एफपीओको हल्ला चलाएर विशाल बजारको सेयर मूल्यमा चलखेल, नियामकले किन गर्दैन कारबाही?

सुनिल कुँवर
२०८१ मंसिर १६ गते १८:१२ | Dec 1, 2024
एफपीओको हल्ला चलाएर विशाल बजारको सेयर मूल्यमा चलखेल, नियामकले किन गर्दैन कारबाही?

काठमाडौं। वित्तीय विवरण नै थाहा नभएको विशाल बजार कम्पनीले केही दिनयता सेयर बजारमा तहल्का मच्चाइरहेको छ।

Tata
GBIME
NLIC

कम्पनीको सेयर मूल्य लगातार तेस्रो दिन १० प्रतिशतले वृद्धि भएको छ। आइतबार नेप्से ९.९९ अंकले ओरालो लाग्दा विशाल बजारको सेयर भाउ ५४४.५० रुपैयाँ बढेर प्रति कित्ता ५९८९.५० पुगेको छ।

कम्पनीको आइतबारको सेयर मूल्य तीन वर्षयताकै सर्वाधिक हो। भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि सर्किट लागेको कम्पनीको १४ हजार ६८८ कित्ता सेयर किनबेच भयो। पछिल्लो तीन दिन कारोबार दिनमा कम्पनीको सेयर मूल्यमा नाटकीय हिसाबले उलटफेर देखिएको छ।

सोमबार प्रति कित्ता ४ हजार १७५ रुपैयाँ रहेको कम्पनीको सेयर भाउ चार दिनमा १ हजार ८०० रुपैयाँ भन्दा धेरै बढेको छ। कम्पनीको पुँजी बढ्दा बजार भाउ त्यसविपरीत उकालो लागिरहेको छ।

विशाल बजारको मंगलबार ३ करोड ९६ लाख ८ हजार ६०० कित्ता सेयर नेप्सेमा सूचीकृत भयो। कम्पनीको ८.४ रोपनी जग्गा सरकारको नाममा आएपछि त्यसको भ्यालुयसन गराएर कम्पनीको सेयर सूचीकरण भएको हो।

कम्पनीको बजार पुँजीकरण २ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ। सेयर संख्या थपिएपछि कम्पनीले नै नेप्से इन्डेक्स हल्लाइरहेको छ। बजारको सामान्य सिद्धान्त हो- पुँजी बढ्दा कम्पनीको प्रतिफल क्षमता घट्छ। लाभांश बढाउन त्यसै अनुसारको बिजनेस बढाउनु पर्छ।

तर, विशाल बजार कम्पनीमा त्यसको उल्टो नतिजा देखिएको छ। कम्पनीको प्रतिफल अनिश्चित छ, वित्तीय विवरणकै अत्तोपत्तो छैन। संस्थागत सुशासन छैन। कम्पनीले के गरिरहेको छ भन्ने जानकारी लगानीकर्तालाई छैन।

कम्पनीको वेभसाइट अनुसार व्यवस्थापनमा को छ भन्ने पनि छैन। २४ कर्मचारीमा ८ जना सहयोगी छन्। अरु पनि तल्लो तहकै हुन्। व्यवसाय हेर्ने एकजना पनि देखिंदैनन्। तैपनि कम्पनीले नेप्से सूचकलाई नै हल्लाइरहेको छ।

थप सेयर सूचीकृतसँगै कम्पनीमा सरकारको ९८.७५ प्रतिशत स्वामित्व छ। तर, कारोबार हुने पब्लिक सेयर संख्या १.०४ प्रतिशत मात्रै छ। अहिले ४ लाख १८ हजार ९ सय ६७ कित्ता सेयर मात्रै बजारमा कारोबार भइरहेको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७६ ले संगठित संस्थाले चुक्ता पुँजीको कम्तिमा १० प्रतिशत आइपीओ निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ। तर, सूचीकृत भइसकेका कम्पनीको सेयर स्वामित्व परिवर्तनका विषयमा भने केही कानूनी व्यवस्था छैन।

त्यस्ता कम्पनीहरुले थप सार्वजनिक निष्कासन (एफपीओ) वा सेयर बिक्रीमार्फत पब्लिकको हिस्सा बढाउन सक्छन्।

विशाल बजार कम्पनीमा सरकारको सेयर स्वामित्व बढेपछि अहिले एफपीओको हल्ला चलाएर सेयर मूल्य दिन दिनै बढाइएको हो।

कम्पनीकी सञ्चालक राधा पोखरेलले सरकारको स्वामित्व बढेपछि पब्लिकको हिस्सा बढाउन एफपीओ जारी गर्ने हल्ला चलाएर सेयर मूल्य बढाउने काम भइरहेको बताइन्। तर, कम्पनीले सेयर बिक्री वा एफपीओ निष्कासनका विषयमा कुनै निर्णय गरेको छैन।

‘सर्वोच्च अदालतले नै जग्गाको मूल्यांकन अनुसार सरकारका नाममा सेयर लागत कायम गर्न आदेश दिएपछि त्यस बराबर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ,’ सञ्चालक पोखरेलले बिजमाण्डूसँग भनिन्, ‘अहिले त्यही सेयर सूचीकरणपछि एफपीओको हल्ला चलाइएको छ। सञ्चालक समितिले यसमा कुनै निर्णय गरेको छैन। हल्ला मात्रै हो।’

हल्ला कसले चलाएका हुन् त? यसको जवाफ खोज्नुपर्ने निकाय नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेप्से हुन्। तर उनीहरुले अस्वाभाविक मूल्य वृद्धिमा ध्यानै दिएका छैनन्।

वित्तीय सुशासनका हिसाबले विशाल बजार तन्नम कम्पनी हो। कम्पनीले २०७४/७५ यता वित्तीय विवरण सार्वजनिक गरेको छैन। वित्तीय विवरण नै तयार नगरेपछि लेखापरीक्षण र साधारण सभा तथा लाभांशको कुरै भएन।

बजारमा थोरै सेयर संख्या कम भएका कम्पनीको मूल्य बढाउन चलखेल हुने गरेको छ। ‘हाम्रो सेयर बजार इन्पर्फेक्ट परिस्थितिमा छ। नियामकीय निकायको सुपरिवेक्षण र नियमन कमजोर छ,’ नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘इन्साइडर ट्रेडिङ र चलखेल हुने गरेको कम्पनीको वित्तीय आधार र सेयर मूल्यले नै देखाउँछ। जसले लाभांश नै दिंदैन त्यसकै मूल्य कसरी निरन्तर बढिरहन्छ? यसमा सेबोन र नेप्सेको पनि कमजोरी छ।’