सेयर कारोबारमा दिनदिनै रेकर्ड ब्रेक, सवा २७ अर्बको कीर्तिमानी कारोबार, नेप्सेमा ७०.८१ अंकको वृद्धि



बिजमाण्डू
२०८१ साउन २८ गते १५:०३ | Aug 12, 2024
सेयर कारोबारमा दिनदिनै रेकर्ड ब्रेक, सवा २७ अर्बको कीर्तिमानी कारोबार, नेप्सेमा ७०.८१ अंकको वृद्धि

काठमाडौं। सेयर बजारमा दिनदिनै रेकर्ड ब्रेक हुन थालेको छ। आइतबार २५ अर्ब ७७ करोड रुपैयाँ कारोबारसहित नेप्सेले बनाएको रेकर्ड भोलिपल्टै अर्थात सोमबार ब्रेक भएको छ।

Tata
GBIME
Zonsen

सोमबार २७ अर्ब २४ करोड २० लाख रुपैयाँको कीर्तिमानी कारोबार भएको हो।

२०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेचसहित बजारले रेकर्ड बनाएको थियो। त्यसलाई उछिन्ने गरी साउन १६ गते २१ अर्ब ९१ करोडको कारोबार भयो। उच्च कारोबारको त्यो रेकर्ड साउन १६ यता नै तीन पटक तोडिएको छ।

साउन २२ गते नेप्से १४५ अंकले घट्दा २३ अर्ब ७१ करोड रुपैयाँको सेयर किनबेचसहित बजारले कारोबारमा उचाइ लिएकामा आइतबार २५ अर्ब ७७ करोड र सोमबार २७ अर्ब २४ करोडको कारोबार भएको हो।

सोमबार २ लाख ८३ हजार ४७ वटा कारोबारबाट ६ करोड ४८ लाख कित्ताभन्दा धेरै सेयर किनबेच भएको छ। सेयर भोलुममा पनि नेप्सेले रेकर्ड ब्रेक गरेको हो। आइतबार ६ करोड २ लाख कित्ता सेयर किनबेच भएकामा सोमबार ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर कारोबार भएको छ।

सबैभन्दा धेरै कारोबार हुनेमा हिमालयन रि-इन्स्योरेन्स छ। यो कम्पनीको १ अर्ब २२ करोड ८० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको हो।

शिवम् सिमेन्टको ९२ करोड २८ लाख, नेपाल फाइनान्सको ८४ करोड ३६ लाख, निफ्राको ७२ करोड ९० लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

कीर्तिमानी कारोबार हुँदा सेयर बजार परिसूचक ७०.८१ अंकले बढेको छ। उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट बाहेकका उपसमूहले नेप्से २९३१.६५ विन्दुमा पुर्‍याएका हुन्।

लाइफ इन्स्योरेन्स उपसमूहको सूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ। त्यस्तै, फाइनान्स उपसमूहको सूचक ४.८१ प्रतिशतले बढेको छ।

कारोबारमा आएका ३३९ मध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर रसुवागढी हाइड्रोपावर लगायत एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।