काठमाडौं। देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका प्रबन्ध निर्देशक दीलिप अग्रवाल विश्वकै धनाढ्य इलन मस्कको सेटलाइट इन्टरनेट कम्पनी स्टारलिंकलाई नेपालमा भित्र्याउन लबिइङमा लागेका छन्।
अग्रवालले आफैं स्टारलिंकको पक्षमा वातावरण बनाउन लबिइङ गरिरहेको बताएका छन्। विश्वकै धनी मस्कको कम्पनी वर्ल्डलिंकका लागि ठूलो चुनौती हुने भएपनि अग्रवालले स्टारलिंकलाई नेपालमा स्वागत गर्न आफू आतुर रहेको बताए।
वर्ल्डलिंकले फिनल्यान्डको सरकारी स्वामित्व रहेको फिनफन्डबाट १ करोड युरो विदेशी लगानी भित्र्याउन सम्झौता गरेकै दिन अग्रवालले प्रविधिलाई छेक्न नसकिने उल्लेख गर्दै नेपालका लागि स्टारलिंकजस्तो कम्पनीको आवश्यकतामा जोड दिए।
‘स्टारलिंक आयो भने वर्ल्डलिंक त निकै खुसी हुन्छ। विगत दुई वर्षदेखि म आफैं स्टारलिंक नेपाल भित्रिनुपर्छ भनेर लबिइङ गरिरहेको मान्छे हुँ। नेपालजस्तो भूबनोट भएको देशका सबै क्षेत्रमा वर्ल्डलिंकजस्ता संस्थाले इन्टरनेट पुर्याउन सक्दैनन्। केही हप्ताअघि म फोक्सुन्डो पुगेको थिएँ। त्यस्ता विकट क्षेत्रहरुमा फाइबर इन्टरनेट पुर्याउन निकै ठूलो लगानी चाहिन्छ,’ अग्रवालले भने, ‘त्यसैले नेपालमा स्टारलिंकको आगमन अपरिहार्य छ। विकट ठाउँमा बस्ती पातलो हुने भएकाले ठूलो लगानी गर्न निजी क्षेत्रलाई रिटर्नका हिसाबले सम्भाव्य नहुने भएकाले पनि स्टारलिंकजस्तो कम्पनी नेपाल आउनुपर्छ।’
ग्रामीण भेगमा फाइबर इन्टरनेट लगानी र स्रोतका हिसाबले निकै महँगो पर्ने भएकाले पनि सेटलाइट इन्टरनेट नेपालका लागि उपयुक्त हुने उनको भनाइ छ।
‘जहाँ टावर हाल्न सक्दैनौं त्यो ठाउँमा स्टारलिंकले राम्रो, भरपर्दो सेवा दिन सक्छ। वर्ल्डलिंकको उद्देश्य नै राम्रो, भरपर्दो इन्टरनेट सेवा दिने हो। त्यो सेवा स्टारलिंकले दिन सक्छ भने धेरै राम्रो, वर्ल्डलिंकले दिँदा पनि राम्रो। हामी स्टारलिंकसँग डराउँदैनौं। हामी स्टारलिंकलाई स्वागत गर्न चाहन्छौं,’ अग्रवालले भने।
स्टारलिंकले ग्रामीण क्षेत्रको इन्टरनेट कनेक्टिभिटीका लागि नयाँ आयाम ल्याउन सक्ने भन्दै सरकारले त्यो कम्पनी सक्दो चाँडो भित्र्याउनका लागि सहजीकरण गर्नुपर्ने उनको माग छ।
नेपालमा आफ्नो सेवा भित्र्याउन हरसम्भव बल लगाइरहेको स्टारलिंकले सेटलाइट इन्टरनेटबारेको भ्रम चिर्न कात्तिक ९ गते प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुसामु ‘डेमो’ प्रस्तुत गरेको थियो। स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एण्ड मार्केटिङ एक्टिभेसन निर्देशक रेबिका स्लिक हन्टरसहितको प्राविधिक टोली ‘डेमो’ प्रस्तुत गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो। टोलीले डेमोसहित आवश्यक विवरण ‘सेयर’ गरेको थियो।
प्रधानमन्त्री ओलीले ६ दिनअघि मात्रै मस्कसँग १५ मिनेट भर्चुअल संवाद गरेका थिए। नेपालको विद्यमान दूरसञ्चार कानुनअनुसार कुनै पनि विदेशी कम्पनीले दूरसञ्चार क्षेत्रमा लगानी गर्दा अधिकतम ८० प्रतिशत मात्रै सेयर हिस्सा राख्न पाउँछ।
स्थानीय साझेदारलाई २० प्रतिशत अनिवार्य गरिएको छ। तर, स्टारलिंकले शतप्रतिशत आफ्नो स्वामित्व भएमात्रै नेपाल भित्रिने भन्दै कानूनी परिमार्जनका लागि दबाब बढाइरहेको छ।
स्टारलिंकका प्रतिनिधिले प्रधानमन्त्री ओली र मन्त्रीहरुसामु नेपाल भौगोलिकरुपमा विकट भएकाले आफ्नो डिभाइसमार्फत ग्रामीण क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन सकिने बताउँदै आएका छन्।
उनीहरुले इन्टरनेट सेवाका लागि आफूहरुले छुट्टै सेटलाइट नराख्ने र डिभाइसबाट काम चलाउन सकिने भन्दै भ्रममा नपर्न आग्रह गर्दै आएका छन्। ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी, अस्पताल, विद्यालय र सरकारी कार्यालयमा आफ्नो सेवा उपयोगी बन्न सक्ने भन्दै स्टारलिंकका प्राविधिकले ‘स्कोप’ प्रस्तुत गरेका थिए।
तेस्रो अपरेटर बन्न वर्ल्डलिंक तयार
सरकार तेस्रो मोबाइल अपरेटर ल्याउने तयारी गरिरहँदा वर्ल्डलिंक पनि मोबाइल सेवा दिन तयार देखिएको छ। सरकारको चाहनामा तेस्रो टेलिकम अपरेटरको लाइसेन्स दिनेगरी प्रतिवेदन बनाउन नेपाल दूरसञ्चार प्राधिकरणबाट गठित अध्ययन समितिले तीव्र तयारी गरिरहेको छ।
प्राधिकरणका निर्देशक अम्बर स्थापितको संयोजकत्वमा गठित समितिले आधा दर्जन विषयलाई समेटेर टीओआर बनाएर आवश्यक विषय गहन ढंगले अध्ययन गरिरहेको छ।
सोही सन्दर्भका वर्ल्डलिंकका प्रबन्ध निर्देशक अग्रवालले आफूहरु तेस्रो टेलिकम अपरेटरका रुपमा आउन तयार रहेको बताएका हुन्। टेलिकम चलाउन आवश्यक स्रोत र सीप आफूहरुसँग रहेको भन्दै वर्ल्डलिंक तेस्रो अपरेटरको रेसमा लाग्ने उनको भनाइ छ।
‘पक्कै पनि हामी पनि मोबाइल सेवा दिन तयार छौं। रेडि छौं। पाउँछौं पाउँदैनौं त्यो त हाम्रो हातमा छैन,’ अग्रवालले भने।