
काठमाडौं। भारतमा नेपालको तुलनामा सस्तो भएपछि त्रिभुवन विमानस्थल हुँदै सुन तस्करी नभएको दाबी गरिएपनि सानो परिमाणमा भने जफत भइरहेको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ठूलो परिमाणमा सुन तस्करी हुन छोडेको तर सानो परिमाणमा भने जफत भइरहेको बताएको छ। कार्यालयका प्रवक्ता गगन विकले पछिल्लो समय दिनमा एक किलो हाराहारी सुन जफत भइरहेको जानकारी दिए।
‘अहिले ठूलो मात्रामा सुन तस्करी भएको देखिंदैन। सानो परिमाणमा भने सुन जफत भइरहेको छ,’ विकले भने।
पछिल्लो एक सातामा भन्सार कार्यालयले ६ किलो ५ सय ग्राम सुन बरामद गरेको छ। कात्तिक २० गते १ किलो ४३६ ग्राम, २१ गते ७९३ ग्राम, २२ गते १ किलो ३४ ग्राम, २३ गते ५५५ ग्राम, २५ गते १ किलो १७६ ग्राम र २६ गते ९९४ ग्राम सुन जफत भएको भन्सार कार्यालयको तथ्यांक छ।
तस्करहरुले वैदेशिक रोजगारीबाट फर्किने युवाहरुलाई केही रकमको प्रलोभनमा सुन पठाउने गरेको कार्यालयको बुझाइ छ।
‘अहिले दैनिक एक किलो हाराहारी सुन जफत भइरहेको छ। कतिपयले अन्जानमा तोकिएको परिमाणभन्दा बढी ल्याउने गरेका छन्। कतिपयले भने तस्करको भरियाका रुपमा ल्याउने गरेको देखिन्छ,’ प्रवक्ता विकले भने।
वैदेशिक रोजगारमा गएका नेपालीमध्ये पुरुषले सुनका गहना २५ ग्राम र महिलाले ५० ग्रामसम्म ल्याउन पाउँछन्। पुरुषले त्यसभन्दा बढी ५० ग्रामसम्म ल्याएको खण्डमा २५ ग्रामको कर तिर्नुपर्छ। त्यसभन्दा बढी ल्याएको खण्डमा जफत हुने व्यवस्था छ।
गहना बाहेक काँचो सुन ल्याउन पाइँदैन। काँचो सुन र तोकिएको परिमाणभन्दा बढीको गहना भन्सारले जफत गर्ने गरेको छ।केही दिनअघि तस्करीको साढे ५ किलो सुन बरामद भएबाहेक विमानस्थलमा केही महिनायता ठूलो परिमाणको सुन समातिएको छैन।