काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख र राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष समेत रहेका सहसचिव महेश बराललाई अर्थमन्त्री विष्णु पौडेलले साउन पहिलो साता अर्को संस्थाको नेतृत्व दिए।
असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री पौडेलले साउनमा बराललाई नेपाल धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरेका हुन्।
उनी वैशाखदेखि भन्सार कार्यालय प्रमुख र जेठदेखि राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष छन्। साउन ३ गतेदेखि बोर्डमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका बरालले बोर्डमा नयाँ काम केही गर्न नसकेको कर्मचारी बताउँछन्।
‘सेबोन पुसदेखि पूर्णकालीन नेतृत्वविहीन छ। अर्थमन्त्रीले उनलाई जेठदेखि जिम्मेवारी दिए पनि केही काम गर्न सकिरहेका छैनन्,’ बोर्ड स्रोतले भन्यो, ‘बेलुकी ६ बजे आएर तीन दिनमा एक दिन सञ्चालक समितिको बैठक बोलाउँछन्। तर, काम केही छैन।’
बरालले सेबोनको नेतृत्व सम्हालेपछि हिमालयन रिइन्स्योरेन्सको लगानी रहेको हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स दिएका छन्। त्यस बाहेक सार्वजनिक निष्कासन स्वीकृतिको काम अघि बढाउन सकेका छैनन्।
केही निर्णय गर्दा विवादमा पर्ने जोखिम देखेपछि बरालले सेबोनमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले पनि काम गर्न खोजेका देखिँदैनन्।