
५ महादेश । २१ देश । ५३ सहर । २१ महिना। १४९ शो। कन्सर्ट चल्दै गर्दा भूकम्प झै कम्पन। कन्सर्टबाटमात्रै विश्वभरबाट २.२ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब रुपैयाँ भन्दा बढी) को आर्थिक कारोबार। स्थानीय व्यापार व्यवसायसँगै देशकै अर्थतन्त्रमा ‘पोजेटिभ सर्किट’। बिलिनियर गायिका टेलर स्विफ्टको ‘इराज टुर’ यिनै यादहरुका साथ सकिएको छ।
आइतबार राति क्यानडाको भ्यानकुभरमा टेलर स्विफ्टले इराज् टुर अन्तर्गत अन्तिम गीत प्रस्तुत गरिन्। ‘द गाय अन दी चिफ्स’ बोलको सर्प्राइज गीत गाएर स्विफ्टले इराज टुरलाई सदाका लागि ‘गुड बाय’ भनिन्।
सन् २०२२ को नोभेम्बरमा जब ‘इराज् टुर’ घोषणा भयो, त्यो टेलर स्विफ्टको लागि ‘वाइल्डेस्ट ड्रिम’ थियो। करिब दुई वर्षको अन्तरालमा एक करोडभन्दा बढी दर्शकबीच प्रस्तुती दिनु कुनै चानचुने कुरा थिएन। तर त्यही चुनौतीलाई अंगाल्दै स्विफ्ट विश्व यात्रामा गीत गाउन निस्किइन्। र, यही इराज् टुरमा दर्शकको माया सँगसँगै आफ्नो नेटवर्थलाई ‘बिलियन’ मा पुर्याएर ३४ वर्ष उमेर मै बनिन् ‘बिलिनियर’।

जब उनको इराज् टुर सुरु भयो र त्यसले दर्शकको साथ पाउन थाल्यो उनीसँग थप ब्रान्डहरु जोडिन थाले। कन्सर्टसहित ब्रान्डिङबाट उनको आय ह्वात्तै बढ्यो। सन् २०२३ मा उनी फोर्ब्सको बिलिनियर सूचीमा अटाइन्। संगीत क्षेत्रमै लागेर पैसा कमाएर अर्बपति हुने स्विफ्ट पहिलो गायिकासमेत बनिन्। सन् २०२४ मा रिहान्नालाई पछि पार्दै संसारकै सबैभन्दा धनी गायिका बनिन् टेलर स्विफ्ट।
सन् २०२४ मा स्विफ्टको नेटवर्थ १.६ बिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको हाल दुई खर्ब नेपाली रुपैयाँभन्दा बढी हो। सन् २०२३ मा उनको नेटवर्थ १ अर्ब १० करोड डलर थियो। एकै वर्षमा उनको नेटवर्थमा ५० करोड डलर थपिएको हो।

‘स्विफ्टोनोमिक्स‘ – अर्थतन्त्रमा टेलर स्विफ्टको प्रभाव
इराज् टुरसँगै जब टेलर स्विफ्ट अर्बपतिको सूचीमा सामेल भइन् उनको क्रेज थप बढ्दै गइरहेको महसुस विश्वभरबाट पाएको प्रशंसाबाट भयो। इराज टुरको टिकट बिक्रीका लागि खुलेसँगै सोल्ड आउट भए। टिकट तय मूल्यभन्दा बढीमा बिक्यो।
दी एसोसिएट प्रेसका अनुसार लगभग दुई वर्ष लामो टुरका क्रममा २.२ बिलियन अमेरिकी डलर (करिब ३ खर्ब रुपैयाँ) को कारोबार भएको छ। उत्तर अमेरिकी देशबाट मात्रै १ खर्ब ४१ अर्ब रुपैयाँको कारोबार भएको छ। कुनै पनि कन्सर्टले यो हालसम्म कमाएको सबैभन्दा बढी रकम हो।
यसअघि कोल्डप्लेको जारी ‘म्युजिक अफ दी स्पेयस्स रन’ ले १.१४ बिलियन अमेरिकी डलर (करिब १ खर्ब ५५ अर्ब रुपैयाँ) कमाएको रेर्कड छ। सन् २०२२ बाट सुरु भएको कोल्डप्लेको यो कन्सर्ट सन् २०२५ मा पनि जारी नै रहनेछ। स्विफ्टको इराज् टुरले दुई वर्षमै कोल्डप्लेको भन्दा दुई गुणा बढी कमाएको हो। यसमा। स्थानीय अर्थतन्त्रलाई पुर्याएको योगदानको रकम अझै जोडिएको छैन।
स्विफ्टले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई ‘स्विफ्टोनोमिक्स’ समेत भन्ने गरिएको छ। विश्वभरबाट दुई सय करोड अमेरिकी डलरको व्यापार गरेपछि ‘स्विफ्टोनोमिक्स’ थप चर्चामा छ। त्यसमाथि स्विफ्टको इराज् टुर जहाँ जहाँ भयो त्यसले त्यो सहरमात्रै नभइ देशकै अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्यायो।
कोभिड-१९ बाट प्रभावित अमेरिकाको अर्थतन्त्रलाई टेलर स्विफ्टको इराज् टुरले ‘बुस्ट’ गरेको थियो। अमेरिकाको विभिन्न सहरमा भएको कन्सर्टबाट त्यहाँको स्थानीय अर्थतन्त्रमा योगदान पुगेको हो। एउटा कन्सर्टमै ५४ हजार भन्दा बढी फ्यान्सहरु पुगेका थिए। इराज् टुरमा सहभागी एकजनाले कम्तीमा पनि १ हजार ३२७.७४ अमेरिकी डलर (एक लाख ८० हजार रुपैयाँ) खर्च गरेको अनुमान छ।

