काठमाडौं। सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले जिम्नी रारा एडभेन्चर राइड- ‘अ राइड वीथ अ कज’ पहिलो संस्करण सम्पन्न गरेको छ। जिम्नी खरिद गरेका सवारीधनीहरूले आफ्नो गाडीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ यो राइड सम्पन्न भएको कम्पनीले जनाएको छ।
वैशाख २३ देखि २९ सम्म आयोजना भएको उक्त राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो। बुटवलबाट सुरु भएको रारा एडभेन्चर राइडमा मारुती सुजुकी इन्डिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले ५ दशकभन्दा लामो विरासत र यसको अफ रोडिङ क्षमताको बारे थप प्रकाश पारेका थिए।
यस्तै विश्व बजारमा जिम्नी एउटा लाइफ स्टाइल एसयुभीका रुपमा निकै लोकप्रिय भएको पनि उनको भनाइ थियो। ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३ हजारभन्दा धेरै युनिट बिक्री भइसकेको उनको दाबी छ।
राइडमा १० वटा जिम्नी गाडीको सहभागिता थियो। राइडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो। उक्त विद्यालयमा १३५ भन्दा बढी विद्यार्थी अध्यनरत छन्।
कार्यक्रम बारे बोल्दै सीजी मोटोकर्पका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ जिम्नीको मुख्य विशेषता रहेको बताए। ‘यो एउटा लाइफ स्टाइल एसयुभी हो, जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ,’ उनले भने, ‘यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाँहरुलाई आफ्नो जिम्नीको क्षमता महसुस गरुन् र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनिटीको रूपमा अगाडि बढोस् भन्ने हो।’
आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापन गरी यस्तो कार्यक्रम भविष्यमा सञ्चालन गर्ने उनले बताए।