सय रुपैयाँको रिचार्जकार्ड किन्दै हजारको नक्कली नोट दिँदै, तुल्सीपुरबाट एक गिरोह पक्राउ

बिजमाण्डू
२०८१ कात्तिक ३० गते १२:०७ | Nov 15, 2024
सय रुपैयाँको रिचार्जकार्ड किन्दै हजारको नक्कली नोट दिँदै, तुल्सीपुरबाट एक गिरोह पक्राउ


काठमाडौं। दाङको तुल्सीपुरबाट नक्कली नोटसहित ४ जना पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका-१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका वडा नम्बर ९ दोघरे बस्ने १९ वर्षीय धनबहादुर खत्री र शान्तिनगर गाउँपालिका-४ घर भई तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने १७ वर्षीय किशोर रहेका छन्।

उनीहरूले केही सातादेखि नक्कली नोट लिएर पसल-पसलमा गएर कारोबार गर्ने गरेको पाइएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट डिएसपी अनिल ठकुरीको कमान्डमा खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गर्न सफल भएको हो।

बरामद नक्कली नोट

‘पसलमा गएर १ सय रुपैयाँको रिचार्ज कार्ड किन्ने र एक हजारको नक्कली नोट दिएर बाँकी ९ सय रुपैयाँ लिने गरेको देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

उनीहरूले नोट कहाँबाट ल्याउने र अरुको संलग्नता बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।