काठमाडौं। त्रिभुवन विमानस्थल कात्तिक २३ गतेबाट दैनिक १० घण्टा बन्द हुने भएपछि वायुसेवा प्रदायक कम्पनीहरु आन्तरिक उडान ३० प्रतिशतसम्म कटौती गर्न तयार भएका छन्।
सुगम गन्तव्यमा हवाई सेवा दिंदै आएका बुद्ध, यती र श्री एयरलाइन्स ३० प्रतिशतसम्म उडान कटौतीका लागि तयार भएका हुन्।
बुद्ध एयरले उडान कटौतीसहितको तालिका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पठाएको छ। कम्पनीका कर्मचारीहरुले २३ गतेबाट लागू हुने गरी दैनिक ७० भन्दा कम उडान गर्ने तालिका प्रस्ताव गरेको जानकारी दिए।
‘त्रिभुवन विमानस्थल ट्याक्सी वे विस्तारका लागि १० घण्टा बन्द हुने भएपछि हामीले उडान संख्या कटौतीसँगै यात्रु लक्षित निर्देशिका सार्वजनिक गरेका छौं,’ कम्पनीका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले, ‘ट्याक्सी वे विस्तारपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने विश्वास छ।’
बुद्ध एयरले यात्रुहरुका लागि ६ बुँदे निर्देशिका जारी गरेको छ। ‘यात्रुहरुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिर्पोटिङका लागि अनुरोध छ। उडान समयभन्दा १५ मिनेटअगावै चेकिङ काउण्टर बन्द हुनेछ। खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना हुन्छ। यस्तो भएमा सिट उपलब्धताका आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिनेछ,’ बुद्ध एयरले भनेको छ, ‘उडान रद्द भएका टिकटलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ। अनलाइन टिकेटिङको हकमा त्यहिंबाट रिफण्ड हुनेछ। यसका लागि ३ देखि ४ दिन लाग्नेछ।’
ट्राभल एजेन्सीबाट टिकट लिएकाहरुले त्यहीं सम्पर्क गर्नुपर्नेछ। एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले सेड्युल’ उपलब्ध नगराइने कम्पनीले जनाएको छ।
यो कम्पनीले अहिले १७ वटा जहाजमार्फत दैनिक करिब ८० वटा उडान गर्दै आएको छ।
यती एयरलाइन्सले दैनिक २५ वटा उडान गर्ने तयारी गरेको छ। कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले उडान संख्या घटाउन गृहकार्य सुरु गरिसकेको बताए।
‘हामी पहिलो २ दिन २५-३० उडान गरेर हेर्नेछौं। त्यसपछि हामी आवश्यकता अनुसार उडान तालिका लागू गर्नेछौं,’ उनले भने, ‘टीआईएको ट्याक्सी वे विस्तारका लागि अहिले केही समयका लागि उडान प्रभावित हुने भएपनि दीर्घकालमा सहज हुन्छ।’
यती एयरलाइन्सले हाल ७ वटा एटLआर-७२ जहाजमार्फत दैनिक ४० वटा उडान गर्दै आएको छ।
श्री एयरलाइन्सले पनि उडान कटौतीको प्रक्रियाअगाडि बढाइसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए।
‘हामीले उडान संख्या कटौतीका लागि क्यानमा पत्राचार गरिसकेका छौं। हामी क्यानले प्रस्ताव गरेको स्लट अनुसार उडान गर्नेछौं,’ उनले भने। श्री एयरलाइन्सले हाल दैनिक २५ वटा उडान गर्दै आएको छ।
क्यानले अन्तर्राष्ट्रियतर्फ ३० प्रतिशत उडान कटौती गरिसकेको छ। दिनमा ४ वटा उडान गर्ने कम्पनीले ट्याक्सी वे विस्तार अवधिभर २ भन्दा उडान गर्न पाउने छैनन्। त्यही कारण अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीहरुले काठमाडौंको विकल्पमा भैरहवामा उडान गर्न लागेका छन्।
थाइ एयर एसियाले कात्तिक १८ बाट भैरहवामा उडान थालिसकेको छ भने फ्लाइ दुबई र जजिरा एयरले कात्तिक २४ देखि उडान गर्दै छन्। कतार एयरवेजले पनि भैरहवामा उडानका लागि अध्ययन सुरु गरेको छ।