काठमाडौं। सार्वजनिक निकायमा सरकारले एकपछि अर्को ठूला नियुक्ति सुरु गरेको छ। सार्वजनिक/संगठित संस्थामा एकै पटक ठूलो संख्यामा नियुक्ति खारेज गरेको सरकारले पछिल्लो समय नियामकसहितका विभिन्न निकायको नियुक्तिलाई प्राथमिकता राखेको छ।
सरकारले मंगलबार र बुधबार सुरक्षा तथा वित्तीय क्षेत्रमा महत्वपूर्ण नियुक्ति गरेको छ। विवादबीच नेपाल प्रहरीको नेतृत्व फेरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा प्रहरी महानिरीक्षकमा डा. मनोज केसी नियुक्त भएका छन्। बहालवाला प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको छ।
यस्तै मन्त्रिपरिषदको मंगलबारको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापालाई नियुक्त गरेको छ। थापा नेपाल राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक समेत हुन्।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबारको मन्त्रिपरिषदको बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ समेत गराएका छन्।
२०८२ भदौ २ गते तत्कालीन अध्यक्ष शरद ओझा बर्खास्त भएसँगै प्राधिकरण अध्यक्ष नियुक्त भएको थिएन। लामो समय नियुक्ति प्रक्रिया अघि नबढेपछि सरकारले २०८२ माघ १२ गतेको निर्णयबाट बहालवाला सचिव चन्द्रकला पौडेललाई अध्यक्षका रुपमा कामकाज गर्न तोकेको थियो।
यस्तै मंगलबारकै मन्त्रपरिषदले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ। भण्डारीलाई बुधबार अर्थमन्त्री वाग्ले नियुक्तिपत्र प्रदान गरेका छन्।

चार महिनापछि नेप्सेमा नेतृत्व
सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। तत्कालीन सिइओ चुडामणि चापागाईंले गत असार २२ गते राजीनामा दिएका थिए।

मंगलबारकै मन्त्रिषरिषदले सुवेदीलाई नियुक्त गरेको हो। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
मंगलबार नै लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका थिए। पाण्डेय नियुक्तिको निर्णय सार्वजनिक भए पनि अन्यको मंगलबार सरकारले जानकारी गराएको थिएन।










