
काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्ष ९ महिनामा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले पोहोर ९ महिनाको तुलनामा खुद नाफा ३.३५ प्रतिशतले वृद्धि गरेको हो। टेलिकमले पोहोर ९ महिनामा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको सञ्चालन तथा वित्तीय आम्दानी घटेको छ। ग्राहकबाट हुने आम्दानी ६.८२ प्रतिशतले घटेको छ। गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष २५ अर्ब ४८ करोड रुपैयाँ कमाएको छ।
कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ७० करोडबाट ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ। बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी ५० करोड ७४ लाख रुपैयाँ घटेको हो।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आय ९४ करोड ४९ लाख घटेको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधार कार्यमा निरन्तर लागिरहेकाले आम्दानी घट्न पुगेको हो। सेवाको दररेटमा कटौतीले पनि असर परेको कम्पनीको भनाइ छ।
अन्य स्रोतबाट हुने आम्दानी भने २२९.०७ प्रतिशतले वृद्धि भएको छ। पोहोर ९ महिनामा कम्पनीले अन्य आम्दानी १६ करोड ११ लाख रुपैयाँ गरेका यस वर्ष ५३ करोड कमाएको छ।
कम्पनीको चुक्ता पुँजी १८ अर्ब छ भने रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ छ। यस्तै प्रति सेयर आम्दानी ४१.४४ रुपैयाँ र प्रति सेयर नेटवर्थ ५१२.९९ रुपैयाँ छ।