आन्तरिक राजस्व विराटनगरको प्रगति ९० प्रतिशत, अन्तःशुल्कतर्फ उल्लेख्य वृद्धि

बिजमाण्डू
२०८१ जेठ २ गते १४:१० | May 15, 2024
आन्तरिक राजस्व विराटनगरको प्रगति ९० प्रतिशत, अन्तःशुल्कतर्फ उल्लेख्य वृद्धि

विराटनगर। मुलुकका अन्य राजस्व कार्यालय राजस्व संकलन लक्ष्यको ६० प्रतिशतमा अल्झिरहेका बेला आन्तरिक राजस्व कार्यालय विराटनगरको ९० प्रतिशत भएको छ।

Tata
GBIME
NLIC

कार्यालयले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ७ अर्ब २३ करोडका लक्ष्यमा ६ अर्ब ४९ करोड संकलन गरेर ९० प्रतिशत प्रगति हासिल गरेको हो।

त्यस्तै वैशाख महिनाको मात्रै ७० करोडको लक्ष्यमा ८१ करोड संकलन भई ११६ प्रतिशत प्रगति भएको छ।

कार्यालय प्रमुख डा. डीबी क्षेत्रीका अनुसार चालु आवको १० महिनामा मूअकरको २ अर्ब ४७ करोडको लक्ष्यमा १ अर्ब ८८ करोड, आयकरतर्फ २ अर्ब ६३ करोडको लक्ष्यमा २ अर्ब २१ करोड र अन्तःशुल्कमा १ अर्ब ९३ करोडका लक्ष्यमा २ अर्ब १४ करोड संकलन भएको छ।

त्यस्तै वैशाख महिनामा मात्र कार्यालयले मूअकरको २५ करोडको लक्ष्यमा २२ करोड, आयकरको २२ करोडको लक्ष्यमा १८ करोड र अन्तःशुल्कको २० करोडको लक्ष्यमा ३९ करोड संकलन गरेको छ।

राजस्व संकलनका लागि नियमित बजार अनुगमन तथा बक्यौता फर्छ्यौटका लागि पत्राचार, टेलिफोन सम्पर्क र नियमित भ्रमणका कारणले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको डा. क्षेत्रीले बताए।

होजियारी कपडाको कच्चा पदार्थ कटन फेब्रिकको आयातमा चालु आर्थिक वर्षदेखि भन्सार कार्यालयले नै मूअकर लिन थालेको हुँदा कार्यालयको संकलन प्रभावित भएको उनले जानकारी दिए।

प्रमुख डा. क्षेत्रीका अनुसार गत आर्थिक वर्षसम्म कटन फेब्रिकको आयातमा भन्सार कार्यालयले मूअकर लिँदैनथ्यो। तर चालु आर्थिक वर्षदेखि लिन थालेको छ। यता उद्योगीले तयारी होजियारी कपडामा लाग्ने मूअकरको रकम कच्चा पदार्थको आयात गर्दा तिरेको मूअकरको रकममा क्रेडिट गरेर घटाएर भुक्तानी गरिरहेका छन्। यसका कारणले कार्यालयको मूअकरको असुली प्रभावित भएको हो।