चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी, १० करोड रुपैयाँ राजस्व संकलन

बिजमाण्डू
२०८१ पुष ४ गते ०८:४२ | Dec 19, 2024
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी, १० करोड रुपैयाँ राजस्व संकलन
फाइल तस्बिर।


नवलपुर। चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोड रुपैयाँभन्दा बढी राजस्व रकम संकलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार ४ सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका जनाइएको छ।

Tata
GBIME
NLIC

निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार ७ सय ३० जना रहेको निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यस अवधिमा ३२ हजार ८ सय ८० नेपाली तथा ५ हजार ८ सय ५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कबापत ५ महिनाको अवधिमा १० करोड ६७ लाख १ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

यसैबीच, यस अवधिमा निकुञ्जले घडियाल प्रजनन केन्द्र कसरामा हुर्काएका ४१ घडियाल गोहीलाई प्राकृतिक वासस्थानमा छोडेको छ। ५ वर्षमाथिका घडियाललाई विभिन्न ३ पटकमा गरी ४० पोथी र १ भाले राप्ती नदीमा लगेर छाडिएको अधिकृत थापामगरले जानकारी दिए।

निकुञ्जले वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि विभिन्न समयमा स्थानीयसँगको सहकार्यमा बैठक बस्ने तथा कार्ययोजना बनाएर काम गर्ने गरेको उनले बताए।

निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या धेरै देखिएको जनाउँदै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्ने तयारी गरिएको उनले जानकारी दिए। निकुञ्जको पश्चिम सेक्टर नवलपुर क्षेत्रमा गैँडाको सङ्ख्या धेरै पाइएकाले नारायणी नदीमा आउने बाढीले गैँडालाई बगाएर भारततर्फ लैजानसक्ने भएकाले गैँडा संरक्षणका लागि स्थानान्तरण आवश्यक भएको उनको भनाइ छ।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्य, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डा गणेश पन्त, राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणका गणपति, डिभिजनल वन अधिकृत, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्षहरू, पर्यटन समितिका पदाधिकारी साथै व्यवसायी, स्थानीय तहका प्रतिनिधिसहित सरोकारवालाको उपस्थितिमा गैँडाको आन्तरिक स्थानान्तरणको लागि पूर्वतयारी छलफल तथा अन्तर्क्रिया गरिएको अधिकृत थापामगरको बताए। रासस