एनसेलप्रति एकपछि अर्को सरकारी निकाय अनुदार, एक घण्टामै गुमायो ३७ लाख



बिजमाण्डू
२०८१ साउन २८ गते २०:१९ | Aug 12, 2024
एनसेलप्रति एकपछि अर्को सरकारी निकाय अनुदार, एक घण्टामै गुमायो ३७ लाख

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलप्रति सरकारी निकाय एकपछि अर्को गरी अनुदार देखिएका छन्।

Tata
GBIME
Zonsen

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले पूर्वाधार विस्तारका लागि उपकरण आयातको अनुमति रोकिरहेका बेला नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर चुँडाइदिएको छ।

प्राधिकरणले सोमबार अपराह्‍न दमौली-पोखरा खण्डमा पोल सार्ने क्रममा एनसेलको अप्टिकल फाइकर चुँडाइदिंदा एक घण्टा सेवा प्रभावित हुन पुग्यो। सेवा एक घण्टा अवरुद्ध हुँदा करिब ३७ लाख रुपैयाँ आम्दानी गुमेको एनसेलका एक कर्मचारीले बताए।

‘प्राधिकरणले पोल सार्ने क्रममा हामीलाई जानकारी नै गराएन। उसका कारण हाम्रो सेवा अवरुद्ध हुन पुग्यो। एक घण्टामै करिब ३७ लाख हाराहारी आम्दानी गुम्यो,’ कम्पनी स्रोतले भन्यो, ‘नियामक निकाय पूर्वाधार विस्तारका लागि आवश्यक उपकरण आयात गर्न अनुमति नै दिंदैन। अर्को संस्था सेवा रोकिने व्यवहार गर्छ। हामीप्रति राज्यका निकायको व्यवहार साह्रै नै अनुदार भयो।’

विद्युत प्राधिकरणले पोल सार्नुपहिले खबर गरेको भए सेवा अवरुद्ध हुने स्थिति नै नआउने कम्पनीका ती कर्मचारीले बताए।

कम्पनीका प्राविधिकहरुले अप्टिकल फाइबर जोडेपछि सेवा सञ्चालनमा आएको थियो। एनसेलले पूर्वाधार विस्तारका लागि उपकरण आयात गर्न दूरसञ्चार प्राधिकरणसँग अनुमति मागेको केही महिना बितेपनि उसले विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानेको छैन।