिकारिक बिक्रेताका रुपमा भने छनोट गरेन। त्यसैले स्थापित ब्रान्डहरुले आफ्नो ब्रान्ड इमेज र स्ट्यान्डर्डलाई ख्यालमा राख्दै काम गर्छन्।
तर पछिल्लो समय चिनियाँ गाडी उत्पादक कम्पनीहरुले यसरी बिक्रेता छनोट गर्दा मल्टिपल कम्पनीहरुलाई बिक्रीको जिम्मा दिने गरेको देखिएको छ। यसले पछिल्लो समय अटो बजारमा एक खाले तरङ नै ल्याएको छ। कुन बेला कुन ब्रान्ड कसले खोस्ने हो र कसले ल्याउने हो भन्नेमा भरोसा नै नभएको व्यवसायीहरुको गुनासो छ।
चिनियाँ नै केही स्थापित ब्रान्डहरुले भने त्यसरी मल्टिपल बिक्रेता छान्ने काम गरेका छैनन्। जस्तै बीवाइडी, एमजी, ओमोडा, डिपल एण्ड जेको, लिपमोटरहरुले एउटै कम्पनीलाई मात्रै आधिकारिक बिक्रेताका रुपमा छनोट गरेका छन्। जसको ब्रान्ड इमेज, बिक्री र सर्भिसको गुणस्तरमा कमी आएको छैन।

ब्रान्ड नटिक्ने र सर्भिसको गुणस्तरमा समस्या
धेरै बिक्रेता हुँदा ब्रान्डको इमेज गुम्ने सम्भावना हुन्छ। प्रत्येक बिक्रेताको आफ्नै मार्केटिङ र बिक्री पद्धति हुने भएकाले ग्राहकले ब्रान्डबारे फरक-फरक धारणा बनाउन सक्छन्। कुनै एक बिक्रेताले ब्रान्डलाई राम्रोसँग प्रतिनिधित्व गर्न नसकेमा त्यसको असर सम्पूर्ण ब्रान्डमा पर्न सक्छ।
प्रत्येक बिक्रेताको सेवाको गुणस्तर फरक हुन सक्छ। यसले गर्दा कुनै एक बिक्रेताले राम्रो सेवा प्रदान गरे पनि अर्को बिक्रेताले त्यही मापदण्डको सेवा उपलब्ध नगराउन सक्छ। यसले गर्दा ग्राहकहरूमा असन्तुष्टि भएर ब्रान्डकै प्रतिष्ठामा आँच आउन सक्छ।
आधिकारिक बिक्रेताबीच अस्वस्थ प्रतिस्पर्धाको सम्भावना प्रबल हुन्छ। धेरै बिक्रेता हुँदा उनीहरु बीचको प्रतिस्पर्धाले ग्राहकलाई भ्रमित पार्न सक्छ।
सर्भिसमा एकरुपता नहुने समस्या पनि देखिन्छ। धेरै बिक्रेता हुँदा सर्भिसको गुणस्तरमा एकरुपता नहुन सक्छ। प्रत्येक बिक्रेताको आफ्नै सर्भिस सेन्टर र प्राविधिक हुने भएकाले ग्राहकले फरक-फरक प्रकारको सर्भिस पाउने सम्भावना हुन्छ।
तर धेरै बिक्रेता हुँदा स्पेयर पार्ट्सको उपलब्धतामा समस्या हुन सक्छ। यसले गर्दा ग्राहकले समयमै सर्भिस पाउन नसक्ने समस्या झेल्नुपर्ने हुन्छ। यसैगरी, धेरै बिक्रेता हुँदा स्पेयर पार्ट्सको उपलब्धतामा समस्या आउन सक्छ। साथै धेरै बिक्रेता हुँदा वारेन्टी र सर्भिसिङमा समस्या आउन सक्ने व्यवसायी नै स्वीकार्छन्।