फोर्ब्सका अनुसार भ्यानकुभरमा भएको इराज् टुरको अन्तिम शोले सहरको अर्थतन्त्रमा १५७ मिलियन अमेरिकी डलर (२१ अर्ब भन्दा बढी) ‘बुस्ट’ गरेको अनुमान छ। त्यसमा १३ अर्बभन्दा बढी रकम त हस्पिटालिटी, खाना र यातायात क्षेत्रमा खर्च भएको छ। सरकारले करबाट मात्रै ३ अर्ब भन्दा बढी रकम पाएको छ।
गत फेब्रुअरीमा अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा भएको इराज् टुरले कम्तीमा १ खर्ब रुपैयाँको कारोबार भएको अनुमान छ। मेलबर्न क्रिकेट स्टेडियममा भएको कन्सर्टमा ९६ हजार दर्शकको उपस्थिति थियो।
त्यस्तै, लन्डनमा स्विफ्टले जुन महिनामा ३ वटा र अगस्टमा ५ वटा शो गरिन्। यो सबै शो गरेर ३८० मिलियन अमेरिकी डलर (४७ अर्ब भन्दा बढी) ले त्यहाँको अर्थतन्त्र ‘बुस्ट’ भएको थियो। करिब ७ लाखजनाले स्विफस्टको शो हरेका थिए। विमान र होटल बुकिङले गर्दा स्थानीय अर्थतन्त्रमा निकै फाइदा पुगेको थियो।
यस्तै, सन् २०२३ को अगस्टमा लसएन्जलसमा स्विफ्टले ६ वटा शो गरिन्। त्यसबाट स्थानीय अर्थतन्त्रमा ३२० मिलियन अमेरिकी डलर (४३ अर्ब भन्दा बढी)को योगदान पुगेको थियो। कोरोनापछिकै ठूलो शो होस्ट गरेको लसएन्जलसले कन्सर्टका कारण पर्यटकमात्रै तानेन, रोजगारीको अवसरसमेत सिर्जना गर्यो। करिब ३ हजार बढीले इराज् शोकै कारण प्रत्यक्ष रोजगारी पाए।
टोक्योमा भएको स्विफ्टको कन्सर्टले जापानभर २२८ मिलियन डलर (३० अर्ब भन्दा बढी) कारोबार भयो। टोक्योमा मात्रै १६३ मिलियन (करिब २२ अर्ब रुपैयाँ)को कारोबार भयो। सिंगापुरको अर्थतन्त्रमा स्विफ्टको शोले २६० मिलियन डलर (३५ अर्बभन्दा बढी)भन्दा बढी योगदान गरेको थियो।
हजारौं फ्यानहरुको उपस्थितिमा स्कटल्यान्डको एडिनबर्गमा भूकम्पको धक्का नै मापन भयो। कन्सर्टमा उपस्थित ७३ हजार दर्शक एकसाथ नाच्दा मुर्रफिल्ड स्टेडियमको चार माइल टाढासम्म कम्पन महसुस भएको थियो। यस्तै, अमेरिकाको सेटलमा पनि दर्शकको हलचलले कम्पन महसुस भएको थियो।

स्विफ्टले कसरी कमाइन् सम्पत्ति?
३४ वर्षीया स्विफ्ट संगीत क्षेत्रबाटै पैसा कमाएर अर्बपति बन्ने पहिलो संगीतकर्मी हुन्। सन् २०२३ मा अर्बपति बनेकी उनका गीतहरूको मूल्य नै ८१ अर्बभन्दा बढी छ। स्पटिफाइमा सबैभन्दा बढी गीत उनकै सन्ने गरिन्छ। सन् २०२४ मा सबैभन्दा बढी ‘स्ट्रिम्ड’ हुने कलाकार पनि उनै हुन्।
त्यस्तै, टुर र रोयल्टीबाट उनले ८० अर्बभन्दा बढी कमाएकी छन्। उनी करिब १७ अर्ब बराबरको प्रपर्टी छ। अर्बपति बन्न उनलाई हालै सम्पन्न इराज टुर यात्राले धेरै बल पुर्याएको हो। जेन जीमा समेत राम्रो प्रभाव छाडेकी छन् स्विफ्टले


फोर्ब्सका अनुसार उक्त टुरको पहिलो चरणबाट मात्रै उनले करिब २५ अर्ब रुपैयाँ कमाएकी थिइन्। पहिलो वर्ष नै इराज टुर १ खर्ब भन्दा बढी कमाइ गर्ने पहिलो कन्सर्ट टुर बनेको थियो। त्यही कन्सर्टको कूल कारोबार अन्तिमसम्म आइपुग्दा करिब ३ खर्ब हाराहारीमा पुगेको हो।
सम्पत्ति बढ्दै जाँदा सांगितिक क्षेत्रमा स्विफ्टको प्रभाव थप बढ्दो छ। उनको एल्मबहरु ‘हिट’ छन्। सन् २०२४ मा लन्च भएको उनको एल्बम ‘दी टर्चर्ड पोइट्स डिपार्टमेन्ट’ले अहिलेसम्म राम्रो कमाइ गरिरहेको छ। पुराना एल्बमको ‘रेभेन्यू कलेन्सन’ पनि राम्रै छ।
सन् २०२३ मा फोर्ब्सले उनलाई संसारकै पाँचौँ सबैभन्दा शक्तिशाली महिलाको रुपमा चित्रित गरेको थियो। सन् २०२३ मै उनी ‘टाइम पर्सन अप द इयर’ पनि घोषित भइन्।
उनलाई राजनीतिमा पनि प्रभाव पार्न सक्ने व्यक्तिको रुपमा लिइन्छ। अमेरिकी राष्ट्रपतिको चुनावमा कमला ह्यारिसलाई उनले समर्थन गरेसँगै मतदाता दर्ता वेबसाइटमा भिजिटरहरूको संख्या ह्वात्तै बढेको पनि बताइएको थियो। तर, उनको समर्थनले ह्यारिसलाई जित तर्फ दोहोर्याएन। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प फेरि निर्वाचित भए।
ट्रम्प र स्विफ्टको सम्बन्ध सुरुवातदेखि नै राम्रो देखिएको छैन।
अब के ?
इराज् टुर सकिएपछि टेलर स्विफ्टको अबको बाटो के होला ? धेरैलाई चासो छ ।
युएसए टुडेका लागि टेलर स्विफ्टको बारेमा मात्रै रिपोर्टिङ गर्ने ब्रान्य वेस्ट भन्छन्, ‘उनी सायद केही समय विश्राम लिनेछन्। तर, उनी केही नगरी बस्ने स्वभावकी होइनन्। उनी जहिलै नयाँ नयाँ प्रोजेक्टसँग आइरहन्छिन्।’

धेरैको आशा छ उनले नयाँ जनरामा गीतहरु ल्याउनेछिन्। सायद उनको नयाँ एल्बम आउनेछ। र, फेरि उनी कन्सर्टहरुमा देखिन्छन्। तर, टेलरलाई जान्नेहरु उनी एउटै प्रकृतिको काम फेरि गर्न नरुचाउने बताउँछन्।
त्यसैले इराज् टुरको सफलता पछि अब टेलर स्विफ्टको यात्रा कस्तो होला, त्यो हेर्न केही समय भने कुर्नै पर्नेछ। सायद २०२५!