
काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायुसेवा निगम (एनएसी)का कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण मागेका छन्।
मर्मतमा खेलाँचीका कारण अन्तर्राष्ट्रिय उडान गर्ने एनएसीका तीन वटा जहाज ग्राउण्डेड भएर चौतर्फी आलोचना भएपछि मन्त्री पाण्डेले अध्यक्ष अधिकारीसँग स्पष्टीकरण सोधेका हुन्।
मन्त्री पाण्डेले अध्यक्ष अधिकारीमाथि एनएसीको नेतृत्व गर्न असफल भएको तथा एकपछि अर्को लापर्बाही गरेको आरोप लगाएका छन्।
‘नेपाल वायुसेवा निगममा उडानको कमी, बढ्दो सञ्चालन घाटा तथा व्यवस्थापकीय असक्षमता, लापरवाही एवम् कमीकमजोरीका कारण आफ्नो साख गुमाउँदै जानुका साथै वित्तीय हानी नोक्सानी समेत व्यहोर्नु परेको देखिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निगममा नियमितरुपमा उस्तै प्रकृतिका कमजोरी एवम् लापरवाहीहरुको पुनरावृत्ति हुनु तथा व्यवसायिक कार्यसम्पादनस्तर कमजोर हुनुको जिम्मेवारी कार्यकारी अख्तियार प्राप्त अधिकारीले बहन गर्नुपर्ने हुन्छ।’
मन्त्री पाण्डेले अधिकारीसँग जहाज मर्मतमा गरेको खेलाँचीदेखि उडानको टुंगो नै नलागेको अस्ट्रेलियामा कर्मचारी सरुवा गरेर एनएसीको आर्थिक भार बढाइएको विषयमा जवाफ मागेका छन्।
‘९ एन-एएलवाई कलसाइनको जहाजको सि-चेकका लागि एमआरओ छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो?,’ स्पष्टीकरण पत्रमा सोधिएको छ।

एनएसीले ९ एन-एएलवाई कलसाइनको जहाजको सि-चेकका लागि असार ९ गते इटालीको एटिटेक एसपीए कम्पनीमा पठाएको थियो। त्यतिखेर एक महिनामा सि-चेक गराइसक्ने भनिएकामा २ महिना वित्दा पनि जहाजको मर्मत सकिएको छैन।
एनएसीले त्यही कम्पनीमा बुधबार राति अर्को वाइडबडी जहाज सि-चेकका लागि पठाएको छ। दुवै वाइडबडी जहाज ग्राउण्डेड भएका कारण एनएसीको लङहलतर्फको उडान तत्कालका लागि बन्द भएको छ। मन्त्री पाण्डेले अधिकारीमाथि जहाज मर्मतमा लापरबाही गरी एनएसीको साख नै बिगारेको आरोप लगाएका छन्।
ट्वीनअटर जहाज मर्मत नगरी ग्राउण्डेड अवस्थामा राखिएको विषयमा पनि स्पष्टीकरण मागिएको छ। ‘ट्विनअटर जहाज नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजार हिस्सा अत्यन्त न्युन (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण के हो?,’ मन्त्रीले सोधेका छन्।
एनएसीसँग आन्तरिक उडानका लागि तीनवटा ट्वीनअटर जहाज रहेकामा दुई वटा ग्राउण्डेड छन्। अर्को पनि मर्मत गर्नुपर्ने अवस्थामा छ। यसअघिका पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल पुगेर जहाजको अवस्था निरीक्षण गरी मर्मत गर्न निर्देशन दिएकामा अधिकारीले अटेर गरेका थिए।
अधिकारीसँग अस्ट्रेलियामा उडानका लागि अनुमति प्राप्त नहुँदै गत जेठ अन्तिम साता तीन कर्मचारी सरुवा गरेको विषयमा पनि जवाफ मागिएको छ। ‘नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानका लागि एओसी समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा,’ स्पष्टीकरण पत्रमा भनिएको छ।
यस्ता छन् स्पष्टीकरण मागिएका बुँदा
१. निगमका जहाजहरुको मर्मत तथा सी चेकको कार्य नियमित एवम् पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी- चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चितता हुने गरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रकृया नसक्नुको कारण सि-चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुने गरी एकैपटक दुई वटै वाइडबडी जहाज सि- चेकका लागि पठाइको सम्बन्धमा।
२. जहाजको प्राविधिक परीक्षण, पाटपूर्जा खरिद भवम् मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शिता तथा गुणस्तरीयता हुने गरी गर्नु/गराउनुपर्ने हुन्छ। नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पाटपूर्जा खरिदमा व्यापक उजुरी/ गुनासो आउने गरेका छन्। यसै सन्दर्भमा ९ एन-एएलवाई कलसाइनको जहाजको सि-चेकका लागि एमआरओ छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो? यसबाट निगमलाई पुग्न गएको अपूरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो?
३. सि-चेक कार्यका लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरु पठाउदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो। ९ एन-एएलवाई जहाजको सी चेकका लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरुलाई बीचमै फिर्ता बोलाई पुनः अर्को टोली पठाउनुभन्दा संस्थागत स्मरण, कार्यप्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरुकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरवाहीपूर्वक निगमलाई अतिरिक्त वित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नाको कारण।
४. नियमित सी-चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पुर्याई राष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पुर्याउनुको कारण।
५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरुको महत्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरु पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्वतयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरु ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपूरणीय वित्तीय घाटा एवम् निगमको साखमा पर्न गएको क्षतिको सम्बन्धमा।
६. समयवद्ध उडान नगरेबापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ? सोको विवरण र त्यसको कारण।
७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई-मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा करिब २ करोड नोक्सानी व्यहोर्नु परेको भन्ने विषयमा।
८. निगमको चल अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण।
९. निगमलाई व्यवसायिक रुपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा ब्याज समेत तिर्न नसकी हाल निगमको ऋण करिब ५१ अर्ब २६ करोड रुपैयाँ पुगेको र समयमै सावाँ ब्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा।
१०. नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानका लागि फरियन एओसी समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तपाईंको जिम्मेवारी सम्बन्धमा।
११. ट्विनअटर जहाजहरु नियमित उडान संचालनमा नल्याई निगमको आन्तरिक बजार हिस्सा अत्यन्त न्युन (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण।
मन्त्री पाण्डेले अध्यक्ष अधिकारीलाई ११ बुँदे स्पष्टीकरण सोध्दै जवाफका लागि ७ दिनको समय दिएका छन्।