काठमाडौं। भारतीय कम्पनी रोयल इनफिल्डका ग्राहकहरूले विश्वको जुन सुकै देशमा पनि वारेन्टीको सुविधा पाउने भएका छन्। यसका लागि कम्पनीले ‘बोर्डरलेस वारेन्टी प्रोग्राम’ सार्वजनिक गरेको हो।
अब नेपालबाट भारतमा जाने ग्राहकहरूले यदि वारेन्टीको अवधि सकिएको छैन भने उतै सर्भिसहरू गर्न सक्नेछन्। वारेन्टीमा रहेका सबै सुविधा कम्पनीको आधिकारिक सर्भिस सेन्टर रहेका जुन कुनै देशमा कभर गर्न सकिनेछ।
रोयल इनफिल्डको डिलर तथा सर्भिस सेन्टर अहिले ७० वटा देशका २ हजार ६०५ सहरहरूमा उपलब्ध छन्। भारतमा मात्रै यसको ३ हजार आधिकारिक सर्भिस टच पोइन्टहरू रहेका छन्।
नयाँ ग्लोबल वारेन्टीको सुविधा नयाँ बाइक खरिदकर्ताले र अहिले वारेन्टी अवधि नसकिएकाले लिन सक्नेछन्। तर व्यक्तिगत रुपमा आयात गरिएकाको हकमा भने उक्त सुविधा उपलब्ध हुने छैन।
ग्राहकहरूले ग्लोबल वारेन्टीको सुविधा लिनका लागि सर्भिस रेकर्ड बोक्नु पर्ने हुन्छ। यस्तै बाइक खरिदकर्ताको विस्तृत विवरण पनि आवश्यक पर्नेछ।