भजन शिरोमणिको फिल्म ‘आचार्य’ पुनः प्रदर्शन तयारी, १३ वर्षपछि फेरि पर्दामा

बिजमाण्डू
२०८१ जेठ ७ गते १२:१८ | May 20, 2024
भजन शिरोमणिको फिल्म ‘आचार्य’ पुनः प्रदर्शन तयारी, १३ वर्षपछि फेरि पर्दामा


काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ। आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने बताएका छन्।

Tata
GBIME
NLIC

‘यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौं। त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए,’ उनले भने, ‘अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौं।’

सत्यराज नै पिता भक्तराजको भूमिकामा रहेको चलचित्रमा भजन शिरोमणिको जीवनका विभिन्न पाटो देखाइएको छ। गायक सत्यराजले भने, ‘यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो। हामीले नयाँ चलचित्रझैं यसको प्रदर्शन गर्दैछौं। यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ।’

भक्तराजका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताए। उनले भने, ‘त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पर्थ्यो। त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो। हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो। त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौं।’

प्रशान्त रसाइलीको निर्देशनमा बनेको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिने भएको छ। गायक भक्तराज आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो।