काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाज मर्मतमा भएको खेलाँचीदेखि उडानको टुंगो नभएको अस्ट्रेलियामा कर्मचारी सरुवा गरेर पठाएको विषयमा आफूलाई पानीमाथिको ओभानो देखाउने गरी स्पष्टीकरण बुझाएका छन्।
अध्यक्ष अधिकारीले बुधबार अपरान्ह कार्यालय समय सकिनु केहीबेरअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्प्ष्टीकरण बुझाएका हुन्। उनले आफूलाई ‘चोखो’ देखाउने प्रयासस्वरुप मन्त्रालयले मागेको स्पष्टीकरणबारे सम्बन्धित विभागसँग जवाफ लिएर त्यसलाई एकीकृत गरी बुझाएको स्रोतले जानकारी दियो।
मर्मतमा खेलाँचीका कारण अन्तर्राष्ट्रिय उडान गर्ने एनएसीका तीन वटा जहाज ग्राउण्डेड भएर चौतर्फी आलोचना भएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अध्यक्ष अधिकारीसँग भदौ १२ गते ११ बुँदे स्पष्टीकरण सोधेका थिए।
‘मन्त्रालयबाट जहाज मर्मत गर्ने कम्पनी समयमै छनोट नगरेको, मर्मतमा खेलाँची गरेको, अस्ट्रेलियामा कर्मचारी सरुवा गरेर भार बढाएको लगायत विषयमा स्पष्टीकरण मागिएको पत्र आएपछि अध्यक्षज्यूले सम्बन्धित विभागसँग लिखित जवाफ लिनुभयो। सबै विभागको जवाफ समेटेर उहाँले मन्त्रालयमा स्पष्टीकरणपत्र बुझाउनुभएको छ,’ एनएसीका एक उच्च अधिकृतले भने।
स्रोतका अनुसार अध्यक्ष अधिकारीले कानुनी सल्लाहकारलाई स्पष्टीकरणको जवाफ तयार पार्न लगाएका हुन्। त्यसअघि उनले मन्त्रालयले सोधेका प्रश्न सम्बन्धित विभागका प्रमुखकहाँ पठाएका थिए। विभागीय प्रमुखसँग लिखत जवाफ लिएर उनले मन्त्रालयमा बुझाउने पत्र तयार पारेको स्रोतले बतायो।
एनएसीका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता सुशील पन्त हुन्। पन्तले आफ्नो ल फर्म जुरिष्ट एण्ड कम्पनीमा अधिकारीले मन्त्रालयमा बुझाउने जवाफ तयार पारिदिएका हुन्।
अध्यक्ष अधिकारीले सम्बन्धित विभागका प्रमुखलाई दोष लगाइ आफू निर्दोष रहेको देखाउने गरी स्पष्टीकरण बुझाएको मन्त्रालय स्रोतले बतायो।
‘हामीले सोधेका प्रश्नमा अध्यक्षको जवाफ केहीबेरअघि आएको छ। उहाँले जहाज मर्मतमा ढिलाइदेखि ग्राउण्डेड हुने अवस्था आउनुमा आफ्नो कमजोरी स्वीकार गर्नु भएको छैन। सम्बन्धित विभागलाई दोष थोपर्नुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँले अध्यक्षका नाताले संस्था सुधारका लागि आफूले निरन्तर प्रयास गर्दै आएको दाबी गर्नुभएको छ।’
एनएसीले ९ एन-एएलवाई कलसाइनको वाइडबडी जहाज सि-चेकका लागि असार ९ गते इटालीको एटिटेक एसपीए कम्पनीमा पठाएको थियो। त्यतिखेर एक महिनामा सि-चेक गराइसक्ने भनिएकामा २ महिना १० दिन भइसक्दा पनि जहाज फर्किएको छैन। अधिकारीले सि-चेक गर्ने कम्पनी अन्तिम समयमा छानेका थिए।
‘९ एन-एएलवाई कलसाइनको जहाजको सि-चेकका लागि एमआरओ छनोट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनी छनोट गरिएको हो? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो?,’ स्पष्टीकरण पत्रमा सोधिएको थियो।
मन्त्रालयले नै गठन गरेको छानबिन समितिले सि-चेक गर्ने कम्पनी अन्तिम समयमा छानिनुमा आर्थिक चलखेलको आशंका रहेको भन्दै प्रतिवेदन बुझाएको थियो।
एनएसीले समयमा जहाज मर्मत नगरेको त्यही कम्पनीमा भदौ १२ गते अर्को वाइडबडी जहाज सि-चेकका लागि पठाएको छ। दुवै वाइडबडी जहाज ग्राउण्डेड भएका कारण एनएसीको लङहलतर्फको उडान तत्कालका लागि बन्द भएको छ।
मन्त्री पाण्डेले स्पष्टीकरण सोध्ने क्रममा अधिकारीमाथि जहाज मर्मतमा लापरबाही गरी एनएसीको साख नै बिगारेको आरोप लगाएका थिए।
अधिकारीले अस्ट्रेलियामा उडानका लागि अनुमति प्राप्त नहुँदै गत जेठ अन्तिम साता तीन कर्मचारी सरुवा गरेको विषयमा पनि आफ्नो कमजोरी स्वीकार गरेका छैनन्। उनले यसमा पनि सम्बन्धित विभागलाई दोष देखाउन खोजेका छन्।
मन्त्रालयले ‘नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानका लागि एओसी समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा,’ भनेर जवाफ मागेको थियो।
मन्त्रालयले ट्वीनअटर जहाज मर्मत नगरी ग्राउण्डेड अवस्थामा राखिएको विषयमा सोधिएको प्रश्नमा पनि आफूलाई जोगाउने आशयसहित जवाफ दिएको स्रोतले बतायो।
एनएसीसँग आन्तरिक उडानका लागि तीनवटा ट्वीनअटर जहाज रहेकामा दुई वटा ग्राउण्डेड छन्। अर्को पनि मर्मत गर्नुपर्ने अवस्थामा छ।