
काठमाडौं। गत शुक्रबार एमाले निकट व्यवसायीहरुले काठमाडौंमा एक कार्यक्रम गरे। सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल र बलियो पूर्वाधार शीर्षकमा छलफल गर्ने भनिएको कार्यक्रममा सेयर ब्रोकरहरुको बाक्लो उपस्थिति थियो।
कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तालिका थियो। ओलीको बडेमान तस्बिर राखेर स्टेज सजाइएको थियो। तर, कार्यक्रम सुरु भएको केही समयपछि ओली उपस्थित हुन नसक्ने जानकारी गराइयो। त्यसपछि मञ्चमै रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई प्रमुख अतिथि बनाइयो।
अर्थमन्त्री पौडेलले त्यहाँ उपस्थित उद्यमी र ब्रोकरहरु सामु नयाँ सरकार बनेपछि लगानीकर्ताको मनोबल बढेको भन्दै त्यसको उदाहरणका रुपमा सेयर बजारमा भएको वृद्धिलाई देखाए।
‘अहिले अर्थतन्त्रका समग्र परिसूचकका बारेमा मैले चर्चा गर्नुपर्छ जस्तो लाग्दैन। यहाँहरु आफैंले हेरिरहनु भएको छ, बिहानदेखि साँझसम्म,’ पौडेलले भने, ‘सेयर बजारमा निकै उत्साह देखिएको छ।’
अहिले पौडेल मात्रै होइन, प्रधानमन्त्री ओली नै सेयर बजारले अर्थतन्त्रलाई ‘ड्राइभ’ गरिरहेको आशयका वक्तव्य दिइरेका छन्। उनले भदौ ६ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिंदै आफूले सरकार सम्हालेपछि लगानीकर्तामा ‘कन्फिडेन्स’ बढ्दा सेयर बजारमा उल्लेख्य सुधार आइरहेको बताएका थिए।
सरकारले सेयर बजारको वृद्धिलाई नै अर्थतन्त्र सुधारको रुपमा हेर्न थाल्दा सेयर मूल्य उचाल्न चलखेल गर्नेलाई बल पुगेको जानकारहरु बताउँछन्।

सेयर बजारमा हाल ६३ लाख डिम्याट खाता छन्। मेरो सेयर प्रयोगकर्ता ५४ लाख छन् भने ३६ लाखले आइपीओ भर्ने गरेका छन्। त्यस्तै, दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २२ लाख छ।
सेयर बजारमा संलग्नको संख्या ठूलो भएकै कारण उनीहरुलाई खुशी पार्न ओली र पौडेलले वक्तव्य दिइरहेको देखिन्छ।
उच्च स्रोतका अनुसार बजारलाई ३५०० विन्दु हाराहारीमा पुर्याउन राजनीतिक तहबाट पनि जोडबल लगाइएको छ। सेयर बजारको बढोत्तरीलाई चुनावी एजेन्डा बढाउने रणनीतिमा एमाले रहेको धेरैको बुझाइ छ।
‘सेयर बजारलाई अहिलेसम्मकै उचाइमा पुर्याउने रणनीति अनुसार काम भइरहेको छ। त्यसैलाई आगामी चुनावका लागि एजेण्डा बनाउन खोजिएको हो,’ स्रोतले भन्यो, ‘केही गरेर बजार लगातार घट्न थाल्यो भने रोक्न सरकारी तहबाट प्रयास पनि हुनसक्छ।’
त्यही कारण अर्थतन्त्र सुधारको रुपमा सेयर बजारलाई प्रस्तुत गर्नु नौलो रहेन। तर, बजार बढेपछि कुनै न कुनै विन्दुमा घट्छ भन्ने नै उनीहरुले बिर्सिएका छन्।
सरकारले सेयर बजारको वृद्धिलाई नै अर्थतन्त्र सुधारको रुपमा हेर्न थाल्दा सेयर मूल्य उचाल्न चलखेल गर्नेलाई बल पुगेको जानकारहरु बताउँछन्।
‘सरकारको प्राथमिकतामा सेयर बजार छ। अर्थतन्त्र सुधारको हिसाब यसैसँग जोडेर हेरिँदैछ। यसले बजारका खेलाडीहरुलाई मात्र फाइदा पुग्ने हो,’ एक विश्लेषकले भने, ‘केही कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको थियो। अहिले घट्दै छ। थाहा नपाउने लगानीकर्ता फस्ने भए।’
डेढ महिनायता लगातार उकालो लागेर साउन ३१ गते ३०००.८१ विन्दुमा पुगेको बजार अहिले ओरालो लाग्न थालेको छ। बुधबार र बिहीबार सामान्य अंकले बढेको बजार आइतबार कारोबार खुलेदेखि नै ओरालो लाग्यो। नेप्से आइतबार ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा आइपुगेको छ।
असार १७ गतेको कारोबारलाई आधार मान्ने हो भने पछिल्लो डेढ महिनामा बजार ९४७ अंकले बढ्यो। तीन वर्षदेखि लगातार ओरालो लागेको बजार डेढ महिनामै ४६ प्रतिशतले बढेको थियो।
नेप्से सूचक तीन वर्षअघिकै विन्दुमा फर्कियो भने त्यसबाहेकका सूचकमा बजारले रेकर्ड बनायो। बजारले कारोबार रकममा पाँचपटक रेक्रड ब्रेक गर्यो। नेप्से ३०००.८१ विन्दुमा पुगेकै दिन २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो।
बजार पुँजीकरणको रफ्तार पनि सोही गतिमा बढ्यो। डेढ महिनामै बजार पुँजीकरण १४ खर्बले वृद्धि भएर ४७ खर्ब रुपैयाँ पुग्यो।
कारोबारको १ दिन बाहेक साउनमा प्रत्येक दिन १० अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। कारोबार रकममा उछाल आउँदा सरकारको आम्दानीमा समेत रेकर्ड कायम भयो। पोहोर वर्षभरि सेयर कारोबारबापत उठ्न नसकेको पुँजीगत लाभकर यो वर्ष साउनमै ४ अर्ब २३ करोड रुपैयाँ संकलन भयो।
बुलिस ट्रेन्डको रफ्तारमा अहिले रोकिएको छ। अहिले बजार ३००० विन्दुबाट उकालो लाग्न सकिरहेको छैन, न त बियरिस ट्रेन्ड सुरु भएको छ।

असार १७ गते नेप्से २०५३ अंकमा थियो। त्यस दिन राति संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालले सत्ता समीकरण गरेका थिए। त्यसको भोलिपल्टैदेखि बजारमा बुलिस ट्रेन्ड सुरु भयो।
राजनीतिक कोर्ससँगै यही बीचमा बजारका लागि नेपाल राष्ट्र बैंक जारी गरेको मौद्रिक नीतिले केही काम गर्यो। राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाएको क्याप हटाएर बजारलाई फेबर हुने खालको लचिलो नीति लियो, यसले ठूला लगानीकर्तामा उत्साह ल्यायो।
बुलिस ट्रेन्डको रफ्तारमा अहिले रोकिएको छ।
अहिले बजार ३००० विन्दुबाट उकालो लाग्न सकिरहेको छैन, न त बियरिस ट्रेन्ड सुरु भएको छ। सेलिङ प्रेसर बढेका कारण बजार ओरालो लागेको ब्रोकरहरु बताउँछन्।
‘२५ प्रतिशत पैसा हालेर सेयर खरिद गर्नेको चाप धेरै थियो। त्यसमा नाफा बुक गर्न खोजेपछि ब्रोकर र लगानीकर्ताले नै सर्टसेलिङ बढाएका छन्,’ एक ब्रोकरले भने।
लगानीकर्ताले सेयर खरिदका लागि २५ प्रतिशतसम्म ‘कोल्याट्रल’ राखेर सेयर खरिद गर्न सक्छन्। तर, ब्रोकरले चिनजानका लगानीकर्तालाई भने शून्य ‘कोल्याट्रल’मा समेत कारोबार गराइदिन्छन्।
‘सेलिङ प्रेसर बढेको छ। लगानीकर्ताहरु अहिले नाफा बुक गर्नतिर लागेको देखिन्छ। त्यसैले बजार घटेको हो। तर, केही करेक्सन भएपनि बजार माथि नै जाने देखिन्छ,’ सन सेक्युरिटिजका कृष्ण गिरीले भने।
अहिले कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आउन सकिरहेको छैन। अर्थतन्त्र हिजोको अवस्थामै हुँदा बजारमा माग मात्रै घटेको छैन, उत्पादनमूलक कम्पनीकै व्यापारमा व्यापक गिरावट आएको छ।
यस्तो अवस्थामा अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार भएको छैन। आयात निर्यात पोहोर साउनको तुलनामा यसपालि झनै खुम्चिएको छ।