उद्योग विभागले अड्काइदियो एनसेलको फाइल, १५ दिनमा हुनुपर्ने काम ५ महिनासम्म भएन 



बिजमाण्डू
२०८१ साउन २९ गते १९:०२ | Aug 13, 2024
उद्योग विभागले अड्काइदियो एनसेलको फाइल, १५ दिनमा हुनुपर्ने काम ५ महिनासम्म भएन 

काठमाडौं। नियामक नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी मुद्राको सटही सिफारिस रोकेपछि अप्ठेरोमा परेको एनसेललाई अर्को सरकारी निकायले पनि झुलाउने काम गरेको छ।

Tata
GBIME
Zonsen

एनसेललाई उद्योग विभागले ५ महिनादेखि झुलाइरहेको हो। टेक्निकल म्यानेजमेन्ट एण्‍ड सर्भिस एग्रिमेन्ट (टीएमएसए) स्वीकृतिका लागि एनसेलले गत चैत ५ गते फाइल पेस गरेकामा विभागले अझै स्वीकृत गरेको छैन।

१५ दिनमा हुनुपर्ने काम ५ महिना पूरा हुन लाग्दा पनि अगाडि नबढेपछि एनसेल अन्योलमा परेको छ। विभागले फाइल अड्काएर राख्दा धेरै काम प्रभावित भएको एनसेलका एक कर्मचारीले बताए।

‘हामीले उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखालाई गत चैत ५ गते नै स्वीकृतिका लागि फाइल उपलब्ध गराएका थियौं। १५ दिनमा फाइल सदर भइसक्नुपर्ने थियो। तर, अहिलेसम्म रोकेर राखिंदा हाम्रो धेरै काम प्रभावित हुन पुगेको छ,’ उनले भने।

एनसेलले आफ्नो सेवा प्रवाह चुस्त बनाउन विभिन्न कम्पनीसँग साझेदारी गरेर काम गर्दै आएको छ। साझेदारी गरेबापत विदेशी कम्पनीलाई सम्झौता अनुसारको रकम भुक्तानी दिनुपर्छ। यसका लागि विभागको स्वीकृति चाहिन्छ।

विभागका एक कर्मचारीले नियामक नेपाल दूरसंचार प्राधिकरणको राय माग्दा केही समय लागे पनि अब स्वीकृतिको चरणमा रहेको बताए। उनले एनसेलकै तर्फबाट पनि केही आवश्यक कागजपत्र आउन बाँकी रहेको बताए।

विभागका महानिर्देशक यज्ञराज कोइरालाले दूरसंचार प्राधिकरणको राय अनुसार निर्णय लिने जवाफ दिए। ‘नियमनकारी निकाय भएकाले हामीले प्राधिकरणको राय मागेका छौं। हामी उसको राय अनुसार निर्णय गर्छौं,’ उनले भने।