लखनउलाई हराएर कोलकाता शीर्षस्थानमा, आज मुम्बई र हैदराबाद भिड्दै

बिजमाण्डू
२०८१ बैशाख २४ गते ०६:३६ | May 6, 2024
लखनउलाई हराएर कोलकाता शीर्षस्थानमा, आज मुम्बई र हैदराबाद भिड्दै

कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा उक्लिएको छ। गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टलाई ९८ रनले हराएर कोलकाता शीर्षस्थानमा उक्लिएको हो।

Tata
GBIME
Nepal Life

लखनउस्थित अटल विहारी बाजपेयी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनायो।

कोलकाताका लागि सुनिल नारायणले ३९ बलमा सर्वाधिक ८१ रन बनाउँदा फिल साल्ट र अङक्रिस रघुवंशीले समान ३२ तथा कप्तान श्रेयस ऐय्यरले २३ रन बनाए। आक्रामक ब्याटिङ गरेका रमनदीप सिंह ६ बलमा ३ छक्का र १ चौकाको सहायतामा २५ रनमा अविजित रहे।

बलिङतर्फ लखनउका नवीन उल हकले सर्वाधिक ३ विकेट लिँदा यश ठाकुर, रवि विश्नोइ र युदवीर सिंहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट हुन पुग्यो। लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन बनाउँदा कप्तान केएल राहुलले २५, अस्टन टर्नरले १६ तथा आयुष बढोनीले १५ रन बनाए।

बलिङतर्फ कोलकाताका हर्षित राना र वरुण चक्रवर्तीले समान ३ विकेट लिँदा आन्द्रे रसेलले २ तथा मिचेल स्टार्क र सुनिल नारायणले समान १ विकेट लिए।

जितसँगै ११ खेलबाट १६ अंक बनाएको कोलकाता शीर्षस्थानमा उक्लिएको छ। १० खेलबाट समान अंक जोडेको राजस्थान दोस्रो स्थानमा छ। लखनउ १२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ। आज साँझ पौने ८ बजे मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबाद वानखेडे स्टेडियममा भिड्दैछन्।