मस्कको स्टारलिंक भित्र्याउन श्रीलंकाले फेर्‍यो दूरसञ्चारसम्बन्धी कानुन, सेटलाइट इन्टरनेट सेवा दिने

बिजमाण्डू
२०८१ असार २६ गते १३:२९ | Jul 10, 2024
मस्कको स्टारलिंक भित्र्याउन श्रीलंकाले फेर्‍यो दूरसञ्चारसम्बन्धी कानुन, सेटलाइट इन्टरनेट सेवा दिने

काठमाडौं। विश्वकै धनाढ्य इलन मस्कको स्टारलिंकलाई भित्र्याउन श्रीलंकाले २८ वर्ष पुरानो दूरसञ्चारसम्बन्धी कानुनमा परिमार्जन गरेको छ।

Tata
GBIME
NLIC

मंगलबार श्रीलंकाको संसद्‍ले स्टारलिंकलाई श्रीलंका ल्याउन नीतिगत ब्रेकथ्रु गरेको हो।

२८ वर्षपछि पहिलोपटक श्रीलंकाले विद्यमान कानुनमा परिमार्जन गरेको हो। कानुनमा सुधारपछि अब श्रीलंकाले तीन प्रकारको लाइसेन्स जारी गर्नेछ। यसैको आधारमा मस्कको स्टारलिंक श्रीलंकाको दूरसञ्चार बजारमा प्रवेश गर्नेछ।

श्रीलंकाका प्रविधिमन्त्री कनक हेरथका अनुसार कानुनी सुधारपछि श्रीलंकाको दूरसञ्चार क्षेत्रमा थप विदेशी लगानी भित्रिने निश्चित भएको प्रतिक्रिया दिएका छन्।

श्रीलंकाको दूरसञ्चार कानुनमा सेटलाइट इन्टरनेट सेवा संचालन गर्ने कुनै प्रावधान थिएन। जसका कारण स्टारलिंकजस्तो कम्पनी श्रीलंकामा लगानीसहित भित्रिने अवस्था थिएन। त्यसैलाई चिर्दै श्रीलंकाली संसद्‍ले नयाँ प्रावधानसहितको कानुन पास गरेको छ।

‘यो अवसर स्टारलिंकलाई मात्रै होइन। अरु कम्पनीहरूलाई पनि श्रीलंकामा लगानी गर्न बाटो खोलिदिएको छ,’ मन्त्री हेरथले भने, ‘हाम्रो योजना श्रीलंकाको सूचना प्रविधि क्षेत्र उद्योगलाई सन् २०३० सम्म १५ अर्ब अमेरिकी डलर पुर्‍याउने हो। त्यसैले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई श्रीलंकाको ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउन यो महत्त्वपूर्ण कदम हुनेछ।’

स्टारलिंकले गत मार्चमा श्रीलंकामा सेवा दिन इच्छुक भएको भन्दै प्रस्ताव गरेको थियो। जुनमा फास्टट्र्याक प्रक्रिया अपनाउँदै श्रीलंकाली सरकारले स्टारलिंकलाई सेवा संचालन गर्न प्रारम्भिक स्वीकृति दिएको थियो। नयाँ कानुनपछि अब स्टारलिंकले लाइसेन्सका लागि आवश्यक दस्तुर बुझाउनेछ।