
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दुई दर्जनभन्दा बढी जलविद्युत आयोजनाबा बाढी पहिरोले क्षति पुर्याएपछि भारततर्फको निर्यात घटाएको छ।
प्राधिकरणले भारतमा दैनिक ६०० मेगावाटसम्म विद्युत निर्यात गर्दै आएकामा बाढी पहिरोले आयोजनामा क्षति पुर्याएपछि निर्यात २५०/३०० मेगावाटमा झारेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आन्तरिक खपत गर्न नपुगेको खण्डमा निर्यात बन्द गर्ने बताए।
‘आन्तरिक माग बढेमा निर्यात बन्द नै गर्छौं। खपत गरेर बचेमात्र निर्यात गर्ने हो। अहिले पनि २५०/३०० मेगावाट मात्र निर्यात गरिरहेका छौं,’ उनले भने। प्राधिकरणका अनुसार विभिन्न ११ आयोजनाको ६२४ मेगावाट विद्युत उत्पादन बन्द भएको छ। अरु १५ आयोजना निर्माणाधीन अवस्थाका हुन्।
घिसिङका अनुसार अप्पर तामाकोसी आयोजनाको उत्पादन बन्द भएको तीन दिन भएको छ। यो आयबोजनाको बाँधस्थलमा अवस्थित कन्ट्रोल रुममा पूर्णरुपमा क्षति पुगेको छ। ‘अप्पर तामाकोशीलाई रेफ्टिफिकेसन गर्न लामो समय लाग्ने अवस्था आएमा हिउँदको समयमा कही समस्या हुनसक्छ,’ उनले भने।
ऊर्जा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार जलविद्युत आयोजनामा हालसम्म २ अर्ब ४५ करोड रुपैयाँको क्षति भएको छ। ११ वटा आयोजनाको वित्तीय क्षति यकिन हुन सकेको छैन।
पुन: निर्माणमा सबैसँग समन्वय गर्ने मन्त्री खड्काको आश्वासन
ऊर्जामन्त्री दीपक खड्काले बाढीपहिरोले क्षति भएका आयोजना पुनर्निर्माणमा सबैसँग समन्वय गर्ने बताएका छन्। उनले अन्तर मन्त्रालय र सबै पक्षसँग छलफल गरेर निर्णय लिने बताए। ‘क्षतिको विषयमा हामी अर्थ मन्त्रालयका साथै बीमा कम्पनी र बीमा प्राधिकरणसँग समन्वय गरेर काम गर्छौं। चाँडोभन्दा चाँडो इन्स्योरेन्स रकम उपलब्ध गराउन हाम्रो पहल हुनेछ,’ मन्त्री खड्काले भने।
क्षति पुगेका २६ आयोजना
सि.नं. | आयोजनाको नाम | प्रवर्द्धकको नाम | जिल्ला | जडित विद्युत क्षमता (मे.वा.) | बाढी पूर्वको अवस्था | भौतिक क्षतिको विवरण | क्षतिको अनुमानित वित्तीय लागत |
१ | अपर तामाकोशी जलविद्युत आयोजना | अपर तामाकोशी हाइड्रोपावर लिमिटेड | दोलखा | ४५६ | संचालनमा रहेको | बाँध स्थलमा अवस्थित कन्ट्रोल रुम पूर्णरुपमा क्षति भएको, सेटिङ बेसिन र बक्स कल्भर्टमा फोहोर थुप्रिएको, ४ जना कर्मचारी सम्पर्कबिहीन | यकिन हुन बाँकी |
२ | अपर त्रिशुली-१ जलविद्युत आयोजना | नेपाल वाटर एण्ड इनर्जी डेभेलप्मेन्ट कम्पनी | रसुवा | २१६ | निर्माणाधीन | क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको | १० करोड |
३ | बागमति साना जलविद्युत आयोजना | मान्डू हाइड्रोपावर लिमिटेड | मकवानपुर | २२ | संचालनमा रहेको | विद्युत गृह पूर्णरुपमा डुबेको | १ अर्ब |
