काठमाडौं। सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धमा कार्ययोजना बनाएको छ। गृह, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र र श्रम मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा वायु सेवा प्रदायक कम्पनीहरुसँग सुझाव लिएर कार्ययोजना बनाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको कार्ययोजना मन्त्रिपरिषद्को साउन २८ गतेको बैठकले स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १८ गते कार्यदल गठन गरेका थिए।
कार्ययोजनामा दुवै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्नका लागि पर्यटन, श्रम, परराष्ट्र र गृह मन्त्रालयको सेवा सुविधा विस्तार गर्ने विषय रहेको स्रोतले जानकारी दियो।
‘दुवै विमानस्थल निर्माणमा ठूलो रकम खर्च भएको छ। तर, निर्माण सम्पन्न भएको २ वर्ष भइसक्दा पनि व्यावसायिक उडान हुन सकेको छैन। यसमा अन्तर मन्त्रालय समन्वय अभाव देखियो,’ कार्ययोजना निर्माणमा संलग्न एक उच्च अधिकृतले भने, ‘त्यसैले ति विमानस्थल सञ्चालनका लागि कुन मन्त्रालयले के काम गर्ने भन्ने कुरा कार्ययोजनामा उल्लेख छ।’
कार्ययोजनामा पर्यटन मन्त्रालयअन्तर्गत क्यानलाई ल्याण्डिङ, पार्किङ, कम्युनिकेसन, नेभिगेसन लगायत क्षेत्रमा अन्तर्राष्ट्रिय वायुसेवालाई छुट दिन लगाउने भनिएको छ। यस्तै श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि आवश्यक सबै सेवा भैरहवामा दिने व्यवस्था मिलाउनुपर्नेछ।
हाल त्रिभुवन विमानस्थलबाट बाहिरिने यात्रुमध्ये ३५ प्रतिशत विभिन्न मुलुकमा जाने नेपाली श्रमिक हुन्।
परराष्ट्र मन्त्रालयलाई हवाई रुटका लागि भारतसँग कुरा गर्न भनिएको छ। गौतमबुद्ध विमानस्थलमा उडान र अवतरणका क्रममा नजिकैकै भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ। तर, भारतले भैरहवा नजिकबाट हवाई रुट दिन मानेको छैन। जसका कारण त्यहाँ उडान अवतरण गर्न सिमरा हुँदै भारतीय आकाश प्रयोग गर्नुपर्ने अवस्था छ।
‘भैरहवा नजिकबाट हवाई रुट लिने विषयमा परराष्ट्र मन्त्रालयले कुटनीतिक तहमा कुरा गर्नुपर्ने विषय कार्ययोजनामा छ,’ स्रोतले भन्यो। हवाई रुटका विषयमा भारतसँग यसअघि कुरै नभएको होइन। प्रधानमन्त्रीको भ्रमणका क्रममा यो विषय उठाइए पनि भारतले सुनेको नसुने झैं गर्दै आएको पृष्ठभूमिमा कार्ययोजना अनुसार काम गर्न परराष्ट्र मन्त्रालयलाई त्यति सहज देखिंदैन।
भैरहवामा श्रम गन्तव्य मुलुकका भिसा सेन्टर खोल्नका लागि पनि परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेछ।
यस्तै गृह मन्त्रालयले अध्यागमन कार्यालय राख्नुका साथै सुरक्षा बढाउनुपर्नेछ। विमानस्थल सञ्चालनमा जोडिने सबै मन्त्रालयले आ आफ्नो जिम्मेवारीको काम गर्ने र सबै पूर्वाधार तयार भएपछि वायुसेवा प्रदायक कम्पनीलाई दुवै विमानस्थलमा उडान गर्न लगाउने कुरा कार्ययोजनामा छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष नाघ्दा यहाँ अहिले नियमित व्यावसायिक उडान छैन। सुरुमा कुवेतको जजिरा एयरवेजले नियमित व्यावसायिक उडान गरेकामा आवश्यक सुविधा नभएका कारण यात्रु नपाएपछि उसले सेवा बन्द गरेकै एक वर्ष नाघिसकेको छ। यो विमानस्थलमा नेपाल वायुसेवा निगमले सातामा एक दिन मलेसियाबाट फर्किने क्रममा यात्रु झार्ने प्रयोजनका लागि भैरहवामा केहीबेर जहाज अवतरण गर्ने गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त त्यही पनि छैन। विमानस्थल सञ्चालनमा आएको दुई वर्ष हुन लाग्दा पनि व्यावसायिक उडान हुन नसकेपछि निर्माण गर्दा लिएको ऋण कसरी तिर्ने भन्ने तनाव सुरु भइसकेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका क्रममा कात्तिक अन्तिम सातादेखि केही महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिंदैछ। त्यो बेला उडान प्रभावित हुने भएका कारण दुई विमानस्थल सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयले नै तदारुकता देखाएको हो।
प्रधानमन्त्री ओलीले कार्यदल गठनका क्रममा नै त्रिभुवन विमानस्थलले चाप थेग्न नसक्ने र दुई विमानस्थलमा उडान नै हुन नसकेको अवस्थालाई गम्भीरतापूर्वक लिन सम्बन्धित मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
क्यानले दुवै विमानस्थलमा उडानका लागि प्रयास गरे पनि सफल हुन सकेको छैन। उसले पछिल्लोपटक थाइ एयर एसियालाई गौतमबुद्ध विमानस्थलमा सातामा चार दिन उडान गर्न अनुमति दिएको छ। तर, थाइ एयर एसियाले भैरहवामा उडान गर्ने मिति यकिन भएको छैन।