
काभ्रे । पनौती नगरपालिकाकै विकट क्षेत्र वडा नम्बर १२। रोशी/भूमिडाँडाको मुख्य बस्ती पारीबाट रोशी खोला पहिला झैं आफ्नै बहावमा बगिरहेको थियो बिहीबारसम्म। वारी खेतमा लहलह धान फलेको थियो। घरहरूमा पहिलेझैँ चहलपहल। शुक्रबारबाट परेको अविरल वर्षाले भने रोशी खोला भूमिडाँडाको बस्तीमै उर्लियो। कल्पना नै नगरेको पानीले धान फलेको खेत मात्रै बगाएन, सो भेगमा बस्ने अधिकांशको घर नै बगायो।
पनौती बजार देखिनै देख्न सकिन्छ रोशीको बाढीले मच्चाएको कहर। मल्पी, कलाँती र प्राचीन पनौती बस्तीसम्म रोशीले पारेको प्रभाव बिजमाण्डूले हिजो प्रकाशित गरेको थियो।
पढ्नुस : रोशीको बहावले तहसनहस भएको पनौतीको यो भेग, जहाँ पुगेको छैन राज्यको नजर



आज कलाँतीभन्दा जति माथि उक्लिँदै गइयो, विपदको दृश्य थप कहालीलाग्दो बन्दै गयो। नगरपालिकाको अन्तिम वडासम्म पुग्दा राजधानीकै नजिकको नगरपालिकामा राज्यविहीनताको महसुस हुन्छ।
पक्की होस् या कच्ची अधिकांश घर ढलेका छन्। तल्लो क्षेत्रमा जस्तै टिपर पुरिएका छन्। आज मात्रै केही स्वास्थ्य सामाग्री नगरको यो पुछारको भेगमा पुगेको छ। बगर बनेको बस्तीमा यस्तो कुनै घर छैन जहाँ बाढीले क्षति नपुर्याएको होस्। प्रहरी र जनप्रतिनिधि समेत पुगेका छैनन् यहाँ।
’८० वर्ष पुगियो। अहिलेसम्म यस्तो देखिएको थिएन। भर्खर लाखौं खर्चेर बनाएको घर पनि बगायो। पुरानो घर पनि भत्कियो,’ स्थानीय वृद्धले भने।
उनले २०३८ सालमा खोलामा बाढी देखेका थिए। २-४ घण्टामै त्यो बाढी थामिँदा। यस पटक नसोचेको भयो। बाढीले बस्ती नै लग्यो।

पनौती नगरपालिकाको वडा १२ मा करिब ५ हजार जनसंख्या छ। माथि डाँडासम्म बस्ती छ। यही वडाको थुप्रै बस्ती नै बाढी पहिरोको प्रभाव परेको हो। कति घर ढले, कति जनधनको क्षति भयो त्यो आकलन गर्न नसकिने छ।
शुक्रबार बिहानैदेखि सुरु भएको वर्षाले दिउँसोदेखि नै उग्र रूप लिँदै गएको थियो। रोशी खोलाको आवाजसँगै बहाव पनि बढ्दै गयो। रातिसम्म रोशीले कटान सुरु गर्यो। शनिबार त बस्ती बगर बन्ने गरी रोशी उर्लियो।
‘पारी थियो खोला। यहाँ खेत र घर। पछाडिबाट एक्कासी पानी आयो। यसरी आउँछ भनेर थाहा थिएन। हामी सबै जना भाग्यौं। बल्ल बल्ल ७-८ घरका एकै ठाउँमा पुगेर ज्यान जोगायौं। उज्यालोमा आफ्नै आँखा अघि घर ढलेको हो,’ स्थानीय महिलाले भनिन्।
उनको न घर बचेको छ न खेत। न सरकार न कुनै जनप्रतिनिधि नै उनीहरूको सोधखोजमा पुगेका छन्। भनिन्, ‘घर गयो। ज्यान जोगियो। अब केही आस छैन।’





वडा १२ का पूर्व वडा अध्यक्ष इश्वर जंगम रोशी/भूमिडाँडामा विपद् पर्दा बनेपामा थिए। यहाँको विपद् सुनेपछि उनी हिँडेरै यो भेगमा पुगे। अब उनी आफ्नो गाउँ फेरि पुरानै शैलीमा ब्युँतिन धेरै समय लाग्ने बताउँछन्।
‘बजार बस्दै थियो। अब यो पहिलाको अवस्थामा फर्किन गाह्रो छ। अब ३० वर्षभन्दा पछि पर्यौं। क्षतिको हिसाब बस्न लायक केही घर छैन। गोठमा चौपाया छैन। सबै नष्ट भएको छ,’ बिजमाण्डूको टोली विकट पनौतीको विपदस्थल पुग्दा उनले भने।
उनी पछिल्लो समय पनौतीमा खानी र क्रसर सञ्चालन हुँदा त्यसले विपद् निम्त्याउन ठूलो प्रभाव खेलेको बताउँछन्।



‘पहिला पहाड चर्किएर अस्तव्यस्त भयो। बस्तीलाई अप्ठ्यारो नहुनेगरि व्यवसाय गर्नुपर्छ। तर जहाँ खानी सञ्चालन भए त्यहाँ ग्राभेल थुपारेर राखेको छ। खोला पहिला १०-१५ मिटर गहिरो थियो। अहिले बाटोको लेभलसम्म आयो। पनौती बजारसम्म यही संरचना छ। जसले बाढीले ठूलो क्षति गरेको छ,’ उनले भने।
यो गाउँसम्म पुग्न अहिले कुनै सडक सग्लो छैन। बिजमाण्डूको टोली पनि भीर चढ्दै, उकाली ओरालीमा रुख समाउँदै यहाँ सम्म पुगेको हो।
‘प्रहरी पनि छैन। हिजो माथि बस्तीमा केहीलाई हेलिकप्टरले उद्धार गरेको छ रे। यहाँ त केही छैन,’ स्थानीयले भने।

++
पनौती बजारबाट एक घण्टामै संघीय राजधानी आइपुग्न सकिन्छ। तर, विपद् गएको ४ दिन बित्दासम्म बजार वरिपरिकै ध्वस्त संरचना क्षेत्रमा राज्य पुगेको छैन। रोशी/भूमिडाँडामा पुग्ने कुरै भएन। अझ आज मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त देख्ने सम्भावना नै न्यून।
‘पूर्व सूचना दिएर बाढी पहिरो जाँदैन, गएपछि क्षति पुर्याउँछ,’ आज विमानस्थल ओर्लिएपछि ओलीको बोलीले नै थाहा हुन्छ उनी बाढी पहिरोले पुर्याएको क्षतिबारे संवेदनशील छैनन्। विपदको बेला विदेशमा रहेका उनले सरकारले सक्ने काम गरेको बताइरहँदा यता रोशीबासी भने फेरि केही दिन पछि वर्षा हुनसक्ने खबरले थप आतंकित बनिरहेका थिए।




मौसमविदहरुले ठूलो विपद् आउने भन्दै गरेको संकेतलाई ओलीले ठाडै अपर्याप्त भने। त्यही संकेतलाई नै बुझ्न सक्ने भएको भए रोशीमा भएको क्षति कम गर्न सकिन्थ्यो कि?





