नक्कली कागजपत्रको सहारामा बैंकबाट २ अर्ब ३० करोड ऋण, चौलागाईंसहित ४ जनाविरुद्ध मुद्दा

बिजमाण्डू
२०८१ मंसिर २ गते १३:५१ | Nov 17, 2024
नक्कली कागजपत्रको सहारामा बैंकबाट २ अर्ब ३० करोड ऋण, चौलागाईंसहित ४ जनाविरुद्ध मुद्दा


काठमाडौं। देउराली बहुउद्देश्यीय सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंले नक्कली कागजपत्र बनाएर तत्कालीन सेञ्चुरी कमर्सियल बैंकबाट २ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको देखिएको छ।

Tata
GBIME
NLIC

जिल्ला प्रहरी कार्यालय ललितपुरको अनुसन्धानमा चार जनाको नाममा किर्ते कागज बनाएर बैंकबाट २ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको देखिएको हो।

सरकारी वकिल कार्यालय ललितपुरले सहकारीका सञ्चालक चौलागाईं, उनकी पत्नी पूजा खत्री, मनोज भण्डारी र राजेन्द्र खत्रीलाई प्रतिवादी बनाएर लिखत कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। चौलागाईंले बैंकमा बुझाएको फर्जी कागजलाई लिएर प्रहरीले अनुसन्धान गरेको थियो।

चौलागाईंबाहेक अन्य तीन जना फरार छन्। चौलागाईं भने सहकारी ठगीमा नख्खु कारागारमा छन्।

वास्तविक कारोबार रकमभन्दा बढी कारोबार भएको भनी बैंकमा पेस गरेको पूजा ट्रेडिङ एन्ड मार्केटिङ प्रालि, पूजा मार्केटिङ र थ्री ब्रदर्स मार्केटिङ प्रालिको नाममा कर चुक्ता प्रमाणपत्र नै नक्कली बनाएको अनुसन्धानबाट देखिएको छ।

कर चुक्ता प्रमाणपत्र समेतका कागजात देखाएर धितोले खाम्नेभन्दा अत्यधिक रकम गैरकानूनीरुपमा चौलागाईंसमेत सञ्चालक रहेको पूजा ग्रुप अन्तर्गतका कम्पनीहरूमा गएको देखिएको हो।

चौलागाईं समेतका व्यक्तिहरूले आपराधिक मनसायका साथ नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिकाविपरीत कम्पनीहरूको नभएको कारोबारको स्टक तथा रिसेभल्स अभिलेख देखाइ गलत वित्तीय विवरणको कागजात बनाएको अभियोग छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले चौलागाईंसँगै जोडिएको तत्कालीन सेन्चुरी बैंक घोटाला प्रकरणमा अनुसन्धान गरिरहेको छ। यो प्रकरणमा २० जना समातिएर हाजिरी जमानीमा छन्।

सीआइबीले अनुसन्धान सकेर रायसहितको फाइल केही समयअघि नै विशेष सरकारी वकिल कार्यालयमा बुझाएकामा पुनः अनुसन्धान गर्न फिर्ता आएको छ।