काठमाडौं। चार वर्षअघिको डलर भाउ राखेर रद्द भएको नेपाल टेलिकमको बिलिङ प्रणाली ‘रिभ्यु’का लागि १६ जनाको जम्बो टोली गठन भएको छ।
बिलिङको ठेक्का तत्काल अगाडि नबढाउने र चिनियाँ कम्पनी एसिया इन्फोलाई निरन्तरता दिने उद्देश्यसहित रिभ्युका लागि जम्बो टोली गठन गरिएको हो। समितिको नेतृत्वमा इन्जिनियर शालिकराम सुवेदी छन्। कुनै पनि ठेक्का रिभ्युका लागि सानो र छरितो टिम बनाउने गरिन्छ।
तर, टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले नियत राखेर नै जम्बो टोली बनाएको स्रोतले बतायो। ‘पहिला चार वर्षअघिको डलर भाउ राखेर ठेक्का निकाल्न लगाइएको थियो। रद्द गर्ने उद्देश्यले डलरको भाउ पुरानै अर्थात ११८ रुपैयाँ राखेर ठेक्का निकाल्ने काम भयो। त्यो बेलामा डलरको भाउ १ सय ३२ रुपैयाँ थियो,’ टेलिकमका एक कर्मचारीले भने, ‘अहिले पनि टाइम बाई गर्न जम्बो टोली गठन गरिएको छ।’
यो जम्बो टोलीले रिभ्यु गर्नका लागि कम्तीमा पनि ६ महिनाभन्दा बढी समय लगाउने ती कर्मचारीले बताए। समितिको संयोजक बनाइएका सुवेदी पहाडीसँगै टेलिकमको प्रबन्ध निर्देशक बन्ने रेसमा थिए।
मूल्यांकन समितिमा सन्तोष श्रेष्ठ, उमा शंकर, शालिग्राम पाण्डे, किरित गिरी, अमित सत्याल, विवेकानन्द दाहाल, अनुप भट्टराई, बन्टी श्रेष्ठ, रोशनभक्त श्रेष्ठ, प्रयाग खड्का, उमेश आचार्य लगायत छन्।
ती कर्मचारीका अनुसार धेरै जना भएपछि सबैको राय लिएर छलफल गर्दा समय लाग्छ। त्यसमा पनि एकमत आउने अवस्था कम हुन्छ। यत्रो जम्बो टोली बनाउनुको चाहना नयाँ बिलिङ खरिद प्रक्रियालाई लम्ब्याउनु नै भएको ती कर्मचारीले बताए।
टेलिकमले चाहेको भए ठेक्का सूचना संशोधन गर्दै डलर भाउसहितका प्राविधिक विषय समयसापेक्ष बनाउन सक्थ्यो। जसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत सचेत गराएको थियो।
पुरानो बिलिङका कारण पटकपटक सेवा अवरुद्ध हुने समस्या भोगिरहेको टेलिकमले छिटो नयाँ बिलिङमा जान ठेक्कालाई फाष्ट ट्रयाकमा लैजानुपर्नेमा उल्टै घुमाउने काम गरिरहेको छ। पुरानो बिलिङ प्रणालीका कारण टेलिकमले झण्डै तीन अर्ब रुपैयाँ गुमाइरहेको छ। त्यसबाहेक सेवा गुणस्तरहीन समेत भइरहेको छ।
‘आफ्नो फाइदाका लागि उच्च व्यवस्थापनबाट टेलिकमलाई डुबाउने नियत राखेर काम भइरहेको छ,’ टेलिकम स्रोतले भन्यो, ‘एउटा राम्रो प्रतिफल दिने कम्पनी बिगार्न खोज्नेलाई सरकारले पनि साथ दिइरहेको छ।’
स्रोतका अनुसार बिलिङ ठेक्काका नाममा भइरहेको टेलिकमको गतिविधिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नजिकबाट नियालिरहेको छ। ‘ठेक्का निकाल्दा डलर भाउ पुरानै राखिनु र अहिले जम्बो टोली बनाउनुले टेलिकम व्यवस्थापनमाथि प्रश्न खडा भएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘निश्चित उद्देश्य राखेर नै यस्ता गतिविधि भइरहेका छन् भन्ने देखिन्छ।’
अख्तियारको अनुसन्धान अन्तिम चरणमा
अख्तियारले पुरानै बिलिङ प्रणालीलाई निरन्तरता दिएर झण्डै ३० करोड रुपैयाँ भ्रष्टाचार भएको आंशकामा थालेको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलसहित झण्डै तीन दर्जन उच्च पदस्थ कर्मचारीसँग अख्तियारले बयान लिइसकेको छ। अख्तियार स्रोतका अनुसार बिलिङमा भएको भ्रष्टाचारको मुद्दा एक महिनाभित्र अदालत जान्छ। ‘अहिलेका उच्च व्यवस्थापनसहित ३० जनासँग बयान भइसकेको छ,’ स्रोतले भन्यो।
बिलिङमा एकाधिकार कायम गरिरहेको एसिया इन्फोले भने पछिल्लो ठेक्का प्रक्रियामा भाग नै लिएन। अमेरिकी कम्पनी सीएसजी मात्रै टेन्डरमा सामेल भएको थियो। टेलिकमले बिलिङ प्रणाली खरिदका लागि गत चैत १८ गते पहिलोपटक ठेक्काको सूचना निकालेको थियो। तर, बिलिङ प्रणाली किन्न खुलाएको ठेक्काको म्याद पटकपटक गरी चार पटक थपेपछि मात्रै आवेदन परेको थियो।