कृष्णभीरको नयाँ ट्र्याकमा ग्राभेल गर्न ग्रेडिङ गरिँदै, केही दिनमा यातायात संचालन हुने

बिजमाण्डू
२०८३ भदौ २७ गते १६:५६ | Sep 12, 2026
कृष्णभीरको नयाँ ट्र्याकमा ग्राभेल गर्न ग्रेडिङ गरिँदै, केही दिनमा यातायात संचालन हुने


काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा नयाँ ट्र्याक बनाउने काम सकिएको छ।

Vigo
GBIME
Tata

अहिले कृष्णभीर क्षेत्रमा सडकको ग्रेड डाउन गर्ने कामसमेत अघि बढाइएको छ। ग्रेड डाउन गर्ने काम अन्तिम चरणमा पुगेको नागढुंगा-मुग्लिन सडक आयोजना प्रमुख सजना अधिकारीले बताइन्।

अधिकारीले भनिन्, ‘अहिले ग्रेड डाउन गर्ने काम अन्तिम चरणमा पुगेको छ। ट्र्याकको ग्रेड मिलाएर ड्रेन बनाइने छ र त्यसपछि ग्राभेल गरिनेछ।’

अधिकारीका अनुसार यो महिनाको अन्त्यदेखि सवारी साधन संचालन गर्ने तयारी छ।

सुरुमा ग्राभेल गरिएको सतहमै सवारी संचालन गराउने योजना रहेको अधिकारीले बताइन्। तत्काल उक्त खण्डमा ब्ल्याक टप गर्ने योजना भने नरहेको उनले स्पष्ट पारिन्।

त्रिशूली नदीको कटानले भदौ १४ गते कृष्णभीरमा सडक खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ।

राजमार्ग खुलाउन पहिरो गएको स्थानभन्दा माथिबाट अस्थायी ट्र्याक खोलिएको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायत जिल्लामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

राजमार्ग लामो समय बन्द हुँदा काठमाडौं उपत्यकामा इन्धन, खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको आपूर्तिमा असर परेको छ। अस्थायी ट्र्याक संचालनमा आएपछि राजमार्गबाट हुने आवागमन र आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ।