पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि? प्रधानमन्त्री ओलीले मागे कार्ययोजना



बिजमाण्डू
२०८१ साउन १९ गते १२:०० | Aug 3, 2024
पोखरा र गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि? प्रधानमन्त्री ओलीले मागे कार्ययोजना

काठमाडौं। काठमाडौंको चाप घटाउँदै अन्तर्राष्ट्रिय उडान बिजनेस पाउने महत्त्वाकांक्षी लक्ष्यका साथ निर्मित पोखरा र भैरहवा विमानस्थलबारे सरकारले चासो देखाएको छ। विमानस्थल संचालनको योजना ल्याउन सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिवहरू रहने कार्यदल गठन गरेको छ।

Tata
GBIME
Zonsen

कार्यदलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने, भैरहवाको गौतमबुद्ध र पोखरा विमानस्थललाई अन्तर्राष्ट्रिय उडान आकर्षित गर्ने कार्ययोजना तयार गर्ने जिम्मेवारी पाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे छलफल गरेका थिए। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संचालनका लागि उनले सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागे।

वैदेशिक ऋणमा निर्मित दुवै विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान छैनन्। सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले ‘नियमित अन्तर्राष्ट्रिय उडान थाल्न के गर्न सकिन्छ?’ भनेर सोधे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने र अन्तर्राष्ट्रिय उडान-अवतरणको विकल्प हुने भन्दै सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा दुवै विमानस्थल निर्माणको योजना अघि बढाएको थियो। तयार भएर संचालनमा आएको दुई वर्ष बिते पनि दुवै विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू आकर्षित छैनन्।

‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा-थाइल्यान्ड उडान अनुमति पाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौं। हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट संचालनसम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौं,’ प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘यी दुई विमानस्थल संचालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ। विमानस्थल संचालनसम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु।’

तस्वीर साभार : केपी शर्मा ओली/फेसबुक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि उडान-अवतरणको समयावधि सीमित गर्दै पोखरा र भैरहवातर्फ ध्यान दिन नागरिक उड्डयन प्राधिकरणले वायुसेवाका लागि बाध्यकारी योजना अगाडि सारेको छ। तर त्यसले उडान नियमित हुने टुंगो भने छैन। भैरहवाका लागि केही अन्तर्राष्ट्रिय वायुसेवा इच्छुक देखिए पनि अपेक्षितरूपमा नियमित उडान भने सुरु भएको छैन। विगतमा उडान थालेका कम्पनीले पनि भैरहवा हुँदै गर्ने अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन्।    

ऋणसहितको ठूलो लागतमा निर्मित नयाँ विमानस्थलहरूले बिजनेस नपाउँदा एकातिर सरकारले घाटा ब्यहोर्नु परिरहेको छ भने अर्कातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्न सकेको छैन। अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका उपाय ल्याउन प्रधानमन्त्री ओलीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा बेहोर्नुपरेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी भएको विषयलाई गम्भीर रुपमा लिँदै त्यसका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरेका थिए।

दुवै विमानस्थल प्रभावकारीरुपमा सञ्चालनका लागि अध्यागमन लगायत अन्य सुविधा सञ्चालन गर्न, इन्धन भण्डारण विमानस्थल नजिक राख्न लागिएको भए अन्यत्र सार्न, हवाइ इन्धनको मूल्य घटाउन, मूल्य अभिवृद्धि कर र पर्यटन कर नलिने व्यवस्था गर्न, ग्राउण्ड ह्याण्डलिङ सेवा नियमअनुसार जुन निकायले पाउनुपर्ने हो त्यही निकायलाई दिन उनले निर्देशन दिए।

छलफलपछि आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने गरी सचिव श्रेष्ठको संयोजकत्वमा सम्बन्धित सबै मन्त्रालयका सहसचिव रहने कार्यदललाई विमानस्थल सञचालनको योजना ल्याउन जिम्मेवारी दिइएको हो।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकार मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलगायत सहभागी थिए।