
काठमाडौं । १५ दिनपछि बजारमा आउन लागेको हुन्डाई क्रेटा इभीको पहिलो टिजर सार्वजनिक गरिएको छ। दक्षिण कोरियाली अटोमोबाइल निर्माताले बुधबार क्रेट इभीको पहिलो टिजर सार्वजनिक गरेको हो।
हुन्डाईको क्रेटा इभी यही जनवारी १७ मा भारतको नयाँ दिल्ली हुने भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने जनाइएको छ।
टिजरमा एउटा मात्र वाल माउन्ट चार्जरको फोटो दिइएको छ। जसमा लेखिएको छ, ‘इलेक्ट्रिक इज नाउ क्रेटा’।
कम्पनीले इलेक्ट्रिक गाडीको बजारमा ‘बोल्ड’ अध्याय सुरु हुने भन्दै हुन्डाई क्रेटा इलेक्ट्रिकले ड्राइभ गर्ने तरिका सधैंको लागि परिवर्तन गर्ने दाबी गरेको छ टिजर मार्फत।

हुन्डाई क्रेटा इभी मास सेग्मेन्टमा पहिलो इलेक्ट्रिक एसयूभीको रुपमा लन्च गर्न लागिएको कम्पनीले जनाएको छ। भारतमा विद्युतीय एसयूभीको बजार लगातार बढिरहेको छ। यसलाई ध्यानमा राख्दै धेरै निर्माताहरूले आफ्नो कार र एसयूभीहरू इलेक्ट्रिक सेग्मेन्टमा लन्च गरिरहेका छन्। यसै क्रममा हुन्डाईले क्रेटाको इलेक्ट्रिक भर्सन पनि ल्याउन लागेको हो।
यो एसयूभीले बजारमा चाँडै नै लन्च हुने मारुती ई भिटारा, टाटा नेक्सन इभी, टाटा कर्भ इभी, एमजी जेडएस इभी, एमजी विन्डसर इभी, बीवाइडी एट्टो ३ जस्ता इलेक्ट्रिक एसयूभीहरूसँग सीधा प्रतिस्पर्धा गर्नेछ।
एसयूभीको बारेमा कम्पनीले अझै कुनै जानकारी सार्वजनिक गरेको छैन। तर यसको इलेक्ट्रिक संस्करणको डिजाइन हुन्डाई क्रेटाको आईसीई संस्करण जस्तै राखिने अपेक्षा गरिएको छ। यसका साथै पेट्रोल-डिजेल भर्सन एसयूभी जस्तै इलेक्ट्रिक भर्सनमा पनि उस्तै सुविधाहरू हुने अनुमान गरिएको छ।
यसमा ५१.४ र ४२ किलोवाट आवर(युनिट) क्षमताको दुईवटा ब्याट्री प्याक उपलब्ध हुनेछ। यसमा सानो ब्याट्री प्याकले फूल चार्ज रेन्ज ३९० किलोमिटर र ठुलो ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।