विशाल बजारको सेयर मूल्य चलखेलमा सेबोनले थाल्यो अनुसन्धान, माग्यो हिसाबकिताब

सुनिल कुँवर
२०८१ मंसिर १९ गते १९:५९ | Dec 4, 2024
विशाल बजारको सेयर मूल्य चलखेलमा सेबोनले थाल्यो अनुसन्धान, माग्यो हिसाबकिताब

काठमाडौं। विशाल बजार कम्पनीको सेयर मूल्य अस्वाभाविकरुपमा बढाइएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुसन्धान थालेको छ। ६ कारोबार दिनमा प्रति कित्ता झण्डै २९०० रुपैयाँ बढाइएपछि सेबोनले चलखेलको आशंकासहित अनुसन्धान थालेको हो।

Tata
GBIME
NLIC

वर्षौंदेखिको वित्तीय विवरण नै थाहा नभएको विशाल बजारको सेयर मूल्य वृद्धिले बजारमा तहल्का मच्चाएपछि सेबोनले विवरण मागेको छ। सेबोनले कम्पनीका सञ्चालक र कर्मचारीको नाम तथा कारोबारको विवरण मागेको हो।

‘विशाल बजार कम्पनीको सेयर मूल्य बढेको देखेर हामी पनि चकित भएका छौं। न वित्तीय विवरण सार्वजनिक छ, न सेयरधनीले लाभांश पाएका छन्। अन्धकारमा गोली हानेजस्तो जथाभावीरुपमा मूल्य बढाइएपछि चलखेल भएको हाम्रो आशंका छ। त्यसैले हामीले कम्पनीको कारोबार लगायत विभिन्न विवरण मागेका हौं,’ सेबोन स्रोतले भन्यो, ‘कम्पनीले पठाउने विवरण हेरेर आधारमा हाम्रो अनुसन्धान अगाडि बढ्छ।’

कम्पनीको सेयर मूल्य मंसिर १० गते ४१७५ रुपैयाँ रहेकामा त्यसपछि लगातार बढाएर मंगलबार ७ हजार १५ रुपैयाँ पुर्‍याइएको थियो। मंसिर १२ देखि १७ गतेसम्म ४ दिन सर्किट लगाएर बढाइएको थियो।

गत मंगलबार कम्पनीमा आफ्नो ८.४ रोपनी जग्गाबापत सरकारको नाममा ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता सेयर नेप्सेमा थपिएको थियो।

सरकारको नाममा सेयर थपिएपछि पुँजीकरणको हिसाबले विशाल बजार नेप्सेमा सूचीकृत २६८ मध्ये सबैभन्दा ठूलो कम्पनी बन्यो। ३ अर्ब ९६ करोड रुपैयाँ बराबर सेयर थपिंदा कम्पनीको चुक्ता पुँजी ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। तर त्यसमध्ये पब्लिक सेयर १.०४ प्रतिशत अर्थात ४ लाख १८ हजार ९६७ कित्ता मात्रै हो।

त्यही कारण चलखेल गर्नेहरुले एफपीओको हल्ला चलाएर मूल्य बढाएका हुन्। कम्पनीकी सञ्चालक राधा पोखरेल स्वयंले नै एफपीओको हल्ला चलाएर मूल्य बढाउने काम भएको बिजमाण्डूसँग बताएकी थिइन्।

सेबोनले पत्र काटेको जानकारी बुधबार बिहानै चलखेल गर्नेहरुकहाँ पुग्यो। त्यही कारण कम्पनीको सेयर मूल्य बुधबार ९.१७ प्रतिशतले ओरालो लागेको छ। यसदिन कम्पनीको सेयर भाउ ६४३ रुपैयाँले घटेर प्रति कित्ता ६ हजार ३७२ रुपैयाँमा आइपुगेको छ।

बुधबार सेयर मूल्य सर्वाधिक घट्ने कम्पनी सूचीको तेस्रो नम्बरमा विशाल बजार कम्पनी छ। कम्पनीको ५ करोड ४३ लाख ९० हजार ८९३ रुपैयाँ बराबरको ८ हजार ३१३ कित्ता सेयर कारोबार भएको छ।

कम्पनीले सेबोनलाई बुधबार सञ्चालक र कर्मचारीको विवरण पठाएको छ। ‘सेबोनबाट हामीलाई मंगलबार पत्र आएको थियो। हामीले आज पत्रमा भनिए अनुसारका विवरण पठाएका छौं,’ कम्पनी स्रोतले भन्यो।

कम्पनीको वेभसाइटमा कुनै पनि विवरण अद्यावधिक छैन। मासिक कति कारोबार हुन्छ? कुन शीर्षकमा कति खर्च हुन्छ? भन्ने जानकारी कतै उपलब्ध छैन।

वित्तीय सुशासन नरहेको कम्पनीले २०७४/७५ यता वित्तीय विवरण सार्वजनिक गरेको छैन। वित्तीय विवरण नै तयार नगरेपछि लेखापरीक्षण र साधारण सभा तथा लाभांशको कुरै भएन।

कम्पनीका एक कर्मचारीका अनुसार सञ्चालक समितिको अध्यक्षमा अहिले श्यामप्रसाद भण्डारी छन्। उनी महालेखा नियन्त्रकको कार्यालयका कर्मचारी हुन्। यस्तै डिल्ली लम्साल, शर्मिला न्यौपाने, राधा पोखरेल, राजेन्द्र कुमार वैद्य र ध्रुव घिमिरे सञ्चालक तथा महालेखा नियन्त्रकको कार्यालयका कर्मचारी गोरखबहादुर शाही प्रबन्ध सञ्चालकको जिम्मेवारीमा छन्।