काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकले निष्कासन गरेको हकप्रद सेयर वितरणमा गडबडी गरेको भेटिएको छ। आवश्यक प्रक्रियाविनै सेयरधनीबाहेकलाई हकप्रद सेयर वितरण गरेको भेटिएको हो।
बैंकले विद्यमान सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्दा पालना गर्नुपर्ने नियम उल्लंघन गरी सिधै सेयर वितरण गरेको भेटिएको राष्ट्र बैंक स्रोतले बताएको छ।
‘नारायणी डेभपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने प्रक्रियामा ठूलो त्रुटि भेटिएको छ। विद्यमान सेयरधनीले हकप्रद भर्न नचाहेको खण्डमा हक हस्तान्तरण दिनुपर्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘बैंकले हक हस्तान्तरण नगराई सिधै अरुलाई नै सेयर वितरण गरेको भेटिएको हो।’
संस्थाको ‘फिट एण्ड प्रपर टेस्ट’ गर्दा बैंकले रिअनाउन्स नगरी सिधै सेयर दिएको भेटिएको ती अधिकारीको भनाइ छ। सेयरधनीले आफूले हकप्रद सेयर नभर्ने अवस्थामा ‘रिअनाउन्स’ गरिसकेपछि बिक्री गर्नुपर्छ।
विद्यमान सेयरधनीले आफूलाई प्राप्त हकप्रद सेयर खरिद गर्ने अधिकार आफैं प्रयोग नगरे अन्य लगानीकर्तालाई हस्तान्तरण गर्नुपर्छ। हक हस्तान्तरण गरेको स्पष्ट रूपमा खुलाउनुपर्छ।
तर, विद्यमान सेयरधनीले यस्तो प्रक्रिया नै पूरा नगरेको अवस्थामा सिधै बाहिरी व्यक्तिलाई हकप्रद सेयर दिएको पाइएको छ।
नियमविपरीत प्रक्रिया मिचेर अन्य लगानीकर्ताबाट जम्मा गराइएको रकम बैंकको पुँजीमा समावेश हुँदैन। प्रक्रिया नपुर्याएका कारण हकप्रद भर्ने बाहिरी लगानीकर्ताले सेयर पाउने छैनन्। त्यसैले उनीहरूको पैसा फिर्ता गर्नुपर्ने हुन्छ।
नियामकबाट अन्तिम स्वीकृति नपाएपछि बैंकले कानुनी जटिलता सुल्झाउन र लगानीकर्ताको रकम फिर्ता गर्ने बाटो खोजिरहेको छ। बैंकले हकप्रद भर्नेको पैसा कसरी फिर्ता गर्ने भनेर राष्ट्र बैंकसँग सुझाव मागिरहेको छ।
‘बाहिरी लगानीकर्तालाई हकप्रद सेयर दिइए पनि प्रक्रिया नमिलेका कारण डिम्याटमा जाँदैन। न त बैंकको पुँजी नै बढ्छ,’ राष्ट्र बैंकका अर्का अधिकारीले भने, ‘पैसा फिर्ता गर्नुको विकल्प छैन।’
नारायणी डेभलपमेन्ट बैंकको व्यवस्थापन र संचालक समिति संस्थालाई राम्रो बनाउनतिर नलागेका कारण स्थिति झन् बिग्रिंदै गएको ती अधिकारीको भनाइ छ।
‘बैंकलाई वित्तीयरुपमा सबल बनाउने भन्दा पनि जागिर जोगाइराख्ने मनसाय व्यवस्थापन र संचालक समितिमा देखिन्छ,’ उनले भने।
नारायणी डेभलपमेन्ट बैंकले गत असोजमा १:१ को अनुपातमा हकप्रद सेयर जारी निष्कासन गरेको थियो। चुक्ता पुँजी बढाउन राष्ट्र बैंकले नै हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको थियो।
हकप्रद सेयर जारी गरेपछि बैंकले चुक्ता पुँजी ५२ करोड ४९ लाख रुपैयाँ पुगेको देखाए पनि वास्तविक रुपमा २६ करोड २४ लाख रुपैयाँ हो किनभने वितरणमा गडबडीका कारण हकप्रद सेयर सूचीकृत हुने प्रक्रिया अगाडि बढेको छैन।
राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउन हकप्रद सेयर जारी गरेको नारायणीको वित्तीय अवस्था निकै कमजोर छ। यसअघि वित्तीय अवस्था बिग्रिएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ७ वर्षपछि फुकुवा गरेको थियो।
जथाभावी लगानी गरेको रकम नउठेर वित्तीय अवस्था बिग्रिएपछि राष्ट्र बैंकले २०७० मा नारायणीलाई समस्याग्रस्त घोषणा गरी नयाँ लगानीकर्ता भित्र्याएर समस्याग्रस्तबाट ससर्त फुकुवा गरेको थियो।
तर, त्यसयता पनि बैंकको वित्तीय अवस्था सुध्रिएको छैन। बैंकले २०७९/८० मा हकप्रद सेयरको स्वीकृति माग्दा अवस्था थप बिग्रिंदै गएकाले राष्ट्र बैंकले मर्जरमा जान भनेको थियो। बैंकले बेला-बेला मर्जरको एजेण्डा साधारण सभामा लगे पनि अहिलेसम्म सफल भएको छैन।
अवस्था निकै बिग्रिंदै गएपछि हकप्रद सेयर निष्कासन गर्न राष्ट्र बैंकले गत वर्ष स्वीकृति दिएको थियो।
केही वर्षदेखि बैंकले व्यवसाय बढाउन सकिरहेको छैन। बेसरेट उच्च छ। खराब कर्जा अनुपात समेत निरन्तर बढ्दो छ। व्यवसाय बढाउन बैंकले स्प्रेडदर १.४० प्रतिशत झारेको छ।
न्यून स्प्रेडमा व्यवसाय बढाउँदा त्यसले आगामी दिनमा नाफा असर गर्नेछ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म बैंकको कोष लागत ६.७५ प्रतिशत छ। निक्षेप र कर्जा लगानी दुवैमा गिरावट आएको छ।









