
काठमाडौं। लेमिनार टायल्स्को उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
आइएसओ मापदण्डहरूको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरूको उत्पादनको प्रमाणीकरण हासिल गरेको कम्पनीले जनाएको छ।
लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आइएसओ ९००१:२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि आइएसओ १४००१:२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि आइएसओ ४५००१:२०१८ गरी तीनवटा विधाहरूमा प्रमाणपत्र पाएको हो।
बलियो र चुस्त व्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तर्राष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरूलाई अंगिकार गरी नेपाललाई विश्वव्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उद्देश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको कम्पनीको दाबी छ।
अन्तर्राष्ट्रिय मान्यता बोकेको आइएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय व्यवस्थापन, वातावरणीय व्यवस्थापन र व्यावसायिक स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुनर्अनुमोदन गरेको कम्पनीले जनाएको छ।
‘यस उपलब्धि हाम्रो कम्पनीका लागि एक महत्त्वपूर्ण कोशेढुंगा सावित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरूमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, ‘गुणस्तरीय वस्तुहरू उत्पादन र वितरणलाई सुनिश्चित गर्नका लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र व्यवस्थापन प्रक्रियाहरूलाई थप मजबुत बनाउँदै लैजाने छौँ।’
उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए।