मोदीलाई विश्वस्त पार्ने ओलीको प्रयास : उठेन इपीजीको मुद्दा, भारतको जोड ऊर्जा र व्यापारमा

बिजमाण्डू
२०८१ असोज ७ गते ०८:०५ | Sep 23, 2024
मोदीलाई विश्वस्त पार्ने ओलीको प्रयास : उठेन इपीजीको मुद्दा, भारतको जोड ऊर्जा र व्यापारमा


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्क पुगेका बेला साइडलाइन वार्ता भएको ओलीको सचिवालयले जनाएको छ। ओली र मोदीबीच करिब ४५ मिनेट कुराकानी भएको थियो।

Tata
GBIME
NLIC

ओलीले आफूप्रति आश्वस्त पार्न मोदीसँग भेट गर्न लगातार प्रयास गरेपछि अन्तिम समयमा मात्रै भारतीय पक्ष तयार भएको थियो। उनीहरूबीच दुई देशको असमझदारी हटाउनेबारे कुराकानी भएको ओलीको सचिवालयका एक सदस्यले बताए।

‘आपसका असमझदारीबारे कुराकानी भएको छ,’ उनले भने।

भेटपछि एक्समा मोदीले ओलीसँगको छलफल राम्रो भएको भन्दै ऊर्जा, प्रविधि र व्यापारको क्षेत्रमा कुराकानी भएको बताएका छन्। ओलीले भने द्विपक्षीय मुद्दालाई प्राथमिकता दिएको बताएका छन्।

दुई नेताबीचको भेटमा इपीजी प्रतिवेदनबारे केही कुरा नभएको बताइएको छ। ओलीले भारतले इपीजी प्रतिवेदन स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए।

भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। यसअघि पनि परराष्ट्रमन्त्री आरजु राणामार्फत ओलीले भ्रमणको निम्तो दिएका थिए। तर भारतीय पक्षले अझै पनि ओलीलाई भारत भ्रमणको निम्तो दिएको छैन।

भेटमा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्यूयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र परराष्ट्रका मन्त्रालयका प्रवक्ता अमृतकुमार राई सहभागी थिए।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिस्री लगायत उच्च सरकारी अधिकारी संलग्न रहेको थियो ।

ओली चौथो पटक प्रधानमन्त्री भएपछि मोदीसँगको यो नै पहिलो भेटवार्ता हो। ओलीले प्रधानमन्त्रीको जिम्मेवारी असार ३१ गते सम्हालेकै दिन भारतीय समकक्षी मोदीले सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए। तर, भारत भ्रमणको निम्तो दिएका थिएनन्।

ओलीले पछिल्लो समय भारतलाई चिढ्याउने अभिव्यक्ति दिइरहेको चर्चा हुने गरेको थियो। ओलीले राष्ट्रसंघीय महासभामा जानुपहिले भारत भ्रमण गर्न चाहेका थिए। तर, अनेक प्रयास गर्दा पनि सफल नभएपछि उनले भारतलाई ‘इरिटेड’ बनाउने अभिव्यक्ति दिएको परराष्ट्रविदहरुले बताउने गरेका छन्।