
काठमाडौं। १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणका लागि बल्ल आवेदन परेको छ। चौथो पटक थपिएको म्यादमा ७ वटा आवेदन परेको हो।
जगदुग्ला हाइड्रोपावर कम्पनी लिमिटेडले गत जेठ २० गते ‘ग्लोबल टेण्डर’ आह्वान गरेको थियो। तर, एउटै कम्पनीले चासो नदिएपछि कम्पनीले चार पटकसम्म म्याद थपिएको थियो।
चौथो पटक थपिएको म्याद असोज १८ गतेसम्म रहेकामा यसपालि ७ वटा आवेदन परेको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सञ्जय सापकोटाले जानकारी दिए।
शर्मा एन्ड कन्ट्रक्सन प्रालि र चीनको झोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी, रामेछाप शेर्पा कन्ट्रक्सन, सोमा इन्टरप्राइजेज लिमिटेड र अविर इन्फ्रास्ट्रक्चर प्रालि, हाइ हिमालयन हाइड्रो कन्ट्रक्सन र एज कन्ट्रक्सन एन्ड ट्रेडिङ, एएनके कन्ट्रक्सन र झ्याङछी कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, रियल विकास निगम, पटेल इन्जिनियरिङ लिमिटेड र लामा कन्ट्रक्सन तथा फेवा कन्स्ट्रक्सन र ओम इन्फ्रा लिमिटेडको जेभीले आवेदन दिएका छन्।
यस्तै सिभिल र हाइड्रोमेकानिकलतर्फको कामका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनले पनि आवेदन दिएको छ। सीइओ सापकोटाले आवेदन दिएका कम्पनीको अहिले मूल्यांकन गर्ने काम भइरहेको बताए। ‘आवेदन दिएका कम्पनीको मूल्यांकन गर्न सुरु गरेका छौं। यो काम गर्न कम्तिमा पनि एक महिना जति लाग्छ,’ उनले भने।
२३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपीसी) मोडेलमा निर्माण गर्न लागिएको हो। यो मोडलमा निर्माण कम्पनीले आयोजनाको डिजाइन गर्छ।
डोल्पाको मुडकेचुला र जगदुल्ला गाउँपालिकामा पर्ने आयोजना निर्माणका लागि यसअघि नै वित्तीय व्यवस्थापन भइसकेको छ। करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाउने भनिएको छ।