काठमाडौंको अटो हब थापाथलीमा देखिएको विद्युतीय गाडीको सिफ्ट, व्यवसायी उही, ब्राण्ड फरक

शुक्र गिरी
२०८१ पुष १९ गते १५:३१ | Jan 3, 2025
काठमाडौंको अटो हब थापाथलीमा देखिएको विद्युतीय गाडीको सिफ्ट, व्यवसायी उही, ब्राण्ड फरक


काठमाडौं। केही वर्षअघिबाट काठमाडौं उपत्यकाको थापाथली अटोमोबाइलको हब बन्यो।

Tata
GBIME
NLIC

यहाँ अधिकांश कम्पनीका शोरुम छन्। नयाँ ब्राण्ड भित्र्याउनेहरूका लागि पनि शोरुम खोल्न रोजाइको पहिलो प्राथमिकतामा पर्‍यो। पेट्रोलियम गाडीको शोरुम रहेको यही थापाथलीको बोर्डसँगै सजाएर राखिएका गाडी फेरिएका छन्।

अहिले यो क्षेत्रका सबैतिर विद्युतीय गाडी राख्न थालिएको छ। उपभोक्ताको सिफ्टसँगै अटोमोबाइल व्यवसायीले विभिन्न ब्राण्डका विद्युतीय गाडीको शोरुममा रुपान्तरण गरेका छन्। व्यवसायी उही, तर ब्राण्ड फेरिएका छन्। पेट्रोलियम गाडीको शोरुम खुम्च्याउँदै विद्युतीय गाडीको शोरुम फराकिलो बनाउन उनीहरू भिडिरहेका छन्।

थापाथली क्षेत्रका शोरुममा नयाँ-नयाँ ब्राण्डका इभी ग्राहकलाई लोभ्याइरहेका देखिन्छन्। यसले अटो बजारको डाइमेन्सन कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा छर्लंग हुन्छ। किनभने पहिले थापाथली सडकका दुवैतिर भएका शोरुमहरू पेट्रोल/डिजल इन्जिन गाडी देखिन्थे।

नयाँ बन्दै गरेका शोरुमहरूमा सबै इभी ब्रान्डका नाम राखिएका छन्। पुराना मोडिफाइ गरिएका शोरुममा पनि नयाँ-नयाँ इभी ब्रान्ड देखिन्छन्।

लगभग एक दर्जन नयाँ शोरुमहरू थापाथलीमा थपिएका छन्। ती सबैमा थरी-थरीका विद्युतीय गाडीको चमकदमक छ।

अटोमोबाइलको ट्रेन्ड अहिले विद्युतीय गाडीमा देखिएका कारण कार हब थापाथलीमा पनि यस्तो दृश्य देखिएको टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत तथा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ बताउँछन्।

‘त्यही ट्रेन्ड अहिले थापाथलीका शोरुमहरूले देखाउँछ। व्यवसायीहरू नयाँ शोरुम विस्तार गर्दा विद्युतीय गाडीको मात्रै छन्,’ उनले भने, ‘साथै पुराना इन्धन गाडीका शोरुममा पनि इभीको मात्रै हिस्सा धेरै छ। गत २ वर्षदेखि इन्धन गाडीको शोरुम खोलेर सस्टेन गर्न सक्ने अवस्था छैन। बजारको माग र ट्रेन्डलाई पछ्याउनै पर्छ।’

श्रेष्ठका अनुसार यसलाई अटो व्यवसायमा ‘वार्गन’ भन्न सकिन्छ। जहाँ धेरै जायन्टहरू हुन्छन् त्यहीँ ठाउँमा सबै आउने हुन्छ।

सुरुका दिनमा थापाथलीमा सुजुकीको शोरुम आएको थियो। किनभने पहिले मारुती सुजुकी नै नेपालको सवारी कारोबारमा मार्केट लिडर थियो। त्यसपछि टाटा, फोर्ड र हुन्डाईको शोरुम आयो।

‘गाडी शोरुमको फुटफलहरू कस्तो हुन्छ भने सबै जना एकै ठाउँमा राख्न चाहान्छन्। किनभने एउटा शोरुममा गाडी हेर्न आएको मान्छे अर्को शोरुम नजिकै छ भने एक पटक छिर्छ छिर्छ,’ उनले भने, ‘जस्तै टाटामा गाडी हेर्न आएका ग्राहकहरू हुन्डाईमा जान्छन् नै। किनभने नजिकै त्यसैले ग्राहकहरूलाई पनि धेरै विकल्पहरू एकै ठाउँमा हुँदा सजिलो पनि भयो। त्यसैले पनि इभी ब्रान्डको शोरुमहरू एकै ठाउँ धेरै छन्।’

श्रेष्ठका अनुसार गाडी शोरुम स्थापना गर्दा मार्केट लिडरको पछि लाग्दै अन्य नयाँ ब्रान्ड ठाउँ खोज्ने हुन्। ताकी आफ्नो फुटफल बढाउन र ग्राहक आउन सहज हुन्छ।

थापाथली रोड पहिलेदेखि नै कारको हब थियो। त्यही कार हबमा अहिले इभीको हिस्सा धेरै हुँदै गइरहेको हो। गाडी हेर्नका लागि ग्राहकहरू टाढा-टाढाको शोरुम जानै छाडिसकेका छन्।

