भारतबाट काठमाडौंमा निरन्तर भइरहेको छ सुन तस्करी, विमानस्थलमा जस्तै ट्वाइलेटको डस्टबिन प्रयोग

सविन ढकाल
२०८१ कात्तिक २९ गते ०६:४३ | Nov 14, 2024
भारतबाट काठमाडौंमा निरन्तर भइरहेको छ सुन तस्करी, विमानस्थलमा जस्तै ट्वाइलेटको डस्टबिन प्रयोग
फाइल तस्बिर।


काठमाडौं। कात्तिक २१ गते बिहान नेपालगंजबाट काठमाडौं आउँदै गरेको बस नागढुंगा चेक प्वाइन्टमा प्रहरी चेकिङमा पर्‍यो। लु.प्र.०३-००१ख ००९ नम्बरको बसमा अन्तिम सिटमा रहेका युवक प्रहरीको शंकाको घेरामा परे।

Tata
GBIME
NLIC

प्रहरीले उनको शरीर खानतलासीका साथै साथमा रहेको झोला खोल्यो। झोलामा कालो टेपले बेरेका दुई वटा टुक्रा थिए। खोलेर हेर्दा सुन देखियो।

प्रहरीले कैलाली टीकापुरका २३ वर्षीय एलिस ढकाललाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो। प्रारम्भिक अनुसन्धानबाट उनको साथबाट बरामद भएको ५०२ ग्राम सुन भारतबाट ल्याएको देखियो।

एलिसले नेपालगंज बसपार्कबाट काठमाडौंसम्म सुन ल्याउने जिम्मेवारी पाएका थिए। अर्थात् उनी भरिया हुन्। उनले केही रकमका लागि भरियाको काम गरे। भारतबाट नेपालगंजसम्म सुन ल्याउने अरु नै हुन्। त्यहाँसम्म कसले ल्यायो भन्ने एलिसलाई पनि थाहा छैन।

‘एलिसले बसपार्कको ट्वाइलेटमा राखेको डस्टबिनबाट सुन ल्याएको बयानमा खुल्छ। उसलाई भारतबाट त्यहाँसम्म ल्याउने मानिसको जानकारी भएको देखिएन,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

एलिसले सुन तस्करी गर्ने गिरोहसँग ह्वाट्सएपमा कुराकानी गरेका थिए। कलंकी पुगेपछि पुनः ह्वाट्सएपमा नै आउने जानकारीका आधारमा उनी सुन छोड्ने तयारीमा थिए।

उनलाई काठमाडौं पुगेपछि सार्वजनिक ट्वाइलेटको डस्टबिन सुन राख्ने भनिएको थियो। तर, कहाँको ट्वाइलेट भन्ने खुलाइएको थिएन। काम फत्ते नहुँदै उनी प्रहरीको फन्दामा परे।

यसअघि त्रिभुवन विमानस्थलबाट सुन तस्करी गर्दा पनि ट्वाइलेटको डस्टबिन प्रयोग गर्ने गरेको देखिएको थियो। भारतबाट स्थल मार्ग हुँदै काठमाडौंमा सुन तस्करी गर्दा ट्वाइलेटको डस्टबिन प्रयोग गर्नुलाई भने नौलो मानिएको छ।

+++

एलिस पक्राउ परेको पाँच दिनपछि नागढुंगामै भारतीय नागरिक समातिए। उनी पनि अवैधरुपमा सुन ल्याएको आरोपमा समातिएका हुन्।

बुटवलबाट कात्तिक २६ गते बिहान पौने ८ बजे काठमाडौं आउँदै गरेको लु २ ख ६८५८ बसमा यात्रा गरिरहेका युवकमाथि प्रहरीलाई शंका लाग्यो।

फाइल तस्बिर।

प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले जाँच गर्दा कार्बन कागजबाहिर टेपले बेरेर गुप्ताङ्गमा राखेको अवस्थामा सुन फेला पर्‍यो। भारतका २७ वर्षीय कनैया लालको साथबाट लुकाएको अवस्थामा ३५६ ग्राम सुन बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

कनैयाको पनि दिल्लीमा भएका तस्करसँग ह्वाट्सएपमा सम्पर्क भएको देखिएको छ। दिल्लीमा बसेर सुन पठाउने व्यक्तिसँग चिनजान गरेको तर बुटवलसम्म भने अर्कै मानिसले सुन ल्याएर दिएको बयान उनले प्रहरीलाई दिएका छन्।

उनलाई कलंकीमा सुन लिन अर्कै मानिस आउने भनिएको थियो। तर उनी कलंकी नपुग्दै पक्राउ परे। ‘उसले पनि सुन दिल्लीबाट आएको जानकारी दिएको छ। थप अनुसन्धान चलिरहेको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी निरीक्षकले सुनाए।

भारतबाट मौलायो सुन तस्करी

यसअघि नेपाललाई ट्रान्जिट बनाएर सुन भारतमा तस्करी हुने गरेको थियो। नेपालमा भन्दा भारतमा सुनको मूल्य र माग बढी भएकाले चीन, दुबई, थाइल्यान्ड लगायत स्थानबाट त्रिभुवन विमानस्थल हुँदै तस्करी गरिने सुन भारत पुग्ने गरेको थियो।

५ महिनायता भने भारतबाट नेपालमा सुन तस्करी भइरहेको छ। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते बजेटमार्फत सुनको भन्सार दर बढाएपछि भारतबाट तस्करी हुन थालेको हो।

बजेटको व्यवस्थापछि भारतमा भन्दा नेपालमा सुनको भाउ प्रति तोला करिब १५ हजार रुपैयाँ महँगो हुन पुगेको छ। भारतमा सुनको भाउ कम भएका कारण सीमा क्षेत्रका मानिस त सुन किन्न त्यतै जाने गरेका छन् नै, तस्करी पनि मौलाएको छ। व्यवसायीहरूले नै भन्सार दर नघटाए सनु तस्करी नरोकिने बताएर भारतबाट अवैध आयात भइरहेको स्वीकार गरेका छन्। उनीहरूको स्वीकारोक्तिलाई बैंकहरूले आयात गर्ने सुनको परिमाण घट्नुले पनि पुष्टि गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीले तस्करी मौलाएको सूचनाका आधारमा सुरक्षा रणनीति बनाएको बताउँछन्। ‘प्रहरीले तस्करीको ट्रेन र प्याटर्नलाई हेरिरहेको छ। हामीले सुरक्षा तैनाथी बढाएका छौं,’ डीआइजी कार्कीले भने।

उनले तैनाथी बढाएको भनेपनि सुन तस्करहरू समातिएका छैनन्। सानो परिमाणमा ओसार्ने भरिया मात्र प्रहरीको फन्दामा परेका छन्।