४ | तल्लो हेवा खोला जलविद्युत आयोजना | माउन्टेन हाइड्रो नेपाल प्रा. लि. | पाँचथर | २२.१ | गत वर्षको बाढीबाट पनि प्रभावित | विद्युत गृह डुबानमा परेको | २५ करोड |
५ | हेवा खोला ए | पाँचथर पावर कम्पनी | पाँचथर | १४.९ | गत वर्षको बाढीबाट पनि प्रभावित | पुनः निर्माण सकेर संचालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको | यकिन हुन बाँकी |
६ | सोलु दुधकोशी जलविद्युत आयोजना | साहस ऊर्जा लिमिटेड | सोलुखुम्बु | ८६ | संचालनमा रहेको | (हेडवर्क्समा क्षति भई उत्पादन बन्द रहेको; करिब दुई दिनमा सुचारु हुने अनुमान रहेको | यकिन हुन बाँकी |
७ | माइखोला क्यासकेड जलविद्युत आयोजना | सगरमाथा जलविद्युत कम्पनी | इलाम | ३ | संचालनमा रहेको | बाँध र टेलरेसमा क्षति भई उत्पादन बन्द रहेको | ५ करोड |
८ | माइखोला जलविद्युत आयोजना | सगरमाथा जलविद्युत कम्पनी | इलाम | ९.६ | संचालनमा रहेको | बाँध र प्रसारण लाइनमा क्षति भई उत्पादन बन्द रहेको | ७ करोड |
९ | फेमे खोला जलविद्युत आयोजना | पाँचथर | १ | संचालनमा रहेको | बाँध र विद्युतगृहमा पूर्णरुपमा क्षति भएको | १० करोड | |
१० | सिउरी खोला जलविद्युत आयोजना | न्यादी ग्रुप प्रा.लि. | लमजुङ | ५ | संचालनमा रहेको | टेलरेस, इन्टेक र टनेलमा क्षति भएको | २ करोड |
११ | सुपरन्यादी जलविद्युत आयोजना | सिउरी न्यादी पावर लिमिटेड | लमजुङ | ४० | निर्माणाधीन | पहुँचमार्ग र प्रोटेक्सन वालमा क्षति भएको | यकिन हुन बाँकी |
१२ | इलेप खोला तातोपानी जलविद्युत आयोजना | जलशक्ति हाइड्रो कम्पनी | धादिङ | २५ | निर्माणाधीन | पहुँचमार्गमा क्षति भएको | यकिन हुन बाँकी |
१३ | हेवा खोला जलविद्युत आयोजना | ह्याबिट्याट पावर कम्पनी | संखुवासभा | ५ | निर्माणाधीन | क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको | १० करोड |
१४ | सभाखोला बी जलविद्युत आयोजना | अर्बिट इनर्जी प्रा.लि. | पाँचथर | १५.१ | निर्माणाधीन | पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको | ७ करोड |
१५ | सभाखोला सी जलविद्युत आयोजना | अर्बिट इनर्जी प्रा.लि. | पाँचथर | ६.३ | निर्माणाधीन | पहुँचमार्गमा क्षति | ३ करोड |
१६ | लान्द्रुक मोदी जलविद्युत आयोजना | अन्नपूर्ण विद्युत विकास कम्पनी | कास्की | ८६.५९ | निर्माणाधीन | पहुँचमार्गमा क्षति | ८ करोड |
१७ | सुपर त्रिशूली जलविद्युत आयोजना | ब्लू इनर्जी प्रा.लि. | नुवाकोट | १०० | निर्माणाधीन | २ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको | २५ करोड |
१८ | लाङटाङ खोला जलविद्युत आयोजना | मल्टी इनर्जी डेभेलप्मेन्ट प्रा.लि. | रसुवा | २० | निर्माणाधीन | बाँध, क्याम्प हाउस र पहुंचमार्गमा क्षति भएको | यकिन हुन बाँकी |
१९ | खानी खोला जलविद्युत आयोजना | खानी खोला हाइड्रोपावर लिमिटेड | ललितपुर | २ | संचालनमा रहेको | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति | १० करोड |