अहिले थापाथली मात्रै हैन नक्सालमा पनि त्यही प्रकृति देखिएको छ। सुरुमा हुन्डाई गएको थियो भने पछि मारुती सुजुकी पनि गयो। अहिले प्राय सबै ब्रान्डका गाडीहरूको शोरुम त्यही क्षेत्रमा छन्।

त्यसमा पनि दुई वर्षको अवधिमा इभीको शोरुम धेरै देखिन थालिसकेका छन्। अटोमोबाइलमा सबै ट्रेन्ड नै यस्तो हुँदो रहेछ। अहिले इभीको ट्रेन्ड छ। त्यही भएर थापाथली रोड पनि इभीमय भएको छ।

यसैगरी, हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक तथा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ थापाथली गाडीहरूका लागि झन् ठूलो हब बन्दै गइरहेको बताउँछन्। खाली अहिले भइरहेको अटो बजारको डाइमेन्सन मात्रै फरक भएको उनको बुझाइ छ।

‘थापाथली अटो व्यवसायीहरूका लागि जहिले पनि मुख्य हबकै रुपमा स्थापित छ। नक्सालमा भने २०१८ देखि मात्रै शोरुमहरू स्थापना हुन थालेका हुन्,’ उनले भने, ‘अझै पनि गाडी किन्ने ग्राहकहरूले एक पटक थापाथली आउँछन् आउँछन्। त्यसैले पनि इभी ब्रान्डका शोरुम थपिने क्रम बढेको हो।’

थापाथलीमा इभीका नयाँ शोरुम थपिनुले पनि गाडी शोरुमको हब अझै बढेको देखिएको उनको बुझाइ छ।

‘यसले अझै धेरै समय थापाथलीलाई अटोमोबाइल हबका रुपमा चिनिन्छ,’ उनले भने, ‘इभीले गर्दा नयाँ ब्रान्डहरू थपिने क्रम जारी छ। जसलाई थापाथलीमा नै शोरुमहरू चाहिरहेको छ।’

अहिले इभी र इन्धन गाडी भनेर नछुट्याए पनि इभीको हिस्सा बढ्दो क्रममा रहेको उनी बताउँछन्।

‘थापाथली कै कुरा गर्दा पनि अहिले एउटै कम्पनीले इभी र इन्धन दुवै बिक्री गरिरहेका छन् भने कुनै एउटा कम्पनी मात्रै इभी बिक्री गर्दै आइरहेका छन्,’ उनले भने, ‘जसले गर्दा समग्र अटो बजारको डाइमेन्सन मात्रै परिवर्तन भएको हो।’

इन्धन गाडीको शोरुम किन बढ्न सकेन?

पछिल्लो समय थापाथलीमा इन्धन गाडीको शोरुमहरू बढ्नेभन्दा घट्दो क्रममा छन्। थापाथलीमा चेरीदेखि ग्रेटवाल जस्ता इन्धन गाडीको शोरुम भएका स्थानमा अहिले इभी ब्रान्डका शोरुमहरूमा परिणत भएका छन्।

किया, महिन्द्रा, निसानले पनि इभी मोडल शोरुममा राखेका छन्। यही डेढ वर्षमा मात्रै थापाथलीमा लगभग एक दर्जन इभी ब्रान्ड गाडीका शोरुमहरू थप भएका छन्। जसमा आयोन, नेटा, स्मार्ट, एक्स्पेङ, जिकर, काइवी, लिपमोटर, सिट्रोन, रिडारा, जस्ता नयाँ इभी ब्रान्डका शोरुमहरू संचालनमा छन्।

यसो हुनुमा पेट्रोल/डिजल इन्जिन गाडीका शोरुम निर्माण गर्नै गाह्रो रहेको टाटाको विक्रेता सिप्रदीका सीइओ राजनबाबु श्रेष्ठ बताउँछन्।

‘इन्धन गाडी बिक्री गर्छु भनेर शोरुम राख्न अहिले फिजिबल नै छैन। हामी टिक्नै सक्दैनौं,’ उनले भने।

उनका अनुसार एउटा शोरुमको भाडा मात्रै ९/१० लाख रुपैयाँ लाग्छ। त्यसपछि शोरुमको इन्टेरियर तथा अन्य सबै कुरा निर्माण गर्न कम्तीमा डेढ करोड रुपैयाँ लाग्ने उनको भनाइ छ।

‘यसरी लगानी गरेर इन्धन गाडी बिक्री नै कम भएपछि कसरी लगानी उठाउने र टिक्ने भन्नेमा कन्फिडेन्ट नै हुन सकिदैन,’ उनले भने।

बिजनेस नभएपछि शोरुम खोलेर मात्रै घाटामा बस्न किन नयाँ शोरुम खोल्ने भन्नेमा व्यवसायीहरूको मनासाय भएकाले अहिले इभीको शोरुम धेरै बढेको उनी बताउँछन्।

‘बरु इभीको शोरुम खोल्यो भने बिजनेस धेरथोरै भइरहेको छ। जसले गर्दा हामी टिक्न भने पनि सक्छौं,’ उनले भने, ‘अहिले सबै ग्राहकहरूको माग नै इभी छ। जसको कारण हामी पनि इभीमा ध्यान केन्द्रित गरिरहेका छौं। त्यसैले इभीको शोरुमहरू निर्माण हुने क्रम बढेको छ।’