भ्राताङको भीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण, मनाङलाई साहसिक खेलको गन्तव्य बनाउने प्रयास

बिजमाण्डू
२०८१ बैशाख २३ गते ११:१९ | May 5, 2024
भ्राताङको भीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण, मनाङलाई साहसिक खेलको गन्तव्य बनाउने प्रयास
भ्राताङको भीर मुनि रहेको स्याउ फार्म।

काठमाडौं। अन्नपूर्ण पदमार्ग अन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ। मनाङको चामे गाउँपालिका–५ छिम्बु भीर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो।

Tata
GBIME
Nepal Life

पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपालीले ती दुई भीरमा खेल परीक्षण गरेका चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।

अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्छ।

उनले भने,’चट्टान आरोहणलाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ। यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ। यसमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’ 

गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवा पुग्ने भएकाले सहमतिपत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो।

चामे–५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षण वृद्धि र पर्यटन प्रवर्धनका लागि समेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने बताए। 

पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमनवृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ।

‘पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो। सम्भवतः नेपालकै अग्लो भीरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुनसक्छ,’ उनले भने, ‘म आफैँ पनि आरोहणमा सहभागी भएँ। यस खेलको माध्यमबाट पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा छ। त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्धनमा जोड दिनुपर्छ।’

पाँचदिने आरोहण परीक्षणमा नेपाली, विदेशीसहित पालिकाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो। यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सम्पदाको उपयोग गर्न सकिएमा यहाँ अझै बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने उनीहरूको विश्वास छ।