२० | टुङ्गुन ठोस्ने जलविद्युत आयोजना | खानी खोला हाइड्रोपावर लिमिटेड | ललितपुर | ४.३६ | संचालनमा रहेको | पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वचयार्डमा क्षति, ड्याम र हेडरेस टनेल र पहुँचमार्गमा क्षति | १५ करोड |
२१ | माया खोला जलविद्युत आयोजना | माया खोला हाइड्रो पावर कम्पनी प्रा.लि. | संखुवासभा | १४.९ | निर्माणाधीन | बाँध र पहुँचमार्गमा क्षति | २ करोड |
२२ | लाप्चे खोला जलविद्युत आयोजना | नासा हाइड्रोपावर प्रा.लि. | दोलखा | ९९.४ | निर्माणाधीन | पहुँच मार्ग, अडित रोड र क्याम्प क्षेत्रमा क्षति भएको | यकिन हुन बाँकी |
२३ | भोटेकोशी-१ जलविद्युत आयोजना | इलेक्ट्रोपावर कम्पनी लिमिटेड | सिन्धुपाल्चोक | ४० | निर्माणाधीन | सुरुङ मार्गमा क्षति भएको | यकिन हुन बाँकी |
२४ | तल्लो सोलु जलविद्युत आयोजना | सोलु हाइड्रो पावर प्रा.लि. | सोलुखुम्बु | ८२ | निर्माणाधीन | विद्युत गृह र बाँधस्थलमा पहिरो गएको | यकिन हुन बाँकी |
२५ | तनहुँ जलविद्युत आयोजना | तनहु हाइड्रोपावर लिमिटेड | तनहु | १४० | निर्माणाधीन | भारी वर्षाका कारण निर्माण स्थलमा पानी जमेको र क्रेनमा क्षति भएको | यकिन हुन बाँकी |
२६ | रसुवा भोटेकोशी जलविद्युत आयोजना | लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी | रसुवा | १२० | निर्माणाधीन | निर्माण सामग्रीहरुमा क्षति पुगेको | यकिन हुन बाँकी |
प्रसारण लाइनमा पनि क्षति
बाढीपहिरोले प्रसारण लाइनतर्फ पनि क्षति पुगेको छ। काबेली करिडोरका ३ वटा टावरमा क्षति पुगेका छ। एउटा टावर बगाएको छ भने २ वटा टावरमा क्षति पुगेका कारण पूर्वतर्फ २०० मेगावाट विद्युत आपूर्ति बन्द भएको छ। काबेली करिडोरमा ३ वटा सबस्टेसन छन्। ती सबस्टेसनबाट इलाम, पाँचथर र ताप्लेजुङमा हुने आपूर्ति पनि बन्द भएको छ।
३३ केभी प्रसारण लाइनमा ब्याक फिड गरेर दमकबाट विद्युत आपूर्ति गर्ने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ। ‘काम चाँडो गर्न आइपीपीसँग छलफल टोली पठाउने तयारीमा थियौं। तर, ३ दिनसम्मका लागि फ्लाइट पाइएको छैन। कुनै उपाय लाग्छ कि भनेर प्रयास गरिरहेका छौं,’ घिसिङले भने।
खिम्तिबाट लामोसाँघु आउने प्रसारण लाइनअन्तर्गत एउटा टावर तामाकोसी खोलाले बगाएको छ। जसले गर्दा २०० मेगावाट विद्युत आपूर्ति बन्द भएको छ। ‘त्यसलाई सञ्चालनमा ल्याउन हामीले कर्मचारी परिचालनको निर्णय गरेका छौं। तर, त्यहाँ पुग्ने पहुँचमार्ग छैन,’ घिसिङले भने।
इप्पानका अध्यक्ष गणेश कार्कीले धेरै आयोजनामा जाने पहुँचमार्ग अवरुद्ध रहेकाले पुनर्निर्माणमा समय लाग्ने बताए। ‘आयोजना पुनर्निर्माणका लागि धेरै समय लाग्ने देखिन्छ। किनभने सडक र पुलहरुमा क्षति पुगेको अवस्था छ। जसले गर्दा सामान लानै सकिंदैन,’ उनले भने।