काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएको स्थानमा दीर्घकालीन रुपमा सवारीसाधन सञ्चालनका लागि सुरुङमार्ग सबैभन्दा उपयुक्त विकल्प हुने निष्कर्ष विज्ञहरुले निकालेका छन्।
सडक विभागका इन्जिनियर, भूगर्भविद् र राष्ट्रिय योजना आयोगका सदस्यले सडक भासिएको स्थानको निरीक्षणपछि ५०० देखि ६०० मिटर लामो सुरुङमार्ग निर्माण गर्नु सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालेका हुन्।
स्थलगत निरीक्षण गरेर फर्किएका राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले पहिरो खसेको स्थान माथिबाट बाटो बनाउँदा धेरै भार क्षमताका सवारीसाधन चलाउन जोखिम हुन सक्ने भएकाले सुरुङमार्ग नै राम्रो विकल्प हुने बताए।
‘सडक भासिएको स्थान नपुग्दैको मोडबाट ५०० देखि ६०० मिटरको टनेल बनाउन सकिन्छ। अबको उपयुक्त विकल्प यही हो,’ थापाले भने, ‘किनभने अहिले ट्र्याक खोलिरहेको स्थानबाट ठूला ट्र्क र बुलेट चलाउन जोखिम हुन सक्छ।’
त्रिशूली नदीमा आएको बाढीले कटान गरेका कारओ भदौ १४ गते कृष्णभीरको सडक खसेपछि काठमाडौंको लाइफलाइन पृथ्वीराजमार्ग बन्द हुँदा आपूर्ति प्रभावित भएको छ। राजमार्ग खुलाउनका लागि पहिरो गएको स्थान माथिबाट अस्थायी ट्र्याक खोलिएको छ। तर, ट्र्याक खोलिएको स्थानभन्दा माथि भीरमा धाँजा फाटेको देखिएको छ।

सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलले अस्थायी ट्र्याक खोल्ने क्रममा माथिल्लो भागमा चिरा परेको देखिएका कारण पानी पर्दा पहिरो जाने जोखिम हुने बताए।
‘अहिले अस्थायी बाटो बनाउन खन्ने क्रममा माथिल्लो भागमा चिरा परेको हो। यो पुरानो पहिरोको लुज मेटेरियल्स हो। यो कम्प्याक्ट भएर खाँदिएर बसेको माटो होइन। तलतिर चलाएपछि माथितिर चिरा परेको हो। यहाँ अहिले २/३ वटा ठाउँमा करिब १० मिटर लम्बाइको चिरा परेको देखिएको छ,’ पौडेलले भने, ‘चिरा परेको ठाउँबाट पानी पस्दा पहिरो आउने जोखिम हुन्छ। त्यसैले चिरा परेको भागलाई प्लास्टिक राखेर सिल गर्ने काम भइरहेको छ।’
सरकारी अधिकारीले पृथ्वी राजमार्ग सञ्चालन गर्न तत्कालका लागि कृष्णभीरमा अस्थायी ट्र्याकको विकल्प देखेका छैनन्।
‘पारीबाट सडक बनाउन पनि समस्या छ। तत्काल गर्न सकिने भनेको बेलीब्रिज राखेर सडक बनाउने हो। बेलीब्रिज १०० मिटरसम्मको मात्रै पाइन्छ,’ पूर्वसचिव समेत रहेका आयोगका सदस्य थापाले भने, ‘कृष्णभीरमा १५० मिटरको बेलीब्रिज चाहिन्छ। बीचमा पिल्लर बनाउनुपर्छ। त्रिशूलीमा अहिले पानीको सतह माथिसम्म रहेकाले पिल्लर बनाउन सकिने अवस्था छैन।’
यही कारण सडक विभागले अस्थायी ट्र्याक खोलिएकै स्थानबाट केही दिनभित्र सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित निर्माण कम्पनीलाई काम गर्न लगाइरहेको छ।
‘हामीले अहिले सकेसम्म छिटो गाडी संचालन गर्ने तयारीअनुरुप काम गरिरहेका छौं। कुनै व्यवधान नआए एक हप्ताभित्रमा राजमार्ग खुल्छ,’ उनले भने।
कृष्णभीरमा अस्थायी सडक बनाउनका लागि ट्र्याक खोल्ने क्रममा माथिल्लो भागमा चिरा परेको भेटिएपछि त्यसको कारणबारे विभागले भूगर्भविद्सँग परामर्श गरेको थियो।
‘तत्कालीन समस्याको समाधान अस्थायी ट्र्याक भए पनि त्यहाँ दीर्घकालीन समाधानका लागि सुरुङमार्गमा जानुपर्ने विज्ञहरुको सुझाव छ,’ पौडेलले भने, ‘सुरुङमार्ग बनाउने कुरा हामीले भनेर हुँदैन। लागत धेरै लाग्ने भएकाले नीतिगत तहबाट निर्णय हुनुपर्छ।’

कृष्णभीरमा दुई दशकअघि पहिरोका कारण ठूलो समस्या थियो। त्यसैले पहिरोका कारण त्यस क्षेत्रमा घण्टौंसम्म सवारीसाधनको जाम हुनु सामान्य मानिन्थ्यो। सरकारले ठूलो रकम खर्च गरी लामो समय लगाएर पहिरो रोकथाम गरेको थियो। कतिपय विज्ञहरुले त्यतिबेला पनि छोटो सुरुङमार्ग बनाउन सुझाव दिएका थिए।
सुरुङ बनाउन २ अर्ब
सुरुङमार्ग नेपालका लागि अब नौलो होइन। देशकै पहिलो नागढुंगा सुरुङमार्ग सञ्चालनमा आइसकेको छ भने सिद्धबाबा सुरुङमार्ग पनि निर्माणको अन्तिम चरणमा छ। काठमाडौं-तराई फास्ट ट्र्याकमा पनि कतिपय सुरुङको ब्रेकथ्रु भइसकेको छ।
‘हामीले अहिले एकपछि अर्को सुरुङमार्ग निर्माण गरिरहेका छौं। अब नेपाली इन्जिनियरसँग सुरुङमार्ग निर्माणमा विज्ञताको कमी छैन,’ थापाले भने, ‘त्यसैले कृष्णभीरमा दीर्घकालीन समाधानस्वरुप सरकारले सुरुङमार्ग बनाउने निर्णय गरी काम गर्न लगाउनुपर्छ। सुरुङमार्ग बनाउन अहिले समस्या छैन।’
थापाका अनुसार सुरुङमार्ग निर्माणमा प्रति मिटर २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च हुन्छ। उनको हिसाबमा कृष्णभीरमा बढीमा २ अर्ब रुपैयाँमा सुरुङमार्ग तयार हुन्छ।
‘सरकारले ७ दिनको म्याद दिएर टेन्डर आह्वान गरी फास्ट ट्र्याकमा काम गर्ने हो भने ८ महिनाभित्र ६०० मिटर लामो सुरुङमार्ग तयार गर्न सकिन्छ,’ उनले भने, ‘अहिले नेपालमा सुरुङमार्ग बनाइरहेका कम्पनीमध्येबाटै छनोट गरेर काम लगाउन सकिन्छ। उनीहरुसँग आवश्यक जनशक्ति र इक्विपमेन्ट पनि छन्।’

नागढुंगा सुरुङमार्गमा एक दिनमा ६ मिटरसम्म सुरुङ खनिएको उदाहरण रहेकाले सरकारले काठमाडौंको लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीरमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको अवस्थामा ८ महिनासम्ममा सुरुङ निर्माण गर्न सकिने थापाको दाबी छ।
‘अडिट बाइपास टनेल बनायो भने चार ठाउँबाट काम गर्न सकिन्छ। एउटा ठाउँबाट दिनमा २ मिटर खन्दा पनि अढाइ महिनामा सुरुङ खन्ने काम सकिन्छ,’ थापाले भने।











