वित्तीय अवस्था ओरालो सेयर मूल्य महँगो, इन्भेष्टमेन्ट कम्पनीले बजारमा निम्त्याउँदैछन् ‘बबल’

सुनिल कुँवर
२०८१ मंसिर २४ गते ०६:३० | Dec 9, 2024
वित्तीय अवस्था ओरालो सेयर मूल्य महँगो, इन्भेष्टमेन्ट कम्पनीले बजारमा निम्त्याउँदैछन् ‘बबल’

काठमाडौं। हाथवे इन्भेष्टमेन्ट कम्पनीले २०८० भदौमा आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्‍यो।

Tata
GBIME
NLIC

कम्पनीको सेयर अंकित मूल्य प्रति कित्ता ५० रुपैयाँमा सर्वसाधारणले खरिद गरे। १५ महिना अघि बजारमा सूचीकृत भएको हाथवेको सेयर मूल्य प्रति कित्ता १८१६ रुपैयाँसम्म पुग्यो। गत साउन अन्तिममा नेप्से परिसूचक ३००० विन्दुमा पुग्दा कम्पनीको सेयर मूल्यले रेकर्ड कायम गर्‍यो।

बजार अहिले २६८९ विन्दुमा आइपुग्दा हाथवेको सेयर मूल्य प्रति कित्ता १३९५ रुपैयाँ छ। एक वर्षअघि यो मूल्य ४३६ रुपैयाँ थियो।

सेयर भाउ एक वर्षमै यति माथि पुग्नेगरी कम्पनीले के चाहिं चमत्कार गर्‍यो त? कम्पनीको वित्तीय विवरणले खासै केही देखाउँदैन।

कम्पनीले आइपीओ बिक्री गर्दा प्रक्षेपण गरेअनुसार पनि नाफा कमाउन सकेको छैन। उसले अधिकांश रकम सूचीकृत कम्पनीको सेयर खरिदमा लगाएको छ।

हाथवेले वित्तीय अवस्था नाजुक भएका कम्पनीको समेत सेयर खरिदबिक्री गरिरहेको छ। प्रतिफल सुनिश्चित नभएका कम्पनीमा लगानी गर्नुलाई बजारका जानकारहरु सेयर मूल्य बढाउने बाहेक केही होइन भन्छन्।

वित्तीय विवरण अनुसार हाथवेले चालु आर्थिक वर्ष पहिलो त्रैमासमा ३ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रति सेयर आम्दानी ५.४४ र प्रति सेयर नेटवर्थ ८० रुपैयाँ छ।

१ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा ८७.५० प्रतिशत संस्थापकको हिस्सा छ। २ करोड ८३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेकामा पब्लिक सेयर संख्या ३५ लाख ३९ हजार २५० कित्ता हो।

कम्पनीचुक्ता पुँजी (रुपैयाँ)सूचीकृत सेयर संख्यासंस्थापक हिस्सापब्लिक हिस्सा
सीएचडीसी१.०३,४२,३७,१००१,०३,४२,३७१७२,३९,६६० (७०%)३१,०२,७११ (३०%)
हाथवे इन्भेष्टमेन्ट१,४१,५७,००,०००२,८३,१४,०००२,४७,७४,७५० (८७.५०%)३५,३९,२५० (१२.५०%)
इमर्जिङ नेपाल लिमिटेड५५,५६,००,०००५५,५६,०००५०,००,४०० (९०%)५,५५,६०० (१०%)
एनआरएन इन्फ्रास्ट्रक्चर१२,८४,३७,२२,३००१,२८,४३,७२३१,२८,४३,७२३ (१००%)

बजारमा सूचीकृत इन्भेष्टमेन्ट कम्पनीमध्ये वित्तीय विवरण अनुसार सेयर मूल्य अस्वाभाविक हुने हाथवे मात्रै होइन। वित्तीय अवस्था नै थाहा नभएको र एकदमै अपारदर्शी ढंगले चलिरहेको सीईडीबी होल्डिङ्स (सीएचडीसी)को सेयर मूल्य प्रति कित्ता १६७६ रुपैयाँ छ।

पछिल्लो एक वर्षमा कम्पनीको भाउ प्रति कित्ता ६२७ रुपैयाँबाट २३७० सम्म पुग्यो। कम्पनीले कहाँ लगानी गरिरहेको छ? सार्वजनिक छैन। वित्तीय सुशासन नदेखिए पनि कम्पनीको सेयर मूल्यको उच्च ताप रोकिएको छैन।

कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा ९ करोड रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ। कम्पनीमा गम्भीर आर्थिक अपचलन भएको विषयमा एक महिनाअघि बिजमाण्डूले समाचार लेखेको थियो।

कम्पनीको आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदनमा बाह्य लेखा परीक्षकले नै कैफियत औंल्याएको छ।

गत कात्तिकमा अध्यक्ष अनिलकुमार रुङ्गटाले आफू अनुकूलका सञ्चालक छान्ने नियतसहित साधारण सभा सम्पन्न गरेपछि यो विवाद नेपाल धितोपत्र बोर्ड (सेबोन), कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामकसम्म पुग्यो।

बजारमा मूल्य उच्च बढ्ने कम्पनीको सूचीमै अर्को कम्पनी छ- इमर्जिङ नेपाल। यसको भाउ एक वर्षमा ७२५ रुपैयाँबाट दोब्बर अर्थात १४५३ रुपैयाँसम्म पुग्यो।

कम्पनिको वित्तीय अवस्था भने खासै राम्रो छैन। तैपनि कम्पनीको सेयर प्रति कित्ता १२१० रुपैयाँमा कारोबार भइरहेको छ। वित्तीय विवरण अनुसार कम्पनीले यस वर्ष पहिलो त्रैमासमा जम्मा ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रति सेयर आम्दानी ०.४८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १११.५६ रुपैयाँ छ।

कम्पनीखुद नाफा हजारमाप्रति सेयर आम्दानी (रुपैयाँ)प्रति सेयर नेटवर्थ (रुपैयाँ)सेयर मूल्य (रुपैयाँ)
सीएचडीसी९०७८३३५.१११४७१६७६
हाथवे इन्भेष्टमेन्ट३४९९६५.४४८२.०२१३९५
इमर्जिङ नेपाल लिमिटेड६६७०.४८१११.५६१२१०
एनआरएन इन्फ्रास्ट्रक्चर४३३३४३.५४१६७.४९१११४

कारोबार र मूल्यका आधारमा बजार दबदबा राखिरहेको अर्को इन्भेष्टमेन्ट कम्पनी हो- एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट।

कम्पनीको सेयर भाउ पछिल्लो एक वर्षमा चकित पार्ने गरी बढ्यो। २९९ रुपैयाँबाट एक वर्षमै ११३९ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले प्रति कित्ता १११४ रुपैयाँमा किनबेच भइरहेको छ। नेप्से आइतबार ४५.९३ अंकले घट्दा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ४.९८ प्रतिशत अर्थात प्रति कित्ता ५२.९० रुपैयाँले बढ्यो।

कम्पनीको वित्तीय अवस्थामा एकाएक चमत्कार भएर सेयर मूल्य बढेको होइन। यस वर्ष पहिलो त्रैमासमा एनआरएनले ४ करोड ३३  लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको प्रति सेयर आम्दानी जम्मा ३.५४ रुपैयाँ छ।

इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्यमा उच्च प्रतिफलका कारण उछाल आएको होइन, उनीहरुले ठूलो प्रतिफल आउने ठाउँमा लगानी गरेको नै देखिंदैन।

तैपनि सेयर मूल्य वित्तीय विवरणसँगै तालमेल नै नहुने गरी कसरी धेरै भयो त?

‘बजारमा सूचीकृत कम्पनीको सेयरमा खेल्न इन्भेष्टमेन्ट कम्पनी माहिर छन्। कर्नरिङ गरेर मूल्य बढाइएको स्पष्ट देखिन्छ,’ एक विश्लेषकले भने, ‘इन्साइडर ट्रेडिङ गरेको कानून अनुसार देखिंदैन। तर, मूल्यमा अस्वाभाविक वृद्धिले प्रस्ट देखाउँछ।’

इन्भेष्टमेन्ट कम्पनीले सेयर लगायत विभिन्न क्षेत्र तथा उपकरणमा लगानी गर्छन्। उनीहरुले लोक्याप भएका कम्पनीमा सर्टसेल गरेर मुनाफा कमाइरहेको बजारका जानकारहरु बताउँछन्।

‘कम्पनीको मूल्य माग र आपूर्तिले निर्धारण हुन्छ। कसरी सप्लाई भइरहेको छ भन्ने कुरा महत्वपूर्ण हो,’ नबिल इन्भष्टमेन्ट बैंकिङका सीइओ मनिष जोशीले भने, ‘कतिपय लोक्याप भएका कम्पनीको सेयर मूल्य वित्तीय अवस्थाभन्दा फरक देखिन्छ। यस्तोमा लगानीकर्ता आफैं सचेत हुनुपर्छ।’

अर्थतन्त्रमा कायम शिथिलताका कारण दुई वर्षयता वित्तीय अवस्था अब्बल भएकै कम्पनीले समेत व्यापार बढाउन सकेका छैनन्। व्यवसायमा गिरावट आउँदा लगानीकर्तालाई प्रतिफल दिन सक्ने कुरै भएन। त्यसको असर सेयर बजारमा देखिन्छ। तर, इन्भेष्टमेन्ट कम्पनीको सेयर मूल्य भने त्यसविपरित बढ्दो छ।

‘कम्पनीको वित्तीय अवस्थाले नभई उचालेर बढाइएको सेयरमा साधारण लगानीकर्ता फस्ने जोखिम हुन्छ। त्यसैले नियामक निकायले विशेष ध्यान दिन जरुरी छ,’ सीडीएसका पूर्वसीइओ पूर्ण आचार्यले भने, ‘बजारमा साना कम्पनीको सेयर मूल्यलाई अस्वाभाविक रुपमा उचारचढाव हुन नदिन स्टक डिलरले सन्तुलन कायम गर्नुपर्ने हो। तर, हाम्रोमा स्टक डिलरमार्फत नगन्य कारोबार भएकाले मूल्यमा उतारचढावलाई रोक्न सकेका छैनन्। यस्तोमा लगानीकर्ताले चाहेर पनि बेच्न सक्दैनन्।’

इन्भेष्टमेन्ट लगायत केही कम्पनीको सेयर मूल्यमा देखिएको अस्वाभाविक वृद्धिलाई लिएर चिन्तित हुनुपर्ने अवस्था आएको जानकारहरु बताउँछन्। ‘कम्पनीको लगानी र प्रतिफलको कुनै लेखाजोखा छैन। सेयर मूल्य बढेको मात्रै छ। यस्ता कम्पनीको नियामकले बेलैमा बलियोसँग नियमन गर्न सकेन भने सेयर बजारमा छिट्टै बबल नआउला भन्न सकिन्न,’ एक ब्रोकरले भने।