राजस्व अनुसन्धान विभागका ‘फेक डीजी’बारे संसद्‍मा उठ्यो प्रश्‍न, ‘व्यापारी तर्साउने बिचौलिया को हो?’

बिजमाण्डू
२०८१ असार ११ गते १२:०६ | Jun 25, 2024
राजस्व अनुसन्धान विभागका ‘फेक डीजी’बारे संसद्‍मा उठ्यो प्रश्‍न, ‘व्यापारी तर्साउने बिचौलिया को हो?’


काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशकको नम्बरबाट बिचौलियाले फोन गरी व्यापारीलाई तर्साउने काम भइरहेको विषयमा संसद्‍मा प्रश्न उठेको छ।

Vigo
GBIME
Tata

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेकै सामु यस विषयमा प्रश्न उठाएका हुन्।

उनले विभागका महानिर्देशको नम्बरबाट फोन गरेर व्यापारीलाई तर्साउने बिचौलिया को हो? भनी जवाफ मागेका छन्। ‘राजस्व अनुसन्धानको महानिर्देशकको नामबाट अर्को एकजना महानिर्देशक बनेर व्यापारीहरुलाई बिदाको दिन फोन गरी थर्काउने र पैसा माग्ने काम भइरहेको सुन्नमा आएको छ,’ उनले भने, ‘व्यापारीलाई महानिर्देशकको नम्बरबाट फोन गरेर तर्साउने बिचौलिया को हो?’

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय मातहत पर्छ। विभागमा अहिले चक्रबहादुर बूढा महानिर्देशक छन्। उनले प्रयोग गर्ने नम्बरबाट अर्का व्यक्ति उपेन्द्र शाहीले फोन गरेर व्यापारीहरुलाई तर्साउने र पैसा माग्ने गरेको समाचार बिजमाण्डूले केहीबेरअघि सार्वजनिक गरेको थियो।

‘यति पैसा तिर्नुहोस् भनेर डिपार्टमेन्टल स्टोरदेखि अन्य व्यापारीलाई फोन गरेर तर्साउने काम राजस्व अनुसन्धानका डीजीको नम्बरबाट भएको छ। मैले ३ करोड खर्च गरेर डीजी बनाएको भन्छ रे। त्यो बिचौलिया को हो?,’ सांसद खतिवडाले भने, ‘प्रधानमन्त्री अन्तर्गत पर्ने राजस्व अनुसन्धान विभागलाई यसरी व्यापारी थर्काउनका लागि बिचौलिया प्रयोग गर्ने संस्थाका रुपमा प्रयोग नगरियोस्।’