
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष छनोट प्रक्रियाका लागि सर्टलिस्टमा परेका तीन जनालाई गत शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि डाकिएको थियो।
सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ता कार्यालयको रायपछि अर्थ मन्त्रालयले अन्तर्वार्तामा गयल भएका तीन जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि बोलाएको थियो।
रोकिएको प्रक्रिया एक्कासि सुरु भएको हुँदा सरकारले यसपाली बोर्ड अध्यक्ष नियुक्त गर्छ भन्ने पक्का थियो। मौका परीक्षा पाएकाहरु पनि अन्तर्वार्तामा जाने पक्का थियो।
तर, शुक्रबार अध्यक्ष छनोट समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी ‘अचानक’ बिरामी परिदिए। प्रधानमन्त्री केपी ओली जसरी पनि अध्यक्ष नियुक्त गर्ने पक्षमा थिए। माओवादीसँगको अघिल्लो सत्ता गठबन्धन तोडिनुको केही कारणमध्ये ओलीले भनेका पात्रलाई बोर्ड अध्यक्ष बनाउनु पर्छ भनेर तत्कालिन अर्थमन्त्रीले तीन जनालाई अन्तर्वार्तामा गयल गराएका थिए।
अचम्म के भयो भने- यसपालि संयोजक नै बिरामी परिदिए। संयोजक उपस्थित नभएपछि अध्यक्ष छनोट प्रक्रिया अनिश्चित बनेको छ।
बिहीबारसम्म तन्दुरुस्त रहेका अधिकारी एक्कासि बिरामी कसरी भए? छनोट प्रक्रिया रोक्नकै लागि उनले बिरामीको बहाना त बनाएका थिएनन्?
सत्ता गठबन्धनसम्म टुक्रिएको सेबोन अध्यक्ष नियुक्तिलाई रोक्न सानोतिनो तागतले सक्ने अवस्था थिएन यसपालि। अनि कसरी यत्रो शक्ति पाए त संयोजक अधिकारीले?
प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार, प्रक्रिया अगाडि बढेपछि प्रतिपक्षी दल माओवादी केन्द्रले सेबोन अध्यक्ष नियुक्तिको चर्को विरोध गर्ने सूचना आयो।
सूचना पाएपछि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नियुक्ति प्रक्रिया केही पर सार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार आग्रह गरेका थिए।
‘बाढीपहिरोले ठूलो जनधनको क्षति भएका बेला अर्बौं चलखेल गरेर सेबोन अध्यक्ष नियुक्ति अगाडि बढाइएको भनेर विरोध गर्ने योजनामा माओवादी देखिएकाले तत्काललाई रोक्नुपर्छ भन्ने सुझाव दुवै जना सल्लाहकारले दिनुभयो,’ स्रोतले भन्यो, ‘त्यो सुझावपछि प्रक्रिया स्थगनको सूचना जारी गर्ने बारेमा पनि छलफल भएको थियो। तर, त्यसले नकारात्मक सन्देश जाने भएकाले केही विकल्पका बारेमा छलफल भएको थियो।’
त्यसपछि उपाध्यक्षलाई बिसञ्चो बनाउने प्लट तयार भएको स्रोतको दाबी छ।
डा. खतिवडा नेपथ्यबाट कसैले टिपाएको नामलाई अध्यक्ष नियुक्त गर्नु हुँदैन भन्नेमा प्रष्ट छन्। अर्थमन्त्रीमा डा. प्रकाशशरण महत हुँदा नै भनेका थिए- अर्थमन्त्रीको परीक्षा अध्यक्ष नियुक्तिमा देखिने छ।
खतिवडा केही नामहरु प्रति सकारात्मक थिएनन्। पारदर्शी हिसाबले मोलमोलाइ नगरी नियामकको गरिमा धान्ने खालको मान्छे अध्यक्ष बनाउनु पर्छ भन्नेमा खतिवडा थिए। त्यही भएर उनले महतलाई अध्यक्षसँग उनको योग्यता नापिने भन्दै सार्वजनिक भाषण नै गरेका थिए।
त्यसपछि माओवादीले समीकरण फेरेर एमालेसँग सहकार्य गर्यो, अर्थमन्त्री बने वर्षमान पुन। पुनका अनुसार, सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउन चर्को दबाब एमाले अध्यक्ष ओलीले दिएका थिए। आफूले हेरिरहेको विभागमा समेत हस्क्षेप भएको भन्दै उनले यो प्रक्रिया रोक्न चाहे। त्यसपछि तीन सदस्यीय समितिमा फरक मत आउने वातावरण उनैले तयार पारे भने ५ जनामध्ये तीन जनालाई अन्तर्वार्तामा नजाने वातावरण पनि उनैले बनाए।
यही मेसोमा माओवादीको सरकार ढल्यो, कांग्रेसको सहकार्यमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने। त्यतिन्जेलसम्म अन्तर्वार्तामा गएका सन्तोष नारायणले सर्वोच्चमा मुद्दा हालिसकेका थिए।
प्रक्रियामा अलमल भएकै बेला सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन अनुपस्थित तीन जनालाई मौका परीक्षाका लागि डाक्यो। उनीहरु परीक्षा दिन गए तर छनोट समितिका संयोजक नै उपस्थित भइदिएनन्।
स्रोतका अनुसार, पूर्वअर्थमन्त्री वर्षमान पुनले सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएमा संचारमाध्यममा आएर सरकारविरुद्ध बोल्ने तयारी गरेका थिए। पुनलाई अन्तर्वार्ता रोक्नेगरी पहिला नै संचारमाध्यममा बोल्न दबाब पनि आएको थियो। तर, उनले नियुक्ति प्रक्रिया अघि बढाएमा बाढीपहिरोमा बिचौलियाले बनाएको सरकारले अर्बौ चलखेल गरेर सेबोन अध्यक्ष नियुक्ति अघि बढाएको आरोप लगाउँदै बोल्ने बचन दिएका थिए।
यो सूचना बालुवाटारसम्म पुगेपछि प्रधानमन्त्रीका दुई जना सल्लाहकारले दिएको सुझावअनुसार सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया स्थगन भएको हो।
पुनले लगातार विचौलियाले भनेअनुसार सेबोन अध्यक्ष नियुक्ति नगरेका कारण माओवादीको सरकार ढलेको आरोप लगाउँदै आएका छन्।
उपाध्यक्षको तीन घण्टा
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारी डायरिया भएको भन्दै सिभिल हस्पिटल बिहान ७ बजे पुगेका थिए। उनी इमर्जेन्सीमा नगई एकजना चिकित्सकसँग परामर्श गरेका थिए। उनी हस्पिटलबाट बिहान १० बजे बाहिरिएका थिए।
तीन घण्टा बस्दा अधिकारी बिरामीजस्ता थिएनन्। ‘उहाँ बिरामीजस्तो देखिनुभएको थिएन। सामान्य चेकजाँचपछि उहाँ घर फर्किनुभएको हो,’ हस्पिटलका एक चिकित्सकले भने। उनको रगत जाँच गरिएको थियो। उनको प्लेटलेट्सको मात्रा सामान्य घटेको देखिएको थियो।
सम्भवतः आज पुन: अध्यक्ष नियुक्ति प्रक्रियाको सूचना जारी गरिने